२०८३ भदौ १० , बुधबार 26, August 2026, Wednesday
रसुवामा बाढी

रसुवामा बाढी आउनुको कारण के हो ? स्याटेलाइट तस्वीरमा के देखियो ?

प्रारम्भिक विश्लेषण अनुसार यो सामान्य वर्षाका कारण नदीमा आउने बाढीभन्दा फरक प्रकृतिको देखिएको छ ।

तिब्बततर्फबाट अस्वाभाविक रूपमा आएको बाढी बुधबार बिहान रसुवाको उत्तरी सीमावर्ती क्षेत्र हुँदै भोटेकोसी नदीमा प्रवेश गर्यो । बाढीले टिमुरे, रसुवागढी तथा स्याफ्रुबेँसी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीको प्रभाव भोटेकोसी हुँदै त्रिशूली नदीसम्म पुगेको छ ।

यसका कारण तल्लो तटीय क्षेत्रका नुवाकोट, धादिङ, गोरखा र चितवन लगायत जिल्ला समेत प्रभावित भएका छन् । प्रारम्भिक विश्लेषण अनुसार यो सामान्य वर्षाका कारण नदीमा आउने बाढीभन्दा फरक प्रकृतिको देखिएको छ ।

विशेषगरी छोटो समयमा तिब्बततर्फबाट ठूलो परिमाणमा पानी प्रवेश गर्नु, पानीको सतह एक्कासि बढ्नु र नदीमा तीव्र वेगमा बहाव आउनुले उच्च हिमाली क्षेत्रमा रहेको हिमताल वा हिमनदीजन्य जलस्रोतबाट आकस्मिक रूपमा पानी निस्किएको हुनसक्ने आशंका गरिएको छ ।

जलविज्ञानसम्बन्धी विज्ञहरूले सम्भावित हिमताल विस्फोटजन्य बाढीको कोणबाट घटनाको अध्ययन गरिरहेका छन् । यद्यपि, बाढीको वास्तविक स्रोत र कारण भने औपचारिक रूपमा पुष्टि भइसकेको छैन ।

शिगात्सेको केरुङमा गएको पहिरो पनि सम्भावित कारण

यसैबीच, चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत शिगात्सेको केरुङमा बुधबार बिहान गएको पहिरो र आकस्मिक बाढीका कारण ठूलो क्षति पुगेको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । उक्त बाढीपहिरो बुधबार (अगस्ट २६)मा स्थानीय समयअनुसार बिहान लगभग १०ः३० बजेतिर गएको बताइएको छ ।

सिन्ह्वाका अनुसार, नेपाल–चीन सीमा जोड्ने प्रमुख व्यापारिक नाका केरुङनजिकै गएको पहिरोका कारण सडक, सञ्चार तथा विद्युत् सेवा अवरुद्ध भएका छन् । घटनामा केही मानिस बेपत्ता भएको र मानवीय क्षति भएको आशंका गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सक्दो प्रयास गर्न तथा थप क्षति हुन नदिन विपद् अनुगमन र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नेपालमा आएको बाढीको मुख्यकारण सोही पहिरो रहेको जस्तो देखिएको छ ।

स्याटेलाइट तस्वीरमा के देखियो ?

अगस्ट २४ मा प्राप्त सेन्टिनेल स्याटेलाइट तस्वीरको तुलनात्मक अध्ययन गर्दा भोटेकोसी नदीमा ठूलो बाढी आउनुअघि नै तिब्बततर्फको माथिल्लो हिमनदी क्षेत्रमा पानीको प्रवाह सक्रिय भएको संकेत देखिएको भौगोलिक सूचना प्रणाली विज्ञ विष्णु महर्जनले बताएका छन् ।

प्रारम्भिक भौगोलिक तथा रिमोट सेन्सिङ विश्लेषण अनुसार सम्भावित सक्रिय जलप्रवाह क्षेत्र भोटेकोसी नदीसँग जोडिएको विन्दुबाट करिब ३५ देखि ३८ किलोमिटर माथिल्लो भागमा रहेको देखिन्छ । तर, स्याटेलाइट तस्बिरमा देखिएको उक्त परिवर्तन हिमताल वा हिमनदीबाट आकस्मिक रूपमा पानी निस्किएको घटनासँग सम्बन्धित रहेको भन्ने पुष्टि भइनसकेको उनले बताए ।

महर्जनका अनुसार, हिमाली क्षेत्रमा हिमतालको सतहमा अचानक परिवर्तन आउनु, तालबाट पानी बाहिरिने नयाँ निकास मार्ग बन्नु, हिमनदीको सतहमा पानी जम्मा हुनु वा पुरानो जलमार्ग पुनः सक्रिय हुनुले छोटो समयमा ठूलो बाढी निम्त्याउन सक्छ । उनका अनुसार, अगस्ट २४ पछिका थप स्याटेलाइट तस्बिर उपलब्ध भएपछि सम्भावित स्रोत क्षेत्रबारे थप विश्लेषण गर्न सकिनेछ ।

२०२५ को बाढीसँग मिल्दोजुल्दो घटना ?

हालको घटनाले २०२५ जुलाईमा रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढीको स्मरण गराएको छ । उक्त घटनाबारे गरिएको स्याटेलाइट तथा जलविज्ञान सम्बन्धी अध्ययनले तिब्बतको परेपू–पुरुगु क्षेत्रमा हिमनदीको सतहमाथि बनेको हिमतालबाट आकस्मिक रूपमा पानी बाहिरिएर लेहेँन्दे नदी हुँदै भोटेकोसीमा प्रवेश गरेको निष्कर्ष निकालेको थियो ।

त्यस घटनामा नदीमा एक्कासि ठूलो परिमाणमा पानी र अवसाद मिसिएपछि नेपाल–चीन सीमा क्षेत्रमा ठूलो क्षति भएको थियो । अध्ययनले भोटेकोसी जलाधार तिब्बततर्फ हुने हिमताल तथा हिमनदीजन्य परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित हुनसक्ने देखाएको थियो । त्यसैले २०२६ मा पुनः तिब्बततर्फबाट अचानक ठूलो परिमाणमा पानी भोटेकोसीमा प्रवेश गर्नुले सीमा–पार हिमाली विपद्को जोखिमलाई पुनः गम्भीर रूपमा उजागर गरेको बताइएको छ ।

स्याटेलाइट र स्थलगत अध्ययन आवश्यक

बाढीको वास्तविक कारण पत्ता लगाउन तत्काल बहुविषयगत अध्ययन आवश्यक देखिएको विज्ञहरूको भनाइ छ । विशेषगरी अगस्ट २४ अघिका र बाढीपछिका उच्च रिजोलुसन स्याटेलाइट तस्बिर तथा डिजिटल उचाइ नमुना प्रयोग गरी सम्भावित स्रोत क्षेत्रको विस्तृत अध्ययन गर्नुपर्ने महर्जनले बताएका छन् ।

पहिलो चरणमा बाढीअघि र पछिका उपग्रह तस्वीर तुलना गरी सम्भावित हिमतालको क्षेत्रफल, पानीको सतह, निकास मार्ग तथा नदीको बहावमा आएको परिवर्तन पहिचान गर्न सकिनेछ । दोस्रो चरणमा सम्भावित स्रोत क्षेत्रको स्थलाकृतिक अवस्था र पानी निकासको सम्भावित मार्ग अध्ययन गर्नुपर्ने उनले बताए ।

त्यसैगरी, वर्षाको तथ्यांकसँग स्याटेलाइट तथा जलविज्ञान सम्बन्धी विवरण तुलना गर्नुपर्ने बताए । बाढी वर्षाका कारण आएको हो वा हिमताल तथा हिमनदीबाट आकस्मिक रूपमा पानी निस्किएर आएको हो भन्ने छुट्याउन सकिने महर्जनको भनाइ छ ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार