सामाजिक सञ्जालमा लगातार छोटो भिडियो अर्थात् रिल्स स्क्रोल गर्ने बानीले मस्तिष्कको सक्रियता र आत्मनियन्त्रणसँग सम्बन्धित प्रणालीमा असर पार्न सक्ने देखिएको छ । चीनको झेजियाङ विश्वविद्यालयका युजेङ हुको नेतृत्वमा गरिएको नयाँ अध्ययनबाट लामो समयसम्म सर्ट भिडियो हेर्दा मस्तिष्क ‘फ्लो’ अर्थात् अत्यधिक तल्लीन हुने अवस्थामा पुग्न सक्ने देखिएको हो ।
न्युरोइमेजमा जर्नलमा प्रकाशित अध्ययनमा अनुसन्धानकर्ताले ५६ युवाको मस्तिष्कलाई फङ्सनल म्याग्नेटिक रेजोनेन्स इमेजिङलगायत प्रविधिबाट अध्ययन गरेका थिए । सहभागीलाई विभिन्न सर्ट भिडियो हेर्न लगाएर त्यसक्रममा मस्तिष्कका विभिन्न भागमा हुने गतिविधि तथा न्युरोकेमिकल परिवर्तनको अध्ययन गरिएको थियो ।
अनुसन्धानमा विशेष गरी मस्तिष्कको अगाडिको भागमा रहेको डोर्सल एन्टेरियर सिंगुलेट कोर्टेक्समा ग्लुटामेट र गामा–एमिनोब्युटिरिक एसिडको स्तर मापन गरिएको थियो । यसनिम्ति प्रोटोन म्याग्नेटिक रेजोनेन्स स्पेक्ट्रोस्कोपी प्रयोग गरिएको थियो । अध्ययनका क्रममा सहभागीले आफूलाई मन परेका भिडियो हेर्दा डीएसीसी र डोर्सोलाटरल प्रिफ्रन्टल कोर्टेक्स (डीवानपीएफसी)को गतिविधिमा कमी देखिएको अनुसन्धानकर्ताले उल्लेख गरेका छन् ।
डीएसीसी र डीवानपीएफसी मस्तिष्कको निर्णय क्षमता, ध्यान, व्यवहार नियन्त्रण र आत्मनियन्त्रणसँग सम्बन्धित महत्त्वपूर्ण क्षेत्र हुन् । त्यसैले अत्यधिक आकर्षक सामग्रीमा लगातार ध्यान केन्द्रित हुँदा यी क्षेत्रको सक्रियता कम हुनु महत्त्वपूर्ण मानिएको छ । अझ रोचक पक्ष के देखियो भने, सहभागीले तुरुन्तै स्किप गरेका भिडियोले मस्तिष्कमा तुलनात्मक रूपमा कम प्रभाव पारेका थिए । यसले भिडियोको आकर्षण र त्यसमा व्यक्तिले बिताउने समयबीचको सम्बन्धलाई संकेत गर्छ ।
अनुसन्धानमा सर्ट भिडियो हेर्दा मानिसको कग्निटिभ कन्ट्रोल पूर्ण रूपमा असफल हुन्छ भन्ने निष्कर्ष भने निकालिएको छैन । बरु, अत्यधिक आकर्षक सामग्री लगातार र सक्रिय प्रयासबिना हेरिरहँदा मस्तिष्क एक प्रकारको ‘फ्लो’ अवस्थामा पुग्न सक्ने देखिएको छ । ‘फ्लो’ भन्नाले कुनै कार्यमा व्यक्ति यति धेरै तल्लीन हुनु हो कि समय बितेको वा बाहिरी गतिविधिप्रति ध्यान कम भएको महसुस हुन्छ ।
रिल्स वा सर्ट भिडियोको लगातार स्क्रोलिङमा पनि यस्तै अवस्था सिर्जना हुन सक्ने अनुसन्धानबाट संकेत गरिएको छ । कुनै भिडियो निकै आकर्षक हुँदा मस्तिष्कको निगरानी तथा नियन्त्रण प्रणाली केही हदसम्म खुकुलो हुनसक्छ । त्यसपछि अर्को भिडियो हेर्नका निम्ति विशेष निर्णय लिनुपर्ने आवश्यकता कम हुन्छ र स्क्रोलिङ लगभग स्वचालित व्यवहारजस्तो बन्न सक्छ । अध्ययनमा मस्तिष्कमा हुने ग्लुटामेटको स्तरमा व्यक्तिअनुसार देखिने भिन्नताले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने संकेत गरिएको छ ।
यही न्युरोकेमिकल अन्तरका कारण केही मानिसलाई सर्ट भिडियो हेर्नबाट आफूलाई रोक्न अरूको तुलनामा बढी कठिन हुन सक्ने सम्भावना अनुसन्धानबाट औँल्याइएको छ । विशेष गरी सर्ट भिडियो प्लेटफर्मका एल्गोरिदमले प्रयोगकर्ताको रुचिअनुसार लगातार नयाँ सामग्री प्रस्तुत गर्ने भएकाले एउटा सकिएलगत्तै अर्को सामग्री उपलब्ध हुन्छ । यसले प्रयोगकर्तालाई लामो समयसम्म स्क्रोल गरिरहन प्रेरित गर्न सक्छ ।
अनुसन्धानकर्ताका अनुसार, अध्ययनको निष्कर्षले अत्यधिक आकर्षक डिजिटल मिडियाले मस्तिष्कको रिवार्ड–ड्रिभन र कग्निटिभ कन्ट्रोल प्रणालीबीचको सन्तुलनसँग सम्बन्धित हुन सक्ने देखाउँछ । लगातार नयाँ र आकर्षक भिडियो आइरहँदा मस्तिष्क तत्काल प्राप्त हुने मनोरञ्जन वा पुरस्कारतर्फ बढी केन्द्रित हुनसक्छ । यसको विपरीत आत्मनियन्त्रण र व्यवहार नियमनसँग सम्बन्धित प्रणालीको सक्रियता तुलनात्मक रूपमा कम हुनसक्छ ।
यद्यपि, सर्ट भिडियो हेर्नुलाई नै ‘लत’ वा सबै प्रयोगकर्तामा निश्चित रूपमा हुने मस्तिष्कीय समस्या भनेर अध्ययनमा प्रमाणित गरिएको छैन । बरु, अत्यधिक आकर्षक डिजिटल सामग्रीप्रति मानिसको प्रतिक्रिया किन फरक हुन्छ र किन केही व्यक्तिलाई स्क्रोलिङ रोक्न कठिन हुन्छ भन्ने बुझ्न न्युरोकेमिकल तथा मस्तिष्कीय आधारबारे थप अनुसन्धानको बाटो खोल्ने देखिन्छ ।
सर्ट भिडियो केही मिनेट मनोरञ्जनका निम्ति प्रयोग गर्नु र घण्टौँसम्म अनियन्त्रित रूपमा स्क्रोल गरिरहनु एउटै होइन । विशेष गरी अत्यधिक आकर्षक सामग्रीमा लगातार तल्लीन हुँदा मस्तिष्कको नियन्त्रण तथा निगरानी प्रणालीमा हुने परिवर्तनतर्फ अध्ययनमार्फत ध्यानाकर्षण गराइएको छ । यसले डिजिटल सामग्री प्रयोग गर्दा समयको सीमा निर्धारण गर्ने, बीचबीचमा ब्रेक लिने र स्वचालित रूपमा स्क्रोल गरिरहने बानीप्रति सचेत हुनुपर्ने आवश्यकता देखाउँछ ।
