जुम्लामा स्याउ खेती विस्तारसँगै उत्पादन र किसानको संख्या बढ्दै गएको छ । व्यापारीले किसानको बारीमै पुगेर स्याउ खरिद गर्न थालेका छन् । तर, बजारसम्म स्याउ पुर्याउने मुख्य मार्ग कर्णाली राजमार्गको अवस्था उस्तै जीर्ण छ । वर्षायाममा पहिरोका कारण राजमार्ग पटक–पटक अवरुद्ध हुँदा स्याउ बोकेका गाडी लामो समय बाटोमै रोकिने गरेका छन् ।
त्यसक्रममा स्याउ बिग्रने, ढुवानी लागत बढ्ने र किसान तथा व्यापारीले क्षति व्यहोर्नुपर्ने अवस्था छ । कालीकोटको पचालझरना गाउँपालिका–३ का व्यापारी प्रकाश कठायतले यस वर्ष भदौयता ११ भन्दा बढी मालवाहक सवारीसाधनमार्फत जुम्लाको स्याउ बजारमा ल्याइसकेका छन् । थप सात गाडी स्याउ बोकेर सुर्खेतको वीरेन्द्रनगर आउँदै छन् ।
कठायतले किसानको बारीबाट प्रतिकिलो ७० देखि ८० रुपैयाँमा स्याउ खरिद गरेका छन् । केही दिनअघि उनका तीन गाडी चार दिनसम्म सडकमा रोकिँदा करिब साढे दुई क्विन्टल स्याउ बिग्रिएको थियो । ‘यो वर्ष मात्रै होइन, हरेक वर्ष स्याउ बजार जाने समयमा कर्णाली राजमार्ग अवरुद्ध हुँदा ठूलो क्षति व्यहोर्नुपरेको छ,’ कठायतले भने, ‘कमजोर सडक पूर्वाधार छ । सामान्य पानी पर्दा पनि पहिरो खस्छ र हप्तौँसम्म सडकमै रोकिनुपर्ने अवस्था हुन्छ ।’
बारीमा ७०–८०, बजारमा १८० भन्दा बढी
व्यापारीले किसानबाट प्रतिकिलो ७० देखि ८० रुपैयाँमा खरिद गरेको स्याउ बजारमा पुग्दा उपभोक्ताले १८० भन्दा बढी तिर्नुपर्ने अवस्था छ । जुम्लाबाट स्याउ ढुवानी गर्दा प्रतिकिलो करिब सातदेखि आठ रुपैयाँ खर्च हुन्छ । सडक अवरुद्ध हुँदा ढुवानी खर्च बढ्नुका साथै खाल्डाखुल्डी र लामो यात्राका कारण स्याउमा चोट लाग्ने तथा कुहिने समस्या हुन्छ । जुम्लाका स्याउ उत्पादक तथा व्यवसायी गोपाल रोकायाले सडककै कारण ढुवानीका क्रममा ठूलो परिमाणमा यो खेर जाने गरेको बताए ।
‘जुम्लाको स्याउ बारीबाट बजारसम्म आइपुग्न बर्सेनि ढुवानीका क्रममा निकै हैरानी व्यहोर्नुपर्छ,’ उनले भने, ‘सडककै कारण स्याउ बिग्रने हुँदा यसले मूल्य पाउँदैन । घाटा खाएर बेच्दा पनि उपभोक्ता मूल्यमा फरक परिहाल्छ ।’ सडकमा स्याउ बिग्रिएपछि त्यसको घाटा व्यवसायीले व्यहोर्नुपर्छ । क्षतिको लागत पूर्ति गर्न व्यवसायीले बाँकी स्याउको मूल्य बढाउँदा त्यसको भार उपभोक्तामाथि पर्छ । ठूलो परिमाणमा स्याउ बिग्रँदा किसानले पनि उत्पादनको उचित मूल्य पाउन सक्दैनन् ।
बढ्दै उत्पादन र खेतीको क्षेत्रफल
आर्थिक वर्ष २०८२–०८३ मा जुम्लामा १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा उत्पादन १९ हजार ५०० मेट्रिक टन पुग्ने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीले बताए । जुम्लामा स्याउ खेती गर्ने किसानको संख्या १८ हजार ३१५ पुगेको छ । दुई वर्षअघिको तुलनामा यो संख्या २६.३१ प्रतिशतले बढेको उनले जानकारी दिए ।
स्याउ खेतीको क्षेत्रफल पनि विस्तार भइरहेको छ । जुम्लामा आर्थिक वर्ष २०७८–०७९ मा तीन हजार ८२५ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो । गत आर्थिक वर्षमा चार हजार ४४५ हेक्टरमा यसको खेती गरिएको तथ्यांक छ । चालु आर्थिक वर्षमा यो चार हजार ६०४ हेक्टर पुग्ने अनुमान छ । उत्पादन र खेतीको क्षेत्रफल बढे पनि बजारसम्म सुरक्षित रूपमा स्याउ पु¥याउने पूर्वाधारको समस्या कायमै छ ।
गगने खोलामा समस्या
कर्णाली राजमार्गमा पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्र कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोला भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी एवं इन्जिनियर प्रदीपनारायण चौधरीले बताए । गगने खोलामा तत्काल पहिरो पन्छाएर सडक सञ्चालन गरिँदै आए पनि दीर्घकालीन समाधान हुन सकेको छैन । ‘तत्कालको वैकल्पिक उपाय भनेको पहिरो झर्दै जान्छ, पन्छाउँदै जाने हो,’ चौधरीले भने ।
उनका अनुसार अहिलेका लागि पहिरो जाने र मेसिन राखेर पन्छाउँदै जाने काम भइरहेको छ । यसले गर्दा चार–पाँच वर्षपछि सडक आफैँ स्थिर हुनसक्छ भन्ने हो । पहिरोग्रस्त क्षेत्रमा टेवा पर्खाल, बायोइन्जिनियरिङलगायत प्रविधि प्रयोग गर्न सकिने उनले बताए । गगने खोलाको समस्या दीर्घकालीन रूपमा समाधानका निम्ति भौगर्भिक अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।
‘सडक विभागले कन्सल्टेन्ट र जियोलोजिस्ट (भूगर्भविद्)हरूको टोली पठाएर दीर्घकालीन समाधानका लागि अध्ययन गराउनुपर्ने देखिएको छ,’ उनले भने, ‘अध्ययनका आधारमा पहिरो खस्ने क्षेत्रमा रक सेड वा पुल निर्माण गर्नु उपयुक्त विकल्प हुन्छ । यस विषयमा विभागसँग समन्वय भइरहेको छ ।’ वीरेन्द्रनगरलाई दैलेख, कालीकोट हुँदै जुम्लासँग जोड्ने कर्णाली राजमार्ग यो प्रदेशको कृषि उत्पादन र आर्थिक गतिविधिका निम्ति महत्त्वपूर्ण बाटो हो । तर, वर्षायाममा सडक अवरुद्ध हुँदा किसानको उत्पादन बजारसम्म पुर्याउन समस्या हुँदै आएको छ ।
