२०८३ असोज ६ , मंगलबार 22, September 2026, Tuesday

यस वर्ष दसैँमा सरकारले खसी-च्याङ्ग्रा नबेच्ने

चाडपर्वको समयमा बजार मूल्य नियन्त्रण गर्न विगतका वर्षहरूमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने नबेच्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजेट अभावको कारण देखाउँदै यस वर्ष दसैँमा खसी–च्याङ्ग्रा बिक्री नगर्ने जनाएको हो ।

बजारको बढ्दो मूल्यलाई सन्तुलनमा राख्न कम्पनीले हरेक वर्ष दसैँको समयमा उपत्यकामा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा ल्याउने गथ्र्यो । तर, कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यस वर्ष खसीबोका खरिदका लागि बजेट नै विनियोजन गरिएको छैन ।

सोही कारण कम्पनीले यसपटक उपत्यकामा सहुलियतका चौपाया नल्याउने निर्णय गरेको हो । कम्पनीले २०८१ सालको दसैँमा एक हजार ५०० खसी–बोका र ३०० च्याङ्ग्रा ल्याएर सहुलियत मूल्यमा बिक्री गरेको थियो । त्यसबेला जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र च्याङ्ग्राको मूल्य एक हजार २३० रुपैयाँ निर्धारण गरी उपभोक्तालाई प्रतिकिलो १० रुपैयाँ छुट दिएर बिक्री गरिएको थियो ।

त वर्ष कम्पनीले च्याङ्ग्रा बिक्रीका लागि अनलाइन बुकिङसमेत खुला गरेको थियो । तर, पहिरोका कारण राजमार्ग अवरुद्ध भई खसी–च्याङ्ग्रा ल्याउन नसकेपछि बुकिङ नै रद्द गर्नुपरेको थियो । चौपाया खरिद–बिक्री केन्द्रका अनुसार यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा मात्रै ३५ देखि ४० हजार खसी, बोका तथा च्याङ्ग्राको माग हुने अनुमान छ ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार