प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन मंगलबार कतार एयरवेजबाट दोहा हुँदै न्युयोर्क प्रस्थान गर्दै छन् । प्रधानमन्त्री बनेपछि साहको यो पहिलो विदेश यात्रा भएकाले यसलाई चासोका साथ हेरिएको छ ।
यसअघि प्रधानमन्त्रीहरू विदेश जाँदा विमानस्थलमा विशेष समारोह आयोजना हुने गरेको थियो । मन्त्रीहरू, कुटनीतिक नियोगका पदाधिकारीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू विमानस्थलमा उपस्थित हुने गरेका थिए ।
सैनिक टुकडीले सलामी दिने (गार्ड अफ अनर)सहित रेड कार्पेटको बाटो हुँदै विमानसम्म प्रधानमन्त्रीहरू पुग्ने गरेकोमा यसपटक भने यस्ता कुनै समारोह नहुने जनाइएको छ । अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआइपी लाउन्जमा उनलाई परम्परागत औपचारिक बिदाइ समारोहको कुनै कार्यक्रम तय भएको छैन ।
उनी बालुवाटारबाट सिधै विमानस्थल जाने र भीआइपी वे हुँदै विमानतर्फ जानेछन् । प्रधानमन्त्री शाहकी प्रेस सल्लाहकार दीपा दाहालले भनिन्, ‘प्रधानमन्त्रीज्यूज दिनभर सिंहदरबारमै व्यस्त हुनुहुन्छ, महत्वपूर्ण भेटघाटहरु छन् । त्यसपछि ६ः२० बजे निवासबाट विमानस्थल प्रवेश गर्ने कार्यक्रम छ ।’
प्रधानमन्त्री शाह साँझ ७ बजे कतार एयरवेजमार्फत न्यूयोर्क प्रस्थान गर्नेछन् । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कार्यवाहक नेपाली राजदूत कुमार राईले स्वागत गर्नेछन् । परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै न्युयोर्क पुगिसकेका छन् ।
प्रधानमन्त्रीको भ्रमण दलमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, दुई जना सुरक्षाकर्मी र एक जना शिष्टाचार अधिकृत रहनेछन् । प्रधानमन्त्री शाह शनिबार काठमाडौं फर्कने कार्यक्रम छ ।
