हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको अनुपम उपहार, धर्तिको स्वर्ग अर्थात् भू–स्वर्ग । जो निकै अद्भुत छ । अकल्पनीय छ । सुन्दर,मनमोहक र बेजोड छ । प्रकृतिले कोरेको सुन्दर तस्वीर । निकै चाखलाग्दो र आकर्षक ।
सात महिना हिउँको घुम्टो, पाँच महिना हरियाली र कुहिरोको घुम्टो । अनेकौं प्रजातीका फूल र जडीबुटीले मन्त्रमुग्ध बनाएको धार्मिक तथा पर्यटकीय आस्थाको धरोहर हो, बडीमालिका । जहाँ प्राकृतिक सौन्दर्यले मन र धार्मिक आस्थाले आत्मा छुने गर्छ । समुन्द्री सतहदेखी चार हजार २०० बढी मिटरको उचाई, सुन्दर र विशाल फाँटहरुको शहर ।
पहाडभित्र लुकेको प्रकृतिको अनौठो अर्काे संसार । प्राकृतिक सुन्दरता र नौरङ्गे साडीमा उनिएकी अप्सरा जस्तै–धार्मिक आस्था र सुन्दरतामा अडेको भूमी । धर्तिमै पनि स्वर्ग छ । साँच्चिकै स्वर्ग भनेको यहिँ हो । लाग्छ, ‘स्वर्ग कहिँ छ भने यहिँ छ’ । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा पर्ने धर्तिको भू–स्वर्ग बडीमालिका जति प्राकृतिक सुन्दरताले सुरम्य छ ।
त्यति नै धार्मिक आस्थाले सुपरिचित छ । जहाँ सौन्दर्यता र धार्मिक आस्था, प्रकृतिको सुन्दर काखमा लडिबुडी बाँचेको छ । सुन्दर हरियाली फाँटमा चर्दै गरेका घोडा र भेडाको बथानले त्यस वरपरको वातावरण झनै रमाइलो बन्छ । अद्धितीय र अलौलिक गुण बोकेको बडीमालिकामा बर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् ।
सिरसिरे हावा, अत्याधिक चिसो र सुन्दरताको भने कुनै कमी छैन् । बर्षातको समयमा हरियालीको चोलीमा सजिने यो ठाउँ दर्शनार्थीहरुका लागि स्वर्गतुल्य बन्छ । कुहिरोको घुम्टोमा लुकेर मुसुक्क मुस्कुराउँदै पर्यटकलाई बडीमालिका र त्यस वरपरको क्षेत्र बोलाइरहेको हुन्छ । त्यो मुस्कानमा हाँसोको कुनै कमी देखिन्न,जसले त्यहाँ जाने पर्यटकलाई उत्साह र उमङ्ग थप्छ ।

बडीमालिका एक यस्तो धार्मिक तथा पर्यटकीय क्षेत्र हो,जहाँ नयाँ संसारको स्वर्गीय आनन्द र अनुभूति मिल्छ । जसले जीवनका हरेक समस्या, दुःख, कष्ट र अभावलाई भुलाएर छुट्टै शक्ति र साहस प्रदान गर्छ । त्यही हो, पहाड भित्रको नयाँ संसार, प्रकृतिको अमूल्य वरदान बडीमालिका । जहाँ पुग्दा आँखाले प्रकृतिको सौन्दर्य देख्छ, मनले शान्ति महसुस गर्छ र आत्माले आस्थाको स्पर्श पाउँछ ।
यहाँ पुग्ने जोकोहीलाई एकातिर प्रकृतिको अनुपम सौन्दर्यले लोभ्याउँछ भने अर्काेतिर धार्मिक आस्था र श्रद्धाले शिर झुकाउन बाध्य बनाउँछ । त्यो केवल एउटा धार्मिक तिर्थस्थल मात्र होईन्, हिमाली प्रकृतिको एउटा खुला संग्रहालय हो । जहाँ अनेकौं चिजहरु देख्न देखिन्छन् भने अनुभव र अनुभूती ग्रहण गर्न समेत पाइन्छ । विशेषगरी हरेक बर्षको जनैपूर्णिमाको अवसरमा लाग्ने मेला निकै महत्त्वपूर्ण मानिन्छ ।
देशका विभिन्न ठाउँबाट भक्तजनहरु कठिन पहाडी यात्रा पार गर्दै दर्शनको लागि पुग्ने गर्छन् । श्रद्धालु भक्तजनहरुका लागि यो यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा मात्र नभई, आस्था, विश्वास र आत्मिक अनुभूतिको माध्यम समेत बन्ने गर्छ । भक्तजनहरु यहाँ पुगेर पूजा–आराधना गर्ने, मनोकांक्षा पूरा हुने विश्वास राख्ने र देवीको दर्शनबाट शक्ति र मागेको वर प्राप्त हुने विश्वास गर्छन् ।
भक्तजनको आकर्षण बढ्दो
पछिल्लो समय बडीमालिकामा भक्तजनहरुको संख्या बढ्दै गएको छ। हजारौं संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु बडीमालिका आइरहेका छन् । यहाँबाट देखिने विशाल हिमाली दृश्य, मनमोहक पाटन र आसपासका प्राकृतिक सम्पदाले प्रकृतिप्रेमी र साहसिक यात्राका पारखीलाई बडीमालिकाले आकर्षित गर्दै आएको छ ।
विशेषगरी जनैपूर्णिमाको अवसरमा बडीमालिका मन्दिरमा पूजा–आराधना तथा दर्शन गर्ने देशका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट ठुलो संख्यामा भक्तजन पुग्ने गरेका छन् । कठिन भौगोलिक यात्राका बिच पनि धार्मिक विश्वासका साथ भक्तजनहरु यहाँ पुग्ने गर्छन् । यहाँ पुग्ने भक्तजनले बडीमालिका माताको दर्शन पाउँछन् ।
चुनावी अभियानका क्रममाः वर्तमान नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले धनगढीमा आयोजित एक कार्यक्रम बडीमालिकालाई ‘स्वीजरल्याण्डको बाउ’ भनेर सम्बोधन गरे पश्चात् झनै चर्चामा आएको हो । त्यसयता देश तथा विदेशबाट हजारौंको संख्यामा पर्यटकहरु बडीमालिका पुगेका छन् । बालेन शाहको सानो सम्बोधनले बडीमालिका अहिले विश्वभर चर्चाको शिखरमा छ ।

प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको अद्भुत मेलले बडीमालिकालाई बाजुराको मात्र नभई सुदूरपश्चिम र सिंगो देशकै पर्यटकीय र धार्मिक गन्तव्यको रुपमा स्थापित गर्न महत्त्वपूर्ण सहयोग पुर्याएको छ । करिब दुई तीन बर्षको आफ्नो ‘बडीमालिका यात्रा’ योजनालाई सफल बनाउन बडीमालिकाको दर्शनमा आएको काठमाडौँका दर्शनार्थी निरञ्जन शिलवाल बताउँछन् ।
उनी भन्छन्, ‘मनसुनको समयमा समेत यात्रा त्यति कठिन छैन् । नयाँ ठाउँ, नयाँ गन्तव्य, सुदूरको स्वर्गमा आउँदा निकै खुसी लागेको छ । दुई तीन बर्षको बडीमालिका घुम्ने योजना यो बर्ष पूरा गर्नेगरि यात्रामा निस्किएका हौँ । धार्मिक तथा पर्यटकीय क्षेत्रसंग सामिप्यता र मनका अनगिन्ती रहरहरु मेटिने छन्, भन्नेमा विश्वस्त छु । बडीमालिका माताले सबैले कल्याण गरुन् । जय बडीमालिका ।’
प्रकृति मुस्कुराउँछ, आस्था झल्किन्छ
दुगर्म भौगोलिक अवस्था, कठिन पदमार्ग र मौसममा हुने अचानक परिवर्तनले यात्रा निकै कष्टकर बन्ने गर्छ । यहाँको पर्यटकीय सम्भावना र धार्मिक आस्थाले मन्त्रमुग्ध बनाएपछि बडीमालिका दर्शनको यात्रा तय गरेको चितवनका दर्शनार्थी जयराम अधिकारी बताउँछन् । स्वर्गतूल्य बडीमालिकाको पावन भूमिमा पाइला टेक्न पाउँनु नै गर्वको कुरा रहेको उनको भनाई छ ।
स्थानीय सरकारले आवश्यक भौतिक पूर्वाधार निर्माण र सडक सञ्जालमा ध्यान दिएको खण्डमा पर्यटकको संख्या बढ्न सक्ने जोड दिए । नेपाल सरकारले सन् २०२३ देखि २०३३ को अवधिलाई पर्यटन दशक मनाउने घोषणा गरेको छ । जसमा बाजुराको बडिमालिका क्षेत्र मात्रै समेटिएको छ। बडीमालिकामा पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालिकोटबाट सरकारी टोली बाजुरा पुगेर बाजागाजासहित बडीमालिका लैजाने प्रचलन रहिआएको छ ।
नेपाली सेनाले यहाँ प्राचिन स्मारक २०१३ अनुसार,पुरातत्व विभागको डिजाइनमा कलात्मक मन्दिर निर्माण समेत गरेको छ । यहाँ नेपाली सेनाले करिब दुई करोडको लागतमा प्यागोडा शैलीमा बडीमालिका माताको मन्दिर निर्माण गरेको छ । यो मन्दिर निर्माणका लागी सेनाले भुटानको राजदरबार निर्माणमा संलग्न अनुभवी कालिगढ झिकाएको थियो । बडीमालिका माताको दर्शनले मागेको वर प्राप्त हुने,मनको मनोकांक्षा पूरा हुनुका साथै सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

कसरी पुग्न सकिन्छ ?
यातायात र अन्य सुविधाको अभावका कारण बडिमालिका यात्रा गर्न निकै असजिलो छ । सोता पाटनसम्म सडक भएपनि बर्षातको समयमा गाडी चल्न भने असम्भव छ । धनगढीबाट अछामको साँफेबगर हुँदै जिल्लाको सदरमुकाम मार्तडी सम्म गाडीको सुविधा छ । त्यहाँबाट पैदलयात्रामार्फत बडिमालिका पुग्न सकिन्छ । पैदल यात्रा नगरेर हवाईजहाजबाट जाने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टीमा पुग्न सकिन्छ ।
कोल्टीबाट जिल्ला सदरमुकाम मार्तडी अर्थात् पोरखेगढीबाट करिब तीन दिनको पैदल यात्रापछि पुगिन्छ । समुन्द्री सतहबाट करिब चार हजार २०० मिटरको उचाईमा रहेकाले अत्याधिक चिसो हुने गर्छ । अहिले ठाउँठाउँमा बास बस्नको लागि सुविधा भने पर्याप्त छ । स्लिपिङ ब्याग, पञ्जा, बाक्ला लुगाहरु र ड्राईफुडसहितको भारी बोकेर हिड्नुपर्ने बाध्यता छ। पर्यटकीय गन्तव्यहरुको धनी सुदूरपश्चिम नेपालको भाषा, कला र संस्कृतिको धनी पर्यटकीय गन्तव्यको खोजी गर्दै स्वदेशी तथा विदेशी पर्यटकहरु बडिमालिका पुग्ने गरेका छन् ।
प्रवद्र्धनको अवस्था
बडीमालिका क्षेत्रको पर्यटन, प्रवर्द्धन, संरक्षण तथा सम्बद्र्धन गर्न बाजुराका नौं वटै स्थानीय तहले आ–आफ्नो तहबाट पर्यटन, प्रवर्द्धन सम्बन्धी काम गर्दै आएको भए पनि त्यो पर्याप्त छैन् । भौगोलिक विकटता, यातायातको असुविधा, भौतिक पूर्वाधारको कमी यहाँका महत्त्वपूर्ण समस्या हुन् । सरकारले बडिमालिका क्षेत्रलाई सुरुदेखि नै संरक्षित क्षेत्र बनाउने नीति लिएपनि अझै कार्यान्वयनमा भने आउन सकेको छैन ।
तीर्थालुको संख्या बढ्दै गएसँगै बडीमालिका क्षेत्रमा सडक, पदमार्ग, खानेपानी, शौचालय सञ्चार, स्वास्थ्य तथा आवास लगायतका पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ । व्यवस्थित पर्यटन पूर्वाधार निर्माण गर्न सकेको खण्डमा बडीमालिका धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा थप स्थापित हुने स्थानीय तथा पर्यटक (गाईड) तुला बडुवालको भनाई छ ।
सरकारले ईन्टरनेट सेवा विस्तारको लागि काम थालेको छ । यसअघि संञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । अन्य पूर्वाधारका हिसाबमा सदियौँपछि मन्दिर संरचना नयाँ बनेका छन् ।

विस्तारै बडीमालिका यात्रा सुरक्षित र मर्यादित हुने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । उनका अनुसार मेला सुरक्षित र व्यवस्थित गर्न सुरक्षा संयन्त्र परिचालन, मेला व्यवस्थापन, सरसफाई, विरामीहरुलाई औंषधी उपचार, अस्थायी शौचालय र खानेपानी जस्ता आधारभूत आवश्यकता परिपूर्ति गरिने बताए । साथै उनले स्वास्थ्यमा समस्या भएका व्यक्तिहरुले दर्शनको लागि नआई दिन हुन समेत उनले आग्रह गरे ।
त्यस्तै जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले यस बर्षको मेलालाई व्यवस्थित गर्न जिल्लास्थित सरोकारवाला निकायबाट विभिन्न निर्णयहरु गरिएको जानकारी दिए । धार्मिक आस्थाको धरोहर बडीमालिकाको पर्यटन, प्रबद्र्धनमा जिल्लास्तरबाट पटकपटक संघ तथा प्रदेश सरकारलाई यहाँको सम्भावना र समस्याहरुबारे ध्यानाकर्षण गराईँदै आएको बताए ।
साथै उनले पछिल्लो समय बडीमालिकामा पर्यटकको संख्या बढ्दै जानुको कारण प्रधानमन्त्री बालेन्द्र शाहले दिएको ‘बडीमालिकाको बाउ’ संज्ञाले थप पर्यटकको आँखा खुलेको जिकिर गरे । समन्वय प्रमुख रोकायाले बडीमालिका दर्शनले मागेको वर प्राप्त हुने,मनोकांक्षा पूरा हुने र आत्मसन्तृष्टि मिल्ने भएकोले सम्पूर्ण दर्शनार्थीहरुलाई दर्शन गर्नको लागी आग्रह समेत गरे ।
सुन्दर फाँटहरुको शहर
बडीमालिकालाई फाँटैफाँटको शहर भन्दा पनि फरक पर्दैन । यहाँ २२ वटा समथर हरिया पाटनहरु छन् । मनमोहक त्रिवेणी क्षेत्र, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, विष्णुपानी, खेतीवेती,लौरी विनायक, धर्मद्वार, बडिमालिका क्षेत्रका मुख्य मनमोहक स्थल हुन् । प्राकृतिक सौन्दर्यता भरिपूर्ण यी फाँटहरुनै यहाँका मुख्य आकर्षक हुन् ।
धार्मिक आस्थाको धरोहर बडीमालिकामा पुग्ने प्रकृतिलाई नजिकबाट नियाल्नु मात्र नभई, आस्थालाई अनुभूति गर्ने माध्यम समेत हो । जहाँ पहाडको उचाईसंगै विश्वासको गहिराई भेटिन्छ । प्रकृतिको सौन्दर्यसंग आध्यात्मिक शान्तिको अनुभूत हुन्छ । त्यसैले बडीमालिका धर्तीकोे स्वर्गजस्तै सौन्दर्यभित्र लुकेको धार्मिक आस्था र सुन्दर फाँटहरुको शहर हो ।
