२०८३ भदौ २६ , शुक्रबार 12, September 2026, Saturday

फ्याटी लिभर छ ? यी पेय पदार्थ नियमित पिउनुहोस्

फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्ने समस्या हुँदा खानपिनमा मात्र होइन, दिनभरि के पिइन्छ भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । विशेषगरी चिनी धेरै भएका सफ्ट ड्रिंक, प्याकेज्ड जुस, मीठो चिया–कफी र अन्य गुलिया पेय पदार्थको नियमित सेवन कम गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ ।

यस्ता पेयमा हुने अतिरिक्त चिनी, मुख्यतया ‘फ्रुक्टोज’ मोटोपना र मेटाबोलिक समस्यासँग जोडिनुका साथै यसले फ्याटी लिभरको जोखिम झनै बढाउन सक्छ । फ्याटी लिभर व्यवस्थापनमा कुनै एउटा पेयले मात्र समस्या समाधान गर्दैन । यसका लागि समग्र खानपान, तौल नियन्त्रण र नियमित शारीरिक गतिविधि पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् ।

तौल घटाउने, स्वस्थ आहार लिने र व्यायाम गर्ने बानीले कलेजोमा जमेको बोसो कम गर्न तथा रोगलाई बढ्नबाट रोक्न मद्दत गर्छ । ‘अमेरिकन एसोसिएसन फर द स्टडी अफ लिभर डिजिज’का अनुसार करिब ५ देखि १० प्रतिशत मात्र तौल घटाउँदा पनि कलेजोको बोसो, सुन्निने समस्या (सूजन) र फाइब्रोसिसमा उल्लेख्य सुधार देखिन सक्छ । त्यसैले दैनिक पेय पदार्थ छनोट गर्दा तलका स्वस्थकर विकल्पलाई प्राथमिकता दिन सकिन्छ,

ब्ल्याक कफी – फ्याटी लिभर भएका व्यक्तिका लागि ब्ल्याक कफी एक उपयुक्त विकल्प हुन सक्छ । विभिन्न अध्ययनहरूले कफीको सेवनले कलेजोमा हुने क्षति र फाइब्रोसिस कम गर्न मद्दत गर्ने देखाएका छन् । तर, यसको अर्थ धेरै कफी पिउनुपर्छ भन्ने होइन ।

कफीमा धेरै चिनी, फ्लेभर्ड सिरप वा बोसोयुक्त क्रिम थप्दा अतिरिक्त क्यालोरी र चिनीको मात्रा बढ्न सक्छ । त्यसैले सकेसम्म सादा कफी रोज्नु राम्रो हुन्छ । यदि कफीमा क्रिम मन पर्छ भने कम चिनी वा स्याचुरेटेड फ्याट (बोसो) कम भएका क्रिम मात्र हाल्न सक्नुहुन्छ ।

ग्रिन टी – ग्रिन टीमा ‘क्याटेचिन’ जस्ता एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छन् । यी तत्त्वले कलेजोको स्वास्थ्यमा फाइदा पुर्याउने कुरा केही अध्ययनले देखाएका छन् । ग्रिन टीमा चिनी भने हाल्नु हुँदैन । यसलाई तपाईं चिसो बनाएर ‘आइस टी’को रूपमा पनि पिउन सक्नुहुन्छ ।

गुलियो नभएको स्पार्कलिङ वाटर – यदि तपाईंलाई सफ्ट ड्रिंक पिउने बानी छ भने चिनी नभएको स्पार्कलिङ वाटर राम्रो विकल्प हुन सक्छ । यसमा सामान्यतया चिनी र क्यालोरी हुँदैन । यसको स्वाद बढाउनका लागि कागती वा पुदिनाको प्रयोग गर्न सकिन्छ । फ्याटी लिभर भएका व्यक्तिले सोडा, मीठो जुस, स्पोट्र्स ड्रिंक र अत्यधिक गुलिया पेयको सेवन घटाएर यस्ता स्वस्थ विकल्प रोज्नु बुद्धिमानी हुन्छ ।

सोया मिल्क – चिनी नमिसाइएको सोया मिल्क प्रोटिनयुक्त ‘प्लान्ट–बेस्ड’ पेय हो । यसलाई गाईभैंसीको दूधको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ । तर, बजारमा पाइने सबै सोया मिल्कको पोषण तत्त्व एउटै हुँदैन । त्यसैले खरिद गर्दा चिनी नथपिएको विकल्प रोज्नु र प्याकेटमा रहेको पोषण लेबल हेर्नु राम्रो हुन्छ ।

आल्मन्ड मिल्क – गुलियो नहालिएको आल्मन्ड मिल्क पनि कम क्यालोरी भएको उत्कृष्ट ‘प्लान्ट–बेस्ड’ विकल्प हुन सक्छ । यसलाई कफी, ओटमिल वा स्मुदीमा दूधको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ । तर ‘आल्मन्ड मिल्क’ लेखिएको भरमा सबै उत्पादन स्वस्थ हुन्छन् भन्ने हुँदैन । बजारमा पाइने केही फ्लेभर्ड उत्पादनमा बाहिरी चिनी थपिएको हुन सक्छ । त्यसैले किन्दा थपिएको चिनीको मात्रा जाँच गर्न आवश्यक हुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ ९ गते मंगलबार