भिटामिन डी शरीरको लागि जरुरी पोषक तत्त्वमध्ये एक हो, यसले हड्डीहरूलाई बलियो राख्न र शरीरमा क्याल्सियमको उपयोगमा महत्त्वपूर्ण भूमिका खेल्छ । तर धेरैजसो मानिसमा भिटामिन डीको कमी देखिन्छ । हरेक दोस्रो व्यक्तिमा यो समस्या पाइन्छ । सूर्यको प्रकाशमा पर्याप्त मात्रामा नबस्ने भएकाले यसको अभाव भएको हुन सक्छ ।
समय अभाव वा छाला डढ्ने पीरजस्ता कारणले आजकल धेरैजसो मानिस घामको सम्पर्कमा धेरैबेर बस्दैनन् । ५ देखि १० मिनेट घाममा बसेर घरभित्र गइहाल्छन्, तर यतिले मात्रै पुग्दैन । यो कमीलाई पूरा गर्न चिकित्सकहरूले सुझाएका छन् ।
शरीरले कहाँबाट पाउँछ भिटामिन डी ?
भिटामिन डीको सबैभन्दा प्राकृतिक स्रोत सूर्यको प्रकाश हो । जब सूर्यबाट पराबैंजनी किरणहरू छालामा पर्छन्, शरीरले भिटामिन डी उत्पादन गर्न थाल्छ । तर छालाको रंग, मौसम, कपडाले शरीर कति ढाकिएको छ र घाममा बिताएको समयको आधारमा शरीरमा उत्पादन हुने भिटामिन डीको मात्रा व्यक्तिपिच्छे फरक हुन्छ ।
अण्डा – अण्डाको पहेँलो भागमा भिटामिन डी पाइन्छ । त्यसैले, आफ्नो आहारमा यसलाई सामेल गर्नु पनि भिटामिन डी पाउने तरिका हुन सक्छ । तर, अण्डामा हरेक व्यक्तिको भिटामिन डीको पूर्ण आवश्यकता पूरा गर्न गरी पर्याप्त हुँदैन ।
साल्मन माछा – साल्मन लगायत माछामा अण्डामा भन्दा बढी भटामिन डीको मात्रा पाइन्छ । माछा खानेहरूका लागि यो भिटामिन डीको कमी पूर्ति गर्ने राम्रो विकल्प हुन सक्छ । तर यो सबैको दैनिक आहारको हिस्सा हुँदैन । तपाईंलाई माछा मन पर्छ र शरीरमा भिटामिन डीको कमी छ भने साल्मन माछाको सेवन लाभदायक हुन सक्छ ।
सूर्यको किरणलाई किन मानिन्छ महत्त्वपूर्ण ?
शरीरले सूर्यको पराबैजनी किरणहरू प्रयोग गरेर आफैं भिटामिन डी उत्पादन गर्न सक्छ । त्यसकारण, घामको सम्पर्कमा बस्नु नै भिटामिन डी प्राप्त गर्ने सजिलो र प्राकृतिक तरिका हो । शरीरलाई भिटामिन डीको मात्रा पुग्ने गरी घाममा बस्न नपाउनेहरूका लागि माथि बताइएका खानेकुरा पनि लाभदायक हुन सक्छ ।
