नेपालगन्जमा विभिन्न स्पा सेन्टरमा नाबालिग बालिकालाई काममा लगाएको आरोपमा प्रहरीले तीन जना स्पा सञ्चालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जका विभिन्न स्पा सेन्टरमा नाबालिग बालिकालाई काममा लगाइएको सूचनाका आधारमा सोमबार साँझ अनुगमन तथा अनुसन्धान गर्दा त्यस्तो पाइएपछि सञ्चालकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार अनुगमनका क्रममा विभिन्न स्पा सेन्टरमा बालिकालाई कानुनविपरीत काममा लगाइएको पाइएपछि उनीहरूको उद्धार गरी स्पा सञ्चालकलाई पक्राउ गरिएको हो ।
उनका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१०, आदर्शनगरस्थित न्यू प्लेजर स्पाकी सञ्चालिका भारतीय नागरिक गुडिया खान, आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालिका दुर्गा थारू र नेपालगन्ज–२, न्युरोडस्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन् ।
प्रहरीका अनुसार विभिन्न उमेर समूहका बालिकालाई कानुनविपरीत स्पामा काममा लगाएको पाइएपछि उनीहरूको उद्धार गरिएको हो । पक्राउ परेका तीनै जनामाथि बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई जिल्ला अदालत बाँकेबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक राठौरले नेपालगन्जमा सञ्चालनमा रहेका सबै स्पाको लगत राख्ने तथा त्यहाँ कार्यरत व्यक्तिको पूर्ण विवरण नियमित रूपमा अद्यावधिक गर्ने तयारी भइरहेको बताए ।
नेपालगन्जमा सञ्चालनमा रहेका क्यासिनो तथा स्पा सेन्टरमा सीमापार भारतका विभिन्न स्थानबाट दैनिक ठुलो सङ्ख्यामा भारतीय नागरिक आउने गरेको प्रहरीले जनाएको छ ।
