२०८३ असार १८ , बिहीबार 2, July 2026, Thursday

नाकामा कडाइ भएपछि सीमावर्ती बजार रुपैडिहा सुनसान

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार १८ गते बिहीबार

नाकापारिको भारतीय सीमावर्ती बजार रुपैडिहा पुगेर दैनिक उपभोग्य लगायतका सामान खरिद गर्ने नेपाली उपभोक्ताको सङ्ख्या हाल आएर ह्वात्तै घटेको छ । बिहानदेखि साँझसम्म खरिदारीका लागि भारतीय बजार रुपैडिहा ओहोरदोहोर गर्नेहरू घटेपछि अहिले नेपालगन्जको जमुनाहा नाकालगायत यहाँका सहायक नाकाहरू सुनसानजस्तै देखिन थालेका छन् ।

सरकारले भारतबाट ५०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू गरेपछि दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार जानेको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने पहिलेको नियमको देशव्यापी विरोध भएपछि संशोधन गरी ५०० रुपैयाँ पुर्याइएको स्मरण गराए ।

सोही नियमका कारण अहिले उपभोग्य सामान खरिदका लागि सीमापारि जानेहरू ह्वात्तै घटेको उनको भनाइ छ । अध्यक्ष धामीले भने, ‘जमुनाहा नाकामा भारततिर ओहोरदोहोर गर्ने नेपाली उपभोक्ताको बिहानदेखि साँझसम्म ठुलो भीडभाड हुने गथ्र्यो, अहिले ८० प्रतिशतभन्दा बढी मानिस घटेका छन् ।’ जमुनाहा नाकामा रहेका सुरक्षाकर्मीहरुका अनुसार आजभोलि भारतीय बजारबाट सामान ल्याउन जाने मानिस एकदमै घटेकाले नाका सुनसानजस्तै बनेको छ ।

नेपाली उपभोक्ता खरिदारीका लागि भारतीय बजारमा जान छाडेपछि सीमापारि रुपैडिहाका व्यापारीले नयाँ नियम परिवर्तन गराउन नेपाल सरकारलाई दबाब दिन भारतको केन्द्रीय सरकारलाई गुहारेका छन् । रुपैडिहा व्यापार मण्डलका तर्फबाट केन्द्रीय अर्थ मन्त्रालय र व्यापार मन्त्रालयलाई पत्र लेखेर सो नियम हटाउन ध्यानाकर्षण गराइएको रुपैडिहा व्यापार मण्डलका पूर्वअध्यक्ष जुबेर फारुकीले बताए । उनका अनुसार नेपाली उपभोक्ता नआउँदा अहिले सीमापारि रुपैडिहा बजारको व्यापार ८० प्रतिशतभन्दा बढीले खस्किएको छ ।

नेपालगन्ज र कोहलपुर बजारमा चहलपहल

सीमापारिबाट ५०० रुपैयाँभन्दा बढीको सामान भन्सार तिरेर मात्र ल्याउन पाइने प्रावधानले सीमावर्ती नेपाली बजारमा भने चहलपहल र व्यापार व्यवसाय बढाएको छ । अधिकांश सर्वसाधारणले दैनिक उपभोग्य सामग्री लगायतका सामान खरिद गर्न भारतीय बजार जान छोडेर स्थानीय बजारकै प्रयोग गर्न थालेकाले नेपालगन्ज, कोहलपुर लगायतका नेपाली बजारमा रौनक बढेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बताए ।

उनका अनुसार सरकारको यो प्रावधानले नेपालगन्ज र कोहलपुरको व्यापार व्यवसायमा सकारात्मक प्रभाव पारेको छ । यसले गर्दा आजभोलि नेपालगन्ज र कोहलपुर लगायत यहाँका अन्य साना साना बजारमा समेत व्यावसायिक गतिविधि बढेको छ । नाकामा कडाइ गरिएपछि नेपालगन्ज र कोहलपुरका स्थानीय मार्ट, किराना पसल, कपडा पसल लगायतमा ग्राहकको भीड बढेको व्यवसायीले जनाएका छन् । सरकारको यो कदमले आन्तरिक व्यापार व्यवसाय सुदृढ बनाउन ठुलो सहयोग पुगेको नेपाली व्यापारीहरूको भनाइ छ ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार