२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday
प्रतिनिधिसभा निर्वाचन

बाँके-२ मा कांग्रेसलाई कडा टक्कर दिँदै रास्वपा, अरु दल पछाडी !

यसपटक बाँके–२ मा रास्वपाले आफ्नो संगठन र ‘स्वीङ भोट’लाई थप व्यवस्थित बनाउँदा पुराना दलका लागि आफ्नो विरासत जोगाउनु फलामको चिउरा चपाउनुसरह हुने देखिन्छ ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८२ माघ २० गते मंगलबार

बाँके क्षेत्र नं.२ मा प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबीच द्विपक्षीय कडा टक्कर हुने आँकलन गरिएको छ । यसपटकको निर्वाचनमा कांग्रेसबाट सुधांशु कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेक श्रेष्ठ, एमालेबाट मोहम्मद इस्तियाक राई, राप्रपाबाट ऋषिराज देवकोटा, तथा नेपाली कम्युनिष्ट पार्टीबाट दिपेन्द्र विष्ट लगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।

वि.सं. २०६४ र २०७४ मा विजयी भएका पूर्वमन्त्री मो.इस्तियाक राई यसपटक तेस्रो स्थानतिर धकेलिने आँकलन गरिएको छ । उनी नेकपा एमालेको चुनाव चिन्ह ‘सुर्य’ लिएर उम्मेदवार बनेका छन् । राई दुई पटक संसद र मन्त्री हुँदा गरेको विकास जितको आधार भएको दावी गरे पनि उनको जनआधार कमजोर हुँदै गएको मतदाताहरुको आँकलन छ भने स्थानीय तहको मतको आधारमा यहाँ कांग्रेसका राणा बलियो देखिन्छ ।

यद्यपी भर्खरै उदाएको रास्वपाको देशभर उत्साहजनक अवस्था रहेकाले यहाँ पनि जीत हात पार्ने दाउमा रहेको छ । गत निर्वाचनमा गठबन्धनको तर्फबाट राप्रपाका डा.धवलसम्शेर राणाले बाजी मारेका थिए, तर यसपटकको परिस्थिति भिन्न छ । पुराना दलहरु आफ्नै अस्तित्वको लडाइँमा छुट्टाछुट्टै मैदानमा छन्, जसले गर्दा पुराना दलको मत बाँडिने निश्चित छ र यसको प्रत्यक्ष लाभ रास्वपालाई पुग्न सक्छ ।

२०७९ को निर्वाचन परिणामलाई मसिनो गरी केलाउँदा यसपटक रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले पुराना दलको साखलाई नराम्ररी हल्लाइदिने आँकलन गरिएको छ । यसपटक पुराना दलहरु आफ्नै अस्तित्वको लडाइँमा छुट्टाछुट्टै मैदानमा छन्, जसले गर्दा पुराना दलको मत बाँडिने निश्चित छ र यसको प्रत्यक्ष लाभ रास्वपालाई पुग्न सक्छ । यसपटकको चुनावमा मतदाताले पार्टीगत रूपमा रास्वपालाई बढी रुचाएको आँकलन छ ।

गएको निर्वाचनमा एमालेसँगको गठबन्धनबाट प्रत्यक्षमा चुनाव लडेका व्यक्तित्व र स्थानीय प्रभावका कारण डा.धवलले जिते पनि यसपटक समग्र जनमत ‘घण्टी’तिरै आकर्षण देखिन्छ । यसपटक रास्वपाले आफ्नो संगठन र ‘स्वीङ भोट’लाई थप व्यवस्थित बनाउँदा पुराना दलका लागि आफ्नो विरासत जोगाउनु फलामको चिउरा चपाउनुसरह हुने देखिन्छ । यस निर्वाचनमा एमालेका लागि सबैभन्दा ठुलो टाउको दुखाइको विषय पार्टीको आन्तरिक व्यवस्थापन बनेको छ ।

नेपालगन्जमा बलियो संगठन रहेको दावी गर्ने एमालेले निर्वाचनकै मुखमा आएर सधैं अरु पार्टीका नेतालाई टिकट दिँदा कार्यकर्तामा चरम असन्तुष्टि रहेको छ । एमालेजस्तो क्याडर बेस पार्टीमा उम्मेदवार नै नभएजस्तो अन्य पार्टीबाट आयात गरि टिकट दिनुलाई नेतृत्वको ‘अन्तर्घात’का रुपमा बुझोका असन्तुष्ट समर्थकहरूले मौन रूपमा अर्को पक्षलाई सहयोग गरेमा वा चुनावमा निष्क्रिय बस्ने अवस्था देखिँदा निर्वाचन परिणाम रास्वपाको अनुकूल आउन सक्ने आँकलन छ ।

एमालेमा बर्षौसम्म संघर्ष गरेका पुराना नेताको रिक्तता भर्नु र चिढिएका कार्यकर्तालाई मिलाउनु नै पहिलो र कठिन खुड्किलो हुने देखिन्छ । त्यसो त रास्वपा र कांग्रेसले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठाको लडाइँ बनाएका छन् । रास्वपाका उम्मेदवार श्रेष्ठका लागि यसपटक अनुकूल वातावरणका धेरै पाटा छन् । पुराना दलहरुसँग रहेको ‘बौद्धिक’ मत रास्वपाको खातामा जोडिनु श्रेष्ठका लागि महत्त्वपूर्ण हुन्छ ।

विभिन्न समूहमा छरिएका साना र वैकल्पिक मतहरू पनि रास्वपाको पक्षमा केन्द्रित हुँदा यसले अन्य दलका उम्मेदवारलाई चुनौती दिने सामथ्र्य राख्न सक्छ । यसपटकको चुनावमा कांग्रेसले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नै उम्मेदवार उठाउँदा पुराना दलहरुको मत काटिन सक्छ । तर कांग्रेसका युवा मतदाताहरू ‘परिवर्तन’को नारा दिने रास्वपातर्फ बढी झुकाव राख्ने गरेकाले श्रेष्ठले पुराना दलका नेताहरुलाई कडा चुनौति दिने आँकलन छ ।

पुराना दलहरु अहिले एक्लाएक्लै लड्दा उनीहरुको मत निकै संकुचित हुने र पुराना दलहरुप्रतिको वितृष्णले मतहरू विभाजित हुने र यसको प्रत्यक्ष फाइदा रास्वपालाई पुग्न सक्छ । यता कांग्रेसले युवा नेता कोइरालालाई उम्मेदवार बनाएर मत सुरक्षित बनाउने रणनीति लिएको छ । पछिल्ला निर्वाचनका नतिजा हेर्दा यस क्षेत्रमा लगातार एउटै उम्मेदवार दोहोरिएका छैनन् । यही कारणले यसपटक पनि दलहरू आफ्नो पुरानो बिरासत जोगाउने प्रयासमा जुटेका छन् ।

नेपालगन्ज बजार र डुडुवा गाउँपालिका समेटिएको क्षेत्र नं.२ मा कहिले कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला विजयी भए, कहिले राप्रपाका महामन्त्री डा.धवलशमशेर राणा, त कहिले संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई निर्वाचित भए । बाँके–२ ले हरेक निर्वाचनमा फरक–फरक उम्मेदवारलाई विजयी बनाउँदै आएको इतिहास बोकेको छ ।

वि.सं.२०६४ मा जिल्लामा चारवटा निर्वाचन क्षेत्र बनाइँदा नेपालगन्ज बजार क्षेत्र नम्बर ३ मा परेको थियो । सो निर्वाचनमा सुशील कोइरालालाई फोरमका सर्वदेव ओझाले पराजित गरेका थिए, जुन धेरैका लागि अप्रत्याशित नतिजा थियो । वि.सं.२०७९ को निर्वाचनमा एमालेसँग गठबन्धन गरेर राप्रपाका डा.धवलशमशेर राणाले २९ हजार ५७८ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका मो.इस्तियाक राईले २३ हजार ५२० मत ल्याए ।

कांग्रेसका सुदीपनरसिंह राणाले चार हजार ४०३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद अग्रहरीले एक हजार ३३३ मत ल्याएका थिए । वि.सं.२०७४ को निर्वाचनमा यसै क्षेत्रबाट संघीय समाजवादी फोरमका मो.इस्तियाक राईले २१ हजार ५७५ मत ल्याएर विजय हासिल गरेका थिए । एमाले गठबन्धनका पशुपतिदयाल मिश्रले १५ हजार ९५१ र राप्रपाका ओमप्रकाश आजादले १२ हजार ६२२ मत प्राप्त गरेका थिए ।

५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र छ जना अन्यसहित कुल एक लाख आठ हजार २९० मतदाता सो क्षेत्रमा रहेको यस क्षेत्रमा कांग्रेस स्व.सुशील कोइरालाको राजनीतिक बिरासत जोगाउने प्रयासमा छ । यसपटकको निर्वाचनमा बाँके–२ मा २० जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यहाँका मतदातामा चुनावी चहलपहल बढ्दै गएको छ । उम्मेदवारहरूले घरदैलो अभियान सुरु गरिसकेका छन् ।

कोही एक्लै माइकिङ गर्दै हिँडेका छन् भने कोही दलबलसहित सडकमा भेटघाट र प्रचारमा जुटिरहेका छन् । अघिल्लो निर्वाचनमा विजयी भएको राप्रपाले यसलाई प्रतिष्ठाको विषय बनाएको छ । तीन पटक मन्त्री भइसकेका मोहम्मद इस्तियाक राईले आफूले गरेको विकासको आधारमा मत माग्दै पुनः विजयको दाबी गरिरहेका छन् । अघिल्लो निर्वाचनमा झिनो मत ल्याएको ‘घण्टी’ चिन्हले यसपटक भने आक्रामक रूपमा अघि बढिरहेको छ ।

नेकपाले पनि चुनावी सरगर्मी बढाएको छ । पहाडी, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको यस निर्वाचन क्षेत्रमा मतदाताको झुकाव कता जान्छ भन्ने विषयमा अहिल्यै ठोकुवा गर्न सकिने अवस्था छैन । मतदान प्रक्रियालाई सहज र व्यवस्थित तुल्याउन ४३ वटा मतदान स्थलसहित १२४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका काम तीव्र रूपमा अघि बढेको छ ।

सम्बन्धित निर्वाचन कार्यालयका अनुसार निर्वाचन व्यवस्थापन, मतदान केन्द्रको तयारी, सुरक्षा प्रबन्ध, निर्वाचन सामग्री वितरण तथा सरोकारवाला निकायसँगको समन्वयलाई प्राथमिकताका साथ तीव्र रूपमा अघि बढाएको हो । निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणसहित मर्यादित ढङ्गले सम्पन्न गराउने लक्ष्यका साथ तयारी अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट गरेको छ ।

प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार