झल्याँस्स बिउँझिएँ । आँखा उघारेर हेरेँ । म कहाँ छु जस्तो लाग्यो । एकछिन अलमल्ल भएँ । पुनः स्मरण भयो । म त विदेशमा आएको छु । यो रात त विदेशमै बित्यो । कस्तो थकाइले भुसुक्कै निदाएछु । अत्तोपत्तो नहुने गरी । यसो झ्यालबाट हेरें । मिरमिर उज्यालो भएको थियो । उषाकालीन समयको प्रहर मुस्कुराइरहेको थियो । हल्का हुस्सुले विशाल मरुभूमिलाई पर्दा लगाएको थियो । आकाशमा हल्का बादलका धर्साहरू सल्बलाइरहेका थिए । ताराहरू बादलभित्र लुकामारी गर्दै थिए । पूर्व उज्यालिँदै थियो ।
ऊर्जाशील ब्रह्ममुहुर्त चलायमान थियो । मिर्मिरे बिहानी उज्यालिँदै लम्किरहेको थियो । सूर्यलाई धर्तीले स्वागत गरिरहेको थियो । पृथ्वीको आफ्नै गतिसँगै प्रभातकालीन समय गतिशील थियो । मरुभूमिका थुम्काथुम्कीहरू अटल विराजमान थिए । हस्याङफस्याङ गर्दै साथी उठ्यो । हात मुख धोयो । कपडा लगाउँदै उसले भन्यो, ‘सञ्जय, म त भुसुक्कै निदाएछु । ड्युटी जान ढिलो भयो । मैले भनेँ, ‘बल्ल त उज्यालो हँुदैछ यार कति हतारिएको ?’ उसले भन्यो, ‘ड्राइभरको काम यस्तै हो । अरू ड्युटीको जस्तो कुनै समय हँुदैन । यस्तै हो यार परदेशको जीवन । छ त काम छ । लाइफ छैन परदेशमा ।’
मैले भनेँ, ‘म त एक्लै बोर हुने भएँ यार ।’ उसले हतारिँदै भन्यो, ‘साहुले तँलाई काममा पठाउँछ जानु है ।’ मैले सुस्त आवाजमा ‘हुन्छ’ भने । ऊ ड्युटीमा गयो । कोठामा म एक्लै भएँ । सोचेँ घरमा भएको भए बिहानै काकाको घरतिर चहार्थें । वल्लोपल्लो घरतिर बोलायो रमाइलो हुन्थ्यो । यहाँ त कहाँ जानु र ? यसो म्यासेन्जर खोलेर हेरेँ । सुषमालाई अनलाइन देखेँ । हरियो बत्तीले अनलाइन सङ्केत गरिरहेको थियो । भिडियो कल गरेँ । उनको कल रिसिभ भएन । लगातार कल गरिरहेँ । तेस्रो कल सुषमाले रिसिभ गर्दै भनिन्, ‘बुढा, के छ ? कहाँ पुग्यौ ? कति चिन्ता लागिरहेको थियो । बल्ल कल गर्र्यौ ? तिमी त हरायौ कि भन्ठानेकी थिएँ ।’
मैले नम्र हुँदै भनेँ, ‘के गर्ने बुढी ? काठमाडौँ पुगेपछि व्यस्त भएँ । विदेश आउन सजिलो कहाँ छ र ? अनेक झन्झट छ । श्रमस्वीकृति लिनुपर्ने । पुलिस रिपोर्ट बनाउनुपर्ने । सम्पूर्ण डकुमेन्ट परराष्ट्रले सर्टिफाई गर्नुपर्ने । भिसा लगाउनुपर्ने । जुन अफिस जाऊ भिडभाड समयमा काम नहुने । विदेश आउन धेरै सङ्घर्ष गर्नुपर्यो । त्यसैले फोन गर्न समय मिलेन । व्यस्त भएँ मेरी रानी ।’ उनले मुसुक्क मुस्कुराउँदै भनिन्, ‘कस्तो लाग्यो त विदेश ?’ भिडियो कलबाट बाहिरको दृश्य देखाउँदै भनेँ, ‘हेर न बुढी, यस्तै छ विदेश । उनले मुख खुम्च्याउँदै भनिन्, ‘छ्या कति नरमाइलो । मरुभूमि मात्र हँुदो रहेछ त्यहाँ त । म त जति धेरै पैसा दिए पनि जान्न त्यहाँ त ।’
मैले हाँस्दै भनेँ, ‘जान्न भन्ने ठाउँमा जानुपर्छ । खान्न भनेको वस्तु खानुपर्छ । आफूले चाहेको जस्तो कहाँ हुन्छ र जिन्दगी ?’ भिडियो कलमा संवाद हुँदै थियो । ढोका ढकढक ग¥यो । ढोका खोलेर हेरेँ । एक इन्डियन युवकले भन्यो, ‘आपका साहेब ने बुलाया है । चलो साहु के पास ।’ मैले कल काटेँ र त्यही मानिसको पछिपछि लागेँ । उसले साहुसँग भेट्टाइदियो । मोटो आग्लो, उसका ठुला ठुला बदामी आँखा थिए । आँखामा लामा लामा सजिएका परेली थिए । आँखामाथि सर्लक्क मिलेको बाक्लो आँखिभाँै थियो । अरेबियन मान्छे, बिल्कुलै फरक थियो । लामो दारी कपाल पालेको, लाम्चो मोहोडाको, चुच्चो सर्लक्क परेको नाक थियो । गोरो वर्णमा कालो दारी उसलाई निक्कै सुहाएको थियो । हेर्दै भिआइपी देखिन्थ्यो । लोभ लाग्दो पर्सनालिटी थियो । बाहिरबाट पूरै शरीर ढाक्ने नकाप जस्तो लगाएको थियो । टाउकोमा फेटाले ढाकेको थियो ।
उसलाई देख्नासाथ हात जोडेर नमस्ते गरेँ । उसले ठुला ठुला आँखाले मलाई हेर्दै भन्यो ‘वालेको सलाम’ भन्यो । हलल्लखल्लल गर्दै अरबीमा भारतीयलाई भन्यो । भारतीले टाउको हल्लायो । मैले पटक्कै बुझिनँ । भारतीयले मलाई हिन्दीमा भन्यो, ‘चलो काममे ।’ कोठामा गएर झोला टिपेँ । अनजान हँुदै भारतीयको पछि लागेँ । उसले गाडीमा राखेर लिएर गयो । खाडीको मरुभूमिमा गाडी हँुइकिरह्यो । तातो रापिलो बतासले बालुवा उडाइरहेको थियो । कतै बतास र बालुवाको भँुमरी नाच्दै थिए । त्यो दृश्यले मन सिमलको भुवा जस्तै उडिरह्यो । अस्थिर भयो मन । समुद्रको छालजस्तै गरी छचल्कियो ।
उसले मरुभूमिको मैदानमा गाडी दगुरायो । मेरो मन कता कता हुइँकिरह्यो । मन बेलगामको घोडा जस्तै भयो । खाडीको परिदृश्यले अशान्त भएँ । दुई घण्टाको बाटोपछि पातलो बस्ती आयो । भारतीयले गाडी रोक्दै भन्यो, ‘तेरे काम यहीँ है । यही कम्पनीमा ड्युटी है ।’ म झोला बोक्दै गाडीबाट उत्रिएँ । उसले देखाउँदै भन्यो, ‘तेरेको बस्ने जागा यही है ।’ म बस्ने कोठामा पसेँ । कोठा कम्पनीले दियो । बस्ने सुविधा पनि मिल्यो । बस्ने बास त मिल्यो तर मनले बास पाइरहेको थिएन । मन अत्यधिक अशान्त थियो । बस्न पटक्कै मन थिएन । नेपाल नै फर्किहालौँ जस्तो भयो तर मनले चाहे जस्तो कहाँ हुन्छ र ? मन धमिलो बनाउँदै बसेँ ।
भोलिपल्टदेखि ड्युटी सुरु भयो । पुलिसको जस्तै युनिफम लगाएँ । दिनभरि गेटमै उभिएर बसेँ । ड्युटी सुरु भयो । गेटपालेको ड्युटीमा खटिएँ । गार्डको फर्ज निभाएँ । जागिर सुरु भयो । कहिले दिनको ड्युटी, कहिले रातको ड्युटी चलिरयो । आफैँ पकाउने, खाने, एक्लै बस्ने । एकान्त बास भयो । गार्डको ड्युटी दिनभरि अचल भएर उभिनु पर्ने । शारीरिक काम गर्नुभन्दा एक ठाउँमा उभिरहनु अझै गाह्रो । शरीर अचल, मन चञ्चल भयो । शरीर एकै ठाउँमा उभिएको बेला मन मस्तिष्क कहाँ कहाँ चहार्ने । तन परदेशमा मन घरदेशमै हुन्थ्यो । श्रीमती र छोरीको यादले सतायो । आमाले खाऊ बाबु भनेको सम्झेँ ।
सात समुद्रपारिको एक्लो बसाइले होमसिक भइरह्यो । ड्युटीभरि तन परदेशमा रहे पनि मनमस्तिष्क घरदेशमै नाचिरहेको थियो । बेलुकापख ड्युटी सकियो । थकित मुद्रामा कोठामा फर्किएँ । खाना पकाएर खाने जाँगर पटक्कै लागेन । भोको पेटले खान मागिरहेको थियो । फ्रिज खोलेँ । फ्रिजबाट ब्रेड निकालेँ । त्यो चिसो ब्रेडमा जाम लगाएर खाएँ । अलिकति भोक म¥यो । थकाइले गालेर सुतौँ सुतौँ भयो । बिस्तरामा पल्टिएँ । भुसुक्कै निदाएँछु । सपना देखेँ । सपनामा नेपाल पुगेँछु । जीवन सँगिनीको अँगालोमा पौडिदै थिएँ । उनलाई न्यानु स्पर्श गर्दै चुम्दै थिएँ । दुवैका चाहनाहरू तृप्त हुँदै थिए । निन्द्राबाट झल्यास्स ब्युँझिएँ ।
बिपनामा त्यही परदेशको एक्लोपन । तल लगाएको भित्री लुगा स्वप्नदोषले फोहोरी भइसकेको थियो । घडी हेर्दा रातिको एक बजिसकेको थियो । झ्यालबाट चिच्याउँदा चारैतिर सुनसान मौन देखिन्थ्यो । आकाशमा जुनतारा झलमल्ल थिए । रातको सुमधुर उज्यालोमा चारैतिर खुल्ला मरुभूमि देखिएको थियो । यता छाम्यो रित्तो, उता छाम्यो भित्तो । अनकन्टार मरुभूमिबिच एक्लो महसुस भयो । मध्यरातले आफैँलाई गिज्याइरहेको भान भयो । मन भावुक भएर आयो । मेरी प्यारीलाई कहाँ भेटौँ जस्तो लाग्यो । मन प्रेमिल बन्यो । घरका यादले सतायो । गिलासको पानी पिएँ र मोबाइल चलाएँ । सिधै मेसेन्जर ओपन गरँे । मनभरि तरङ्गित भएका भावनाहरू म्यासेजमा कोर्न थालेँ ।
मेरी दिलकी रानी,
मध्यरातको सुनसान मौन रातमा तिमी समीपमा छु ।
तिमीविना व्याकुल छु । पानी खोज्दै भौँतारिएको काकाकुल जस्तै भएको छु । भौगोलिक दूरी टाढा भए तापनि मेरो मनमस्तिष्क तिमीसँगै छ । तिम्रै साधनारत छु । ध्यान तिमीमै लागिरहेको छ । मन मस्तिष्कमा तिमी नै छ्यौ । प्यारी मेरा सम्पूर्ण बहहरू शब्दमा कोरौँ भने अलि हलुको हुने थियो । प्रेमको रूपरङ हुँदैन । अदृश्य छ प्रेम । जस्तै वायु, देवता, प्रेम, प्राण अदृश्य छन् । त्यसै शक्तिमा संसार अडिएको छ । लाग्छ मरुभूमिको एक्लो प्राणी हुँ म । बिरानो मुलुकमा मनमा आँधीतुफान मच्चिरहन्छ । तिम्रो मुहार आँखाका आगाडि झल्झली आइरहेको छ । धड्कनहरूले तिम्रो कमीको महसुस गरिरहेछ । तिम्रो सम्झनामै मेरा दिनरात पलपल खर्चिरहेछु ।
यो बिरानो मुलुकमा अनगिन्ति मानिसहरू छन् । ठुलाठुला सुन्दर महलहरू, छन् । राम्रा चिल्ला मोटरहरू, दौडिन्छ । यो बिशाल मरूभूमिमा रहेको एकादेशको सहर हो । यो पृथक सहरभित्र मेरो मन अडियन । मेरो मनमस्तिष्क स्थिर हुन सकिरहेको छैन । झन् झन् तिम्रो प्रगाढ मायाले मलाई सताइरह्यो । दिनभरि गेटपालेको काममा ब्यस्त हुन्छु । बेलुकी थाकेर कोठामा आउँछु । अँध्यारो कोठा, लथालिङ्ग सरसामानहरू फालिएका हुन्छन् । खाने कुनै वस्तुको व्यवस्था नरहेको, फेरि सम्झन्छु मेरी प्रिया । तिमी मेरो साथ भइदिएकी भए, मेरो ख्याल राख्ने थियौ । म भोकाएर आउँदा तातो खाना खाऊ राजा भन्ने थियौ । तिम्रो न्यानो अँगालोमा संसारको सबै दुःख बिर्सेर हराउने थिएँ । टाढा रहँदा तिम्रो साथको महत्व धेरै बढ्यो ।
परदेशको मरुभूमि जसरी उजाडिएको छ, उस्तै भएको छु । मेरा जीवनको हरियाली बनेकी तिमीलाई देशकै हरियालीमा छोडेर आएको छु र यहाँ पलपल तड्पिएर बाँचिरहेछु । प्रिया तिमीलाई राम्रो फरिया दिन सक्छु कि भनी यस बिरानो मुलुकमा तिम्रो साथ छोडेर आएँ, तिम्रो न्यानो अँगालो छोडेर आएँ । तर, तिम्रो मायालाई मुटुभरि बोकेर यस उजाड भूमिमा आउन विवश भएँ । वर्षौं बितिसक्यो यस बिरानो मुलुकको एकान्त बसाइमा, कहाँ छ तिम्रो साथ ? कहाँ छ मेरो चाडतिहार ? कहाँ छ मेरो खुसी ? यस्तै यस्तै दिनहरू बिताइरहेछु प्रिया । लेख्दै गर्दा यी हरेक शब्दमा तिम्रो आकृति देख्दैछु । हरेक शब्द भित्रै तिमीलाई पाउँदै छु । तिम्रो सामीप्यको न्यानो अनुभूति गर्दै छु ।
कलेजमा पढ्दाको याद आउँछ । कलेजले हाम्रो भेट गरायो । सँगै पढ्दा पढ्दै नजर जुध्यो । मन मिल्यो । प्रेमरूपी आँकुरा पलायो । मिठासपूर्ण प्रेमको रसास्वादन गर्यौँ । ती क्षणहरू अझै मेरो मानसपटलमा ताजै छन् । तिमीलाई लिएर घुम्न गएको सौराहाको जङगल, त्यहाँ रमाइरहेका वन्यजन्तुहरू, उफ्री उफ्री खेलिरहेका मृगहरू, सुन्दर प्राकृतिक रमणीय स्थलका दृश्यहरू, तिमीलाई मेरो काखमा राखेर मिठो चुम्बनसँगै हराएका ती क्षण नै यस सात समुद्रपारिको एक्लोपनमा झलझली मेरा आँखामा आइरहन्छ । तिम्रो र मेरो माया बसेको केही समयपछि हाम्रो विवाह भयो । विवाह भएको तीन वर्ष हामी सँगै रह्यौँ । सँगै रहँदा पनि घर व्यवहारको उतार चढाव रह्यो । वैवाहिक जीवनमा अनेकौँ अप्ठ्याराहरू परेड खेल्न आए । जे जस्तो भए तापनि एक पुरुष नारीको साथ र सहयोगविना अधुरो हुन्छ ।
त्यही अधुरो अनुभूति गरिरहेको छु । भर्खर लभ पर्दा लाग्थ्यो, जीवनका कुनै सेकेन्ड नछुट्टिई हामी बस्नेछौँ, हरदम हामी सँगै रहन्छौँ तर के लाग्ने रहेछ र ? जीवनको यात्रा चाहेको जस्तो कहाँ हुँदोरहेछ र ? हुँदा खाँदाको जागिर गुमाएँ । भएको सम्पत्ति पनि गुमाएँ । केही सिप नलागेर परदेश आउँन बाध्य भएँ । बाध्यताले हामीलाई टाढा बनायो । मुटुमाथि ढुङ्गा राखी परदेशिएँ । म मेरी प्यारीलाई छोडेर टाढा आउँन विवश भएँ । प्रियतम, मेरी छोरी, मेरी आँखाकी नानी असाध्यै मिस गरिरहेको छु । झल्झली छोरीलाई देख्छु । सम्झिँदै उडेर आऊँ जस्तो लाग्छ । छोरीको राम्रो ख्याल गर्नू मेरी प्यारी । तिमी घरपरिवारको साथ छौ । तिमीसँग सबै भुलाउने छोरी छिन् ।
म त तिमीहरूको यादमा हरपल तड्पिरहेको छु । तिमी पनि मेरो बाटो हेर्दैछ्यौ होला ? दिनहरू गन्दैछ्यौ होला ? प्रतीक्षाको घडी अति लामो र पट्यार लाग्दो हुन्छ । जीवन त सधैँ रङ्गीन होस् भन्ने चाहिन्छ तर पनि समयको बेगले रङ्गहीन बनाइदिन्छ । समयको दास हौँ हामी । त्यसैले भनिन्छ भाग्यभन्दा बढी र समयभन्दा पहिला पाइँदैन तर पनि कर्म त गर्नैपर्छ । विश्वासमा नै पृथ्वी अडिएको छ र विश्वासमा नै सिङ्गो मानव समाज अडिएको छ । म तिमीप्रति पूर्णविश्वस्त छु । पतिपत्नी देश र परदेशमा हुँदा कैयौँले एकअर्कालाई छलेका छन् र धोका दिएका पनि छन् । मानिसका नाममा रहेका त्यस्ता कलङ्कहरूले आत्मीय मायाको मूल्य नबुझेका हुन् र आपसी विश्वासको अर्थ नजानेका हुन् ।
तिमीले र मैले जे जति पढेका छौँ र भोगेका छौँ त्यो शिक्षाले हामीलाई यस्तै बेलामा धैर्य लिन सिकाएको छ । देश दुनियाँबाट जति अनुभव लिएका छौँ त्यसले यस्तै अप्ठ्यारा समयमा सचेत गराउँछ । हेर प्रिया, रातपछि दिन आउँछ, जीवनमा दुःखपछि सुख अवश्य नै आउँनेछ । धैर्य गर दुःखपछि पाइएका उज्याला दिनको आनन्द छुट्टै हुन्छ । सहनशीलताले नै मानिसलाई सफल बन्ने बाटामा लैजान्छ । हेर प्रिया, एक दिन हाम्रा जीवनले सुखको न्यानो घाम तापेर बस्न पाउनेछौँ । जबसम्म हाम्रो प्राण रहनेछ हामी दुवै एक भएर साथै रहनेछौँ । सानु बास बनाएर छिटै घर फर्किआउनेछु प्रिया । उही तिम्रो परदेशी प्यारो …..।
000
घण्टा, दिन, हप्ता, महिना, वर्ष गर्दै दिनहरू बित्दै गए । आर्थिक अवस्था अलि सुध्रियो । सानु भएपनि बस्ने कुट्टी बनाइयो । टाउको लुकाउने ठाउँ भयो । घामपानीदेखि सुरक्षित हुने भयौँ । बास बनाएर अलि सहज भयो । दैनिकी खर्चको निमित्त काम गर्ने पर्यो । बास त बन्यो । गाँसको जोहोका लागि पनि काम गर्नै पर्यो । काम गरे नै माम पाइने हो । महँगीले आकाश छोएको छ । जति कमायो, खायो । घरबाट पत्नीज्यूको फोन आयो । फोन उठाएर भनेँ, ‘हेल्लो के छ सुषमा ? उनले मस्किँदै भनिन्, ‘बुढा, छोरीलाई सहरमा पढाउनु पर्यो नि ? यो गाउँमा कहाँ राख्ने छोरीलाई ? बच्चालाई राम्रो पढाउनुपर्छ ।
उनको कुरामा सहमत हँुदै भनेँ, ‘हुन्छ नि कहाँ राखेर पढाउने ?’ उनले भनिन्, ‘काठमाडाँंमै राखेर पढाउने हो । ठुलो सहरमा राखेपछि बच्चा टाठाबाठा हुन्छन् ।’ उनको कुरा सही मान्दै भनेँ, ‘हुन्छ नि काठमाडौँमै पढाउने ।’ फेरि उनले भनिन्, ‘स्कुलहरूमा भर्ना खुलिसक्यो बुढा । छिटो गर्नुपर्छ । समयमै स्कुलमा नाम लेखाउनु पर्यो ।’ मैले भनेँ, ‘त्यसो भए किन ढिला गर्नु । समयमै जाऊ ।’ सुषमाले खुसी हँुदै भनिन्, ‘हुन्छ बुढा, म जान्छु काठमाडौँ । भोलि नै जानुपर्यो । कोठा खोज्नुपर्यो । मैले भनेँ, ‘ल ल हुन्छ जाऊ । म ड्युटी जान्छु’ भन्दै फोन राखेँ । उनी सहर जान उत्साहित भइन् ।
उनले खुसी हँुदै सहेलीलाई फोन गरेर भनिसकिछन्, ‘म काठमाडौँ आउँदैछु । सरु, कोठा खोजिदिनू है ।’ सहेलीले भनिन्, ‘अब यतै बस्ने हो ?’ सुषमाले रमाउँदै भनिन्, ‘हो नि बाई । छोरीलाई सहरमै पढाउने हो । यो गाउँमा कति बस्नु ? सासूबुढीको कचकच सुनेर । बल्ल यो किचकिचे बुढीको किचकिचबाट छुट्कारा पाउँने भएँ । अब त सासूबुढीसँग बस्नु नपर्ने भयो । कति किचकिचे बुढीको कचकच सुन्नु । कति अलच्छिनी बुढीको मुख हेर्नु । ठुलो जेलबाट मुक्ति पाउँने भएँ बाई । खुल्ला आजाद हुन्छु अब त ।’ श्रीमतीलाई अर्को दिन फेरि भिडियो कल गरेँ । उनको सुरिलो स्वरले फोन उठाउँदै खुसी हुँदै भनिन्, ‘बुढा, म ब्याग मिलाउँदैछु । उतै बस्ने गरी जाँदा त धेरै सरसामान लैजानुपर्यो ।’
भिडियो कलमार्फत हेर्दा उनी उत्साहित हँुदै ब्याग तयार गर्दै थिइन् । मैले भनेँ, ‘ल ल नबिर्सी आवश्यक सामान लिएर जानू ।’ उनले भनिन्, ‘हुन्छ बुढा हुन्छ ।’ भोलिपल्ट छोरी लिएर उनी काठमाडौँ लागिन् । छोरी पढाउँन श्रीमतीलाई काठमाडौँ पठाएँ । आमाले घरको हेरविचार गर्नुभयो । पत्नी छोरी लिएर काठमाडौँ बसिन् । परिवार सहर राखेपछि झनै खर्च बढ्यो । नेपाल फर्किने चान्स नै थिएन । महँगीको खर्च धान्नु थियो । जसरी पनि परिवार पाल्नु थियो । सम्पूर्ण आवश्यकता पूर्ण गर्दै ठिक्क भयो । परदेशमा जोतिएर पैसा पूरा गरिरहेँ । पति, बाबु र छोराको भूमिका निभाउन तल्लीन भएँ । परिवारलाई आफू दलिएर भए पनि कुनै कमी हुन दिइनँ ।
जब उनी काठमाडौँ बस्न थालिन् । श्रीमतीलाई सहरको हावाले छोयो । तडकभडक बढ्यो । छोरी स्कुल पठाएपछि उनी स्वतन्त्र भइन् । कहिले सिनेमा हल जाने । दिनदिनै नयाँ ठाउँ घुम्ने गर्थिन् । आधुनिकताको हावाले मज्जैले छोयो । फेसन गर्ने र मोजमस्तीमै मस्त थिइन् । म उनको खुसीमा खुसी थिएँ । उनी रमाउँदा म आफैँ रमाउँथेँ तर सुस्त सुस्त उनमा परिवर्तन आयो । फोन गर्दा झर्किने, त्यति महत्व नदिने गर्न थालिन् । मेरा मनमा शङ्का पलायो । म चिन्तित भएँ । मैले एक जना सहकर्मी साथीसँग भनेँ, ‘हेर न यार, आजभोलि मेरी श्रीमती आफ्नै दुनियाँमा छे, मलाई मतलब नै गर्दिन ।’
उसले भन्यो, ‘हेर्नु दाइ, यी आइमाईहरूको भर हँुदैन । हामी परदेशमा जोतिन्छौँ । यो मरुभूमिमा पसिना बगाएका छौँ । केही आदर्श नारीहरू पनि छन् । पठाएको पैसा राम्रो सदुपयोग गर्ने । केहीका श्रीमतीहरू मोजमस्ती गर्छन् । पठाएको पैसा नाठोलाई खुवाउँछन् । श्रीमान् विदेश रहँदा फ्री हुन्छन् । त्यसैले त बुढापाका उखान गर्छन् । सिङ हुने र ढिङ हुनेको भर हँुदैन ।’ उसको कुरा सुनेर मलाई चिन्ता लाग्यो । स्वदेश फर्किनु त कसरी ? दिनदिनै खर्च बढ्दो छ । मन मारेर परदेश बस्न बाध्य भएँ । ‘हे भगवान तिम्रै मर्जी छ । म त एक निमित्त मात्र हुँ । कर्मरूपी म हुँ, फलरूपी तिमी नै हौ । यस्तै सोच्दै दिनहरू बित्दै गए । अधैर्यलाई धैर्यमा बदल्दै गएँ । सहनशीलता रूपी अस्त्रको प्रयोग गरिरहेँ ।
000
एकाबिहानै आमाको फोन आयो । फोन उठाएर भनेँ, ‘आमा के छ खबर ?’ आमाले मलीन स्वरमा भन्नुभयो, ‘के हुनु बाबु अस्पताल जानुपर्ने भयो ।’ मैले आत्तिदै भनेँ, ‘सन्चो भएन आमा ?’ आमाले भन्नुभयो, ‘यो बुढेसकालमा रगत बग्यो । महिनावारी रोकिएको पनि जुग भइसक्यो । खोई के भएको हो ? एकपटक जँचाउन पर्यो ।’ मैले भनेँ, ‘तुरुन्तै हस्पिटल जानू आमा । जति खर्च हुन्छ म पैसा पठाइदिन्छु । राम्रो उपचार गर्नू ।’ आमाले ‘हुन्छ बाबु’ भन्दै फोन काट्नुभयो । दिनभरि पालेको भूमिका निर्वाह गरेँ । बेलुकी भयो । पुनः आमालाई फोन गरेँ । आमाले फोन उठाएर भन्नुभयो, ‘बाबु, खाना खायौ ?’
मैले भनेँ, ‘भर्खर ड्युटीबाट आएँ । खाना पाकेको छैन आमा । एकछिनमा केही खान्छु ।’ आमाले भन्नुभयो, ‘कठैबरी मेरो बाबु भोकै छ ।’ आमाको मातृत्वभावले म रोएँ । आँखाबाट आँसु पुछ्दै भनेँ, ‘आमा हस्पिटल जानुभयो ?’ आमाले भन्नुभयो, ‘बाबु म अस्पताल गएँ । रिपोर्ट आउँन बाँकी छ ।’ मैले प्रश्न गर्दै भनेँ, ‘आमा कोसँग जानुभयो हस्पिटल ?’ आमाले मेरो उत्तर दिँदै भन्नुभयो, ‘कोसँग जानु बाबु ? म एक्लै गएँ । घरमा कोही छैन । वरपरका पनि सबै विदेशमै छन् । तिम्रा दिदीबहिनीलाई फुर्सद छैन । सबैको आआफ्नो घरव्यवहार छ । बच्चाहरू स्कुल पुर्याउनुपर्यो । लिन जानुपर्यो । घरधन्दा गर्नुपर्यो । सासूससुरा रिझाउनुपर्यो । सानी दिदीको त झनै अफिस छ । अफिसको काममा व्यस्त हुन्छिन् । छोरीहरूलाई फुर्सद छैन ।’
मैले नमज्जा मान्दै भनेँ, ‘त्यही त आमा दुःख बिराममा कोही छैन ।’ आमाले भन्नुभयो, ‘गैँडाकोटबाट भरतपुर क्यान्सर हस्पिटल नजिकै छ । सक्दासम्म म एक्लै गइहाल्छु ।’ मैले भावुक हँुदै भनेँ, ‘के गर्नु आमा म टाढा छु ।’ आमाले सही थाप्दै भन्नुभयो, ‘हो नि बाबु तिमी टाढा छौ । अहिले गाउँमा सबै बुढाबुढी मात्र छौँ । सबै सहर र परदेश लागे । दुःखबिराम पर्दा कोही छैन । सन्तान भएर पनि वृद्धवृद्धाहरू टुहुरो भए ।’ मैले भनेँ, ‘अहिले हाम्रो देशमा यस्तै छ । साह्रै दुःख लाग्छ ।’ आमाले प्रसङ्ग बदल्दै, ‘बाबु केही खाऊ, भोक लाग्यो । फेरि कुरा गराँैला’ भन्दै फोन राख्नुभयो ।
000
फेरि अर्को दिन आमालाई फोन गरेँ । आमाले फोन उठाएर भन्नुभयो, ‘बाबु कहिले आउँछौ ?’ मैले भनेँ, ‘किन र आमा ? के भयो र आमा ?’ आमाले अलि अप्ठ्यारो मान्दै भन्नुभयो, ‘डाक्टरले छोरालाई लिएर आउनुभन्यो । अलि राम्रो उपचार गर्नुपर्छ रे ।’ मैले सोधेँ, ‘आमा रिपोर्ट आयो ?’ आमाले अप्ठ्यारो मान्दै भन्नुभयो, ‘रिपोर्ट आयो बाबु, क्यान्सर भयो भन्थ्यो डाक्टरले । खोई के भएको हो बाबु ? कालले बोलायो जस्तो छ ।’ आमाको कुराले आत्तिदै भनेँ, ‘हो र आमा ?’ आमाले चिन्ता मान्दै भन्नुभयो, ‘हो नि बाबु । खोई के हुने हो ? उपचार गर्न धेरै खर्च हुने भयो ।’ आमालाई सान्त्वना दिँदै भनेँ, ‘आमा जति खर्च लागे पनि उपचार त गर्नुपर्यो । ज्यान रहे नै धन चाहिन्छ ।’
आमाले रुँदै भन्नुभयो, ‘परदेशमा मेरो बाबुले दुःख गरेको पैसा हो । खर्च गर्न मनै लाग्दैन । तिमीले पठाएको पैसामा परदेशको दुःख देख्छु । तिमीले पठाएको पैसामा तिम्रो पसिना बगेको छ ।’ मैले भनेँ, ‘आमा उपचार गर्नुपर्छ । पैसाको लोभ मान्नु हुँदैन ।’ आमाले थकित हँुदै भन्नुभयो, ‘बाबु मस्तिष्क गलेर आयो । निक्कै गाह्रो भयो, सुत्छु ।’ मैले हुन्छ आमा भन्दै फोन राखेँ । जहाँ पातलो त्यही चुहिन्छ । त्यस्तै भयो जिन्दगीमा । हुने जति जटिलता मेरै जीवनमा हुनुपर्ने । फेरि अर्को समस्या आइलाग्यो । दशा पनि कति लागेको हो । आँधीबेहरी तुफान आयो । पीडाको सागरमा डुबुल्की मारेँ । समयले कति परीक्षा लिएको होला ? कति ठक्कर दिन्छ समयले ।
आमालाई क्यान्सरजस्तो घातक रोग लाग्यो । अब कसरी बचाउँने हो ? पैसा जति काठमाडौँमा बच्चा पढाउँदै ठिक्क छ । खाडीमा खासै धेरै पैसा हँुदैन । जति कमायो उति खर्च हुन्छ । महँगीले आकाश छोएको छ । खोई कसरी आमाको उपचार गर्ने ? रातभरि निद्रा लागेन । चिन्ताको ज्वाला बलिरह्यो । अनिदोमै रात बित्यो । पुनः बिहानी भयो । श्रीमतीलाई फोन गरँे । उनले फोन उठाइन् । रुखो स्वरमा बोल्दै भनिन्, ‘एकबिहानै किन फोन गरेको ?’ मैले मलीन हँुदै भनेँ, ‘सुषमा आमा बिरामी हुनुहुन्छ । तिमी घर जाऊँ ।’ सुषमाले च्याँट्ठिँदै भनिन्, ‘तिम्री छोरीको परीक्षा छ । म तिम्री आमालाई हेरौँ कि तिम्री छोरीलाई हेरौँ ? त्यहाँ बसेर अझै अर्डर लगाउँछौ ?’ म उनको कुराले निरुत्तर भएँ ।
कल्पना खरेल