२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

ओझेलिँदै मादलको मधुर ताल, हरिरामको सीप सङ्कटमा

सत्यपाटीसत्यपाटी । गोरखा । २०८२ कात्तिक ३० गते आइतबार
गोरखा नगरपालिका–१२ दशकिलोमा विगत ३५ वर्षदेखि मादल बेच्दै आएका हरिराम कुलु ।

गोरखा सदरमुकाम नजिकै रहेको वडा नम्बर १२ को दशकिलोमा एउटा सानो आँगन बिहानको कोमल घाम छिर्न नपाउदै, एक ५० वर्षीय अधबैशेको हात बिहानदेखि तातोपानीको गागर राखेर छाला सफाईमा व्यस्त छन् । ती हात हरिराम कुलुका हात हुन् जसले ३५ वर्षदेखि मादलको आकार, ताल र आत्म गढ्दै आएका यी हात आज तीव्र चिन्ताले काँपिएका छन् ।

किनकी उनी बनाउने मादल जस्तै उनको सीप पनि समयको आँधीबेरीमा विस्तारै विस्तारै धमिलो हुँदैछ । हरिरामका लागि मादल केबल एउटा बाद्य यन्त्र मात्र होइन, जीवन धान्ने आधार हो, पुस्ताले सुम्पेको अमूल्य धरोहर हो, अनि भावनको धुन हो । सरीता मादल उद्योग नामको सानो कार्यशाला उनको जीवनभरको परिश्रम हो, जहाँ काठको सुगन्ध, छालाको स्पर्श र धुनको जन्म एकै साथ हुन्छ ।

तर अहिले त्यो कार्यशाला सुनसान छ, मात्र हाबाले ढकढकाएको पुरानो ढोकाको आवाज र अधुरो मादलमा थन्किएको धुलो । विगत पाँच वर्ष पहिलेसम्म दुईदेखि नौ हजारसम्मको मादल बनाउने हरिरामलाई अहिले ग्राहक मात्र होइन, सामग्री खोज्न नै कठिन भएको छ । पहिला जताततै पाइने खिरो काठ अब जङ्गलको गहिराइमा लुके जस्तो लाग्छ । मरेका गाई गोरुको छाला किनै दुईदेखि तीन हजारसम्म लाग्छ ।

त्यसमा इनामेल्ट पेन्ट, फलामे ढुङ्गा डोरी सबैको मूल्य छोइनसक्नु भएको छ । जसका कारण दिनभर कडा मिहेनत गर्दा समेत मूल्य बढ्यो माग घट्छ त्यस कारण उनी भन्छन्, ‘आँखामा थकान मात्रै होइन, एक किसिमको नैरासेएता झल्कन्छ ।’ एक समय गाउँका युवा, कलाकार र बुढापाका सबैको मनमा ‘स्थानीय मादल’को यति सम्मान थियो भनिसाध्यै नै छैन, उ बेला मेलापर्वमा गुञ्जिने मादलको तालले गाउँ बस्थ्यो ।

उनले सम्झिँदे भने, ‘मन खुशी हुन्थ्यो, राम्रो आम्दानी गरेर बच्चा बच्ची हुर्काउन पढाउन सहज थियो, तर अहिले शहरका बजारमा विदेशी धुनको चमक, डिजिटल ध्वनी र सस्तो विकल्पहरुले मादलको आत्मलाई नै पन्छाइदिएका छन् ।’ हरिराम कुलुले मादल बनाउँदा दिन भरको थकान पनि धुनमा हराउथ्यो । तर आजकल उनले काम सुरु गर्नु अघि आफैँलाई प्रश्न सोध्छन्, समयले मलाई छोड्दैछ कि मैलै समयलाई ?

उनको सीप जसले दशौँ वर्षसम्म संस्कृतिको जिवन्तता बोकेको थियो । अहिले भविष्यहिन यात्रुजस्तै भट्किएको जस्तो छ । उनको बिचारमा मादल हराउँदा केबल एउटा बाद्य हराउने होइन नेपाली पहिचानको स्पनदन हराउँदै जानेछ । हरिराम कुलुको मिहिनेत, परम्परा र जीवनभर बटुलेको धुनसँगै विस्तारे मौनतामा बिलाउँदैछ । यदि सम्बन्धित निकायको मादलको संरक्षण सम्वर्द्धनमा ध्यान गएन भने नेपाली सांस्कृति इतिहासका पानामा हरिरामको मादलको मधुर ताल भएको कथा मात्र बन्नेछ ।

प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार