पछिल्ला वर्षहरूमा बालबालिकालाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या उल्लेखनीय रूपमा बढ्दै गइरहेको विभिन्न तथ्याङ्कले देखाउँछ । ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालका वरिष्ठ मनोचिकित्सक डा.अनन्त अधिकारीका अनुसार बालबालिकामा चिन्ता, डर, आत्मग्लानि, डिप्रेसन, एन्जाइटी, ध्यान अभावजस्ता समस्या देखिन थालेको छ ।
त्यस्तै, सामाजिक तथा भावनात्मक असन्तुलन, निद्रासम्बन्धी समस्या, एक्लोपन, आक्रोश र व्यवहारगत विचलनजस्ता समस्या पनि देखिन थालेको हो । बालबालिकामा हुने र ठूला मानिसमा हुने एन्जाइटी र डिप्रेसनका लक्षण फरक हुने अधिकारी बताउँछन् ।
उनका अनुसार बच्चा झगडालु हुने, खाना खान नमान्ने, निद्रामा समस्या हुने, चकचकेपन बढ्ने, विद्यालय जान नमान्ने, साथीहरूसँग नघुलमिलिने वा एक्लै बस्न खोज्ने जस्ता सङ्केतहरू डिप्रेसनका लक्षण हुन सक्छन् । यस्तै एन्जाइटी भएका बालबालिकामा डरत्रास, राति नसुत्ने, विद्यालयमा बेहोस हुने वा अत्यधिक चिन्तित हुने जस्ता समस्या देखा पर्छन् ।
त्यस्तै, सामान्यतया ठूला मानिसमा भने निराशा, नरमाइलोपन, दिक्दारीजस्ता लक्षण हुन्छन् । यस्ता सङ्केतहरू बच्चाको सामान्य व्यवहारमा परिवर्तन देखिएपछि सहजै पहिचान गर्न सकिने उनी बताउँछन् । ‘धेरैजसो अभिभावकले सामान्य लक्षण देखिँदा उमेर अनुसारको स्वाभाविक व्यवहार ठान्नुहुन्छ,’ उनी भन्छन्, ‘तर समयमै पहिचान र सही उपचार नपाए दीर्घकालीन असर पर्न सक्छ ।’
डा. अधिकारीका अनुसार बालबालिकामा मानसिक समस्या उत्पन्न हुनुका पछाडि पारिवारिक, सामाजिक र प्रविधिमूलक कारणहरू पनि जिम्मेवार छन् । घरमा लगातार झगडा, अभिभावकसँग बच्चाका लागि समय अभाव, पढाइको बोझ, बढ्दो प्रतिस्पर्धा, सामाजिक दबाब, मोबाइल र इन्टरनेटको अत्यधिक प्रयोग तथा भिडियो गेमको लतजस्ता कुराले बालबालिकाको मानसिक अवस्थामा नकारात्मक प्रभाव पार्ने जोखिम हुन्छ ।
‘जब बच्चाले आफ्ना कुरा सुनिदिने र बुझ्ने वातावरण पाउँदैन, तब उसमा चिडचिडेपन, एक्लोपन, डर वा रिसाहा व्यवहार देखा पर्न सक्छ,’ उनी भन्छन्, ‘बालबालिकालाई दिइने उपचार सधैँ उमेरअनुसार, संवेदनशील र दीर्घकालीन सोचका साथ हुनुपर्छ ।’ प्रारम्भिक चरणमा काउन्सिलिङ, व्यवहारगत उपचार, खेल थेरापी, चित्रकला वा सङ्गीत थेरापी, परिवार तथा शिक्षकहरूसँगको सहकार्यबाट समस्या समाधान गर्न सकिन्छ ।
जटिल अवस्थामा औषधि आवश्यक पर्न सक्छ, तर वातावरणमै सुधार ल्याउनु दीर्घकालीन रूपमा बढी प्रभावकारी हुने उनी बताउँछन् । बालबालिकाको मानसिक स्वास्थ्यका लागि अभिभावक र शिक्षकको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उनी बताउँछन् । बालबालिकाको व्यवहारमा सामान्यभन्दा फरक कुरा देखिएमा तुरुन्तै विशेषज्ञको सल्लाह लिनु उनी सुझाव दिन्छन् ।
उनका अनुसार बालबालिकासँग नियमित संवाद गर्नु, उनीहरूको भावना बुझ्ने प्रयास गर्नु, माया र साथ दिनु, पढाइ र अनुशासनबीच सन्तुलन कायम राख्नु आवश्यक छ । सुझाव दिँदै डा.अधिकारी भन्छन्, ‘बाल्यकाल व्यक्तित्व विकासको आधार हो, त्यसैले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढ्न सक्नुपर्छ । यो आजको समयको आवश्यकता हो ।’