२०८३ असोज ५ , सोमबार 21, September 2026, Monday

देशका विभिन्न राजमार्गमा पहिरो र बाढीको असर

देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुख्य राजमार्गहरूको यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै विभिन्न सडक खण्डमा भएको अवरोध र सञ्चालनको अवस्थाबारे जानकारी दिएको हो ।

कोशी प्रदेशअन्तर्गत सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका–४ स्थित नेता भिरमा असोज २ गते बिहान १०ः३० बजे पहिरो जाँदा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक खण्ड अहिलेसम्म खुल्न सकेको छैन । यसैगरी बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी र पहिरोका कारण सडक आवतजावतमा असर परेको छ ।

काभ्रे जिल्लाको वि.पि. राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीलाई ध्यानमा राख्दै असोज १६ गतेदेखि विशेष व्यवस्था लागू गरिएको छ । साँझ १९ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सडक बन्द रहने र बिहान ०४ः०० बजेदेखि साँझ १८ः०० बजेसम्म परिस्थिति हेरेर १० टनसम्मका मालवाहक सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएको छ ।

रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू भदौ १० गते बिहान १०ः३० बजेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोलामा असोज ०१ गते राति २२ः०० बजेदेखि सम्भावित बाढी र पहिरोको जोखिमका कारण टोखा छहरे सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । यस्तै पसाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटारमा असोज ०१० गते बिहान १०ः३० बजे बाढी आएका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

धादिङ जिल्ला भएर जाने पृथ्वी लोकमार्गमा भने पहिरो हटाई यातायात एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाडखोलामा भदौ १६ गते र शीतलबजारमा भदौ २६ गते गएको पहिरो साफ गरी सडकलाई एकतर्फी सुचारु गराइएको छ । सडक विभाग र प्रहरी टोली अवरुद्ध सडकहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन निरन्तर खटिरहेका छन् ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार