काका भतिज मज्जैले गफियौँ । कालो रात लम्किरहेको थियो । माघ महिनाको चिसो सिरोटोले लगलगी कमाउँदै थियो । समय बदलियो, दिन बदलियो, पलहरू बदलिए, सासूबुहारीको वैमनस्य बदलिएकै छैन । दुवैको मुहार उज्यालो छैन । घोप्ट्याएको हाँडीको पिँध जस्तो देखिन्छ मुहार । दुवै सासूबुहारी मुख फुलाएर बसेका छन् । दुवैको मुहारमा पीडा छ, कुण्ठा छ । तर के कारण पत्तै छैन । कुनै इसु नै छैन । दुवैबिचको असहजकर्ता म बिचरो । असहजताको ज्वालामा फसिरहेको छु । मैले श्रीमतीलाई भनेँ, ‘सुषमा खाना खाऊँ न ।’ श्रीमतीले झर्किदै भनिन्, ‘तिमी नै खाऊ, म त खान्नँ ।’
मैले नम्र हँुदै भने, ‘किन सुषमा खाना नखाने ? त्यो खानको के दोष छ र ?’ श्रीमतीले भनिन्, ‘तिम्री आमाको गालीले पेट भरिएको छ । के खानु खाना ?’ म उनका कुराले बेजवाफ भएँ । फेरि आमालाई भने, ‘आमा खाना खाएर सुत्नु ।’ आमाले भन्नुभयो, ‘तेरी जोईको वचनबाणले अघाएकी छु । किन भात खानुप¥यो र ?’ चुलामा भात पाकेर कठ्याङ्ग्रिएको छ । पाकेको खानको के दोष थियो र ? त्यो भात कसैले पस्किन पनि चाहेनन् । सिङ्गै भातको कुकरले चुलो कुरेर बस्यो । श्रीमती र आमाले नखाएपछि मैले पनि खाइनँ । मान्छे मरेको घर जस्तै क्षेत्रोपवास बसियो ।
भोको पेटमा निद्रै लागेन । मनमा अनेक कुरा खेले । निद्रा हराम भयो । कालो रात जागराम रह्यो । घरमा अशान्ति मच्चियो । नकारात्मक भावले उग्र भयो । पला, घडी, गर्दै रात बित्यो । नवबिहानी भयो । चारैतिर सूर्यको उज्यालो छरियो । पन्छीहरू खुसी हुँदै बात मार्दै थिए । नवदिनले स्वागत गरिरहेको थियो । परिवर्तनशील समय परिवर्तित हँुदै थियो । आमा र श्रीमतीको अनुहारमा हेर्दा काली चण्डीको रूप देखेँ । मुख बाराबार, बोलीचाली बन्द थियो । दुवै मुख फुलाएर बसेका थिए ।
क्रोध र अहङ्कार भरिएका देखिन्थे । दुवै सोच्छन्, मेरा गोरुको बाहै्र टक्का । सासु सोच्छन् आफैँ मात्र ठिक छु । बुहारी पनि सोच्छिन् आफैँ मात्र ठिक छु । मैले आमालाई सम्झाउँदै भनेँ, ‘आमा अहिलेका बुहारीहरू यस्तै हुन् । सासूले पनि अलि उदार हुनुपर्छ । जमाना परिवर्तन भइसक्यो । तपाईंहरूको पालामा जस्तो छैन आमा ।’ आमाले बम्किँदै भन्नुभयो, ‘म त्यो झुत्रीका लागि उदार हुने ? के कुरा गरेको तैँले ? म कस्ताकी छोरी तँलाई थाहा छैन ? म ठुली कि, त्यो ठुली ? सासूको स्थानमा मानभाउ राखेकी छे र ? त्यो झुत्रीसँग म डराउँछु र ? त्यसले झुक्नुपर्छ । उही नै मेरो पाउमा पर्नुपर्छ । मैले श्रीमतीलाई भनेँ, ‘सुषमा तिमी नातामा पनि सानु आमासँग सरी भन ।’
श्रीमतीले चड्किँदै भनिन्, ‘अझ त्यो बुढीलाई मैले सरी भन्ने, तिमीलाई लाज लाग्दैन । त्यो बुढीले गर्छे मन परी, अझै सरी भन्ने रे । जुन रुखको बोक्रो उही रुखमा टासिन्छ भन्थे हो रहेछ । जस्ती भए पनि आफ्नै आमाको पक्ष त लिने नै भए ।’ सम्झौता निष्कर्षविहीन भयो । बिचमा म निकम्मा न्यायाधीश भएँ । टाउकामा हात राखेर आफैँलाई धिक्कारेँ । हरे शिव कोहीभन्दा कोही कम छैन । तराजुमा जोख्दा बराबर छन् सबै । म बिचरो कसको पक्षमा लागौँ ? हे भगवान कस्तो परीक्षा लियौ ?
०००
घरमा अशान्ति र कलह चुलियो । न मर्नु न बाँच्नु, शान्तिले जिउनु सपना जस्तो लाग्यो । कसलाई त्याग्नु, कसलाई अँगाल्नु ? रातभरिको भोको, अनिदो, अशान्ति भयो । बिहानको नौ बज्यो । अफिस जाने बेला भयो । भान्सामा पसँे, त्यही चिसो भात फ्राई गरेँ । जति रुच्यो उति खाएँ र अफिसतिर लागेँ । बैङ्कको जागिर कामको पेलान थियो । सेवाग्राहीको लामो लाइनमा थिएँ । एक एक गर्दै चेक लिँदै चेकमा साइन गर्दै स्ट्याम लागाएर पैसा दिँदै थिएँ । हात चाहिँ चेक र पैसाको बिटोमा थियो । मस्तिष्क चाहिँ घरको कलह झगडामा केन्द्रित थियो । त्यतिकैमा गार्डले भने, ‘सञ्जय सर, मेनेजर साबले बोलाउनुभएको छ ।’
सबै काम अलपत्र राखेर मेनेजरको अफिस कोठामा पुगेँ । नमस्कार गरें । मेनेजरले नमस्कार फर्काउँदै भने, ‘बस्नुस् सञ्जयजी । म थचक्क अगाडिको सोफामा बसेँ । मेनेजरले हुकुम चलाउँदै भने, ‘भोलि माथिबाट निरीक्षण आउँदै छ । राम्रोसँग हिसाब किताब राख्नू । केही दिनदेखि हिसाब मिलिरहेको छैन । कहाँनिर मिस्टेक भएको छ । तपाईंको ध्यान पनि काममा भन्दा अन्तै देखिन्छ । के भएको छ सञ्जयजी ? बैङ्कको काम त सिरियस भएर गर्नुपर्यो नि । नत्र त डुबिन्छ ।’
हाकिमको कुरामा मौन भएँ । ‘हवस् सर’ भन्दै उठेँ । पुनः गएर काउन्टर क्यासमा बसेँ । चेक लिने, पैसा दिने काम निरन्तर चल्यो । पानी पिउने फुर्सद छैन । खाजा खानु त परै जाओस् । अत्यन्त व्यस्त सरकारी बैङ्क । दिनभरि व्यस्त भएर साँझ घर फर्कें । घर आउँदा श्रीमतीले प्रश्न गर्दै भनिन्, ‘किन ढिला आएको ?’ मैले भनेँ, ‘व्यस्त भएर ढिला भयो ।’ उनले च्याँठिदै भनिन्, ‘कसैको नभएको तिम्रो अफिस ? सधैँ व्यस्त व्यस्त तिमीलाई मेरा लागि समय छैन ? तिम्री आमाले दिमाग खराब गर्ने । तिमी सधैँ व्यस्त हुने । म कसरी बस्नु यस घरमा ?’
मैले श्रीमतीलाई सम्झाउँदै भनेँ, ‘बैङ्कको काम त्यस्तै हो । नरिसाऊ न सुषमा ।’ श्रीमतीले अझै रिसाउँदै भनिन्, ‘कसैको नभएको तिम्रो अफिस रातिसम्म काम हुने । खोई कस्तो अफिस हो ?’ मैले उनलाई समयको हिसाब बुझाउँदै भनेँ, ‘अर्को दिन पाँच बजेसम्म क्यासमै व्यस्त भएँ । बेलुकी हिसाब मिलाउँदा हिसाब नै मिलेन । माथिबाट निरीक्षण आएको थियो । हिसाब जस्ताको तस्तै देखाउँनु पर्ने थियो । रातिसम्म हिसाब मिल्दै मिलेन ।’ त्यस दिन काम त्यत्तिकै थाती राखेर घर फर्कें । अर्को दिन पनि रातिको नौ बजिसकेको थियो । घर पुग्नासाथ श्रीमतीले भनिन्, ‘दिनदिनै ढिला आउँछौ । के छ तिम्रो चक्कर ? कोसँग तिम्रो चलिरहेछ ? चालामाला ठिक छैन ।’
तनाबग्रस्त मुडमा मैले भनेँ, ‘कुरा बुझ न यार । कति शङ्का गछ्र्यौ ? माथिबाट निरीक्षण आएका छन् । हिसाब मिलिरहेको छैन ।’ श्रीमतीले फेरि झर्किदै भनिन्, ‘कसैको नभएको तिम्रो अफिस । कहिल्यै समयमा आउनु छैन ।’ मैले श्रीमतीलाई बुझाउँदै भनेँ, ‘बैङ्कको जागिर यस्तै हो । पैसाको कारोबार हुन्छ । हिसाब राम्रो राख्नुपर्छ । हिसाब मिलेन भने आफैँले तिर्नुपर्छ । अझै तीन पुस्तेसम्मले तिर्नुपर्ने नियम छ । त्यति सजिलो कहाँ छ र ?’ श्रीमतीले अबुझ हुँदै भनिन्, ‘राति ढिला घर फर्किने अझै अनेक बहाना बनाउने ?’
निर्दोष मैले आफैँभित्र कुण्ठित हुँदै टाउकामा हात राखेर भनेँ, ‘जिन्दगी कति गाह्रो छ । दिनभरि सेवाग्राहीलाई राम्रो सेवा दिनुपर्यो । अफिसमा पैसाको हिसाब बुझाउनुपर्ने । घरमा समयको हिसाब बुझाउनुपर्ने । उता हाकिमको पनि चित्त बुझाउनुपर्यो । यता श्रीमतीको चित्त बुझाउनुपर्यो । आमाको गन्थन छुट्टै छ । हरे शिव के गराँै ? श्रीमतीले चर्को स्वरमा भनिन्, ‘मर्द भएर टाउकोमा हात राखेर बस्न मिल्छ र ? अब त बाउ बन्नेवाला छौ झन् के गर्छौ ? अझै जिम्मेवारी थपिँदै छ । मैले भने, ‘जिम्मेवारीसँग डराएको होइन । अन्डरस्ट्यान्डिङ हुनुपर्यो मानिसमा ।’
श्रीमतीले भनिन्, ‘ल ल भइगो भोलिदेखि छिटो घर आऊ । त्यत्तिकैमा आमा कराउँदै आउनुभयो, ‘तँलाई आमा के छ भनेर बोलाउने फुर्सद छैन । आफ्नी जोई भए पुगिहाल्छ । अब आमा किन चाइयो ? हातगोडा लागाइदिएँ । शिक्षादीक्षा दिलाएँ । बिहेदान गरिदिएँ । अब आमाको महत्व घट्यो ।’ मैले आमालाई बुझाउँदै भनेँ, ‘आमा त्यस्तो होइन । आजभोलि अफिसमा व्यस्त हुन्छु । घर आउँदा राति हुन्छ । थाक्छु भुसुक्कै निदाउँछु । आजभोलि ओभरटाइम मेरो ड्युटी छ । कुरा बुझ्नु न आमा ।’
यता तपाईंकी बुहारी पनि रिसाउँदैछे, ढिलो घर आयो भन्दै गुनासो गर्दैछे । आमाले थनथनाउँदै भन्नुभयो, ‘ल ल जेसुकै गर । म त गएँ सुत्न ।’ श्रीमतीले खाना पस्किँदै भनिन्, ‘हेर न यो बुढीलाई कति चियोचर्चो । छोराबुहारी के गर्दै छन् भनेर चियो गर्न आएकी बुढी ।’ मैले श्रीमतीलाई सम्झाउँदै भनेँ, ‘यस्तै हो सुषमा बुढाबुढीको बानी रिसाउनु हँुदैन । तिमी अहिलेको मानिस त कुरा बुझ्दिनौ । आमाको त के कुरा गर्नु ?’ श्रीमतीले झोक्किँदै भनिन्, ‘आजभोलि तिमीमा चेन्ज आएको छ । पक्कै तिम्रो बाहिर केही चक्कर छ ।’ मैले टाउको मुसार्दै भनेँ, ‘ए बाबा कस्तो शङ्कालु होला यो आइमाइको जात ?’
फेरि श्रीमतीले गुनासो पोख्दै भनिन्, ‘घर राति भएपछि आउने, गर्भ अवस्थाकी श्रीमतीलाई समय नदिने । केही भन्यो, बोल्दा झोँक्किएर बोल्ने । दाल मे काला हे, केही त छ यो मान्छेको ।’ मैले रिसाउँदै भने, ‘हो हो छ मेरो । जति भने पनि विश्वास नलाग्ने यो आइमाईलाई । कसरी सफाई दिऊँ ?’ श्रीमतीले झनै रिसाउँदै भनिन्, ‘लोग्ने मान्छेको जात कति स्वार्थी । श्रीमतीको भारी ज्यान हँुदा झन् कियर गर्नुपर्ने । सर्पले काँचुली फेरेको जसरी यो मान्छेको रूप नै बदलियो ।’ मैले पनि रिसाउँदै श्रीमतीसँग भनेँ, ‘किन अनावश्यक कुरा गछ्र्याै ? यो घरमा कहिल्यै शान्ति छैन । यो आइमाईको जातलाई कसरी विश्वास दिलाउँने सधैँको कचकच, कसरी सहने ।’
श्रीमतीले इमोसनल हुँदै आँखाभरि आँसु निकाल्दै भनिन्, ‘केही बोल्नु हँुदैन आजभोलि त । खोई के भएको छ यो मान्छेलाई ?’ मैले श्रीमतीसँग असन्तुष्टि जनाउँदै भनेँ, ‘तिम्रो मनस्थिति नै साँघुरो छ । अनावश्यक कुरा मात्र दिमागमा खेल्छ ।’ श्रीमतीले भनिन्, ‘तिमी नै छौ राम्रा, जो चोर उसकै ठुलो स्वर ।’ मैले भनँे, ‘विनाकारण पारो नतताऊ सुषमा । झगडा गर्न माहिर छौ । फराकिलो सोच बनाऊ न । यो आइमाईको जातलाई चित्तै बुझाउन गाह्रो । विश्वास दिलाउन नसकिने । हनुमान भए छाती खोलेर देखाउने थिएँ । श्रीमतीले मुख फुलाउँदै भनिन्, ‘ल ल खाना खाऊ । पस्किएको खाना चिसो भइसक्यो ।’ मैले भने, ‘के खाना खानु ? तिम्रो तितो वचनबाणले पेट भरियो ।’
श्रीमतीले भनिन्, ‘सँगै खाना खान पर्खिरहेकी छु । धेरै कुरा नगर ल सँगै खाना खाऊँ ।’ दुवैसँगै बसेर खान लाग्यौँ । थकित मुडमा थिएँ । उनी भान्सामा राखनधरन गर्दै थिइन् । म कोठामा गएँ, अफिसको ड्रेस फेरेँ । नाइट ड्रेस लगाएँ । घुप्लुक्क सुतेँ । कुम्भकर्ण जस्तै भुसुक्कै निदाएछु । निद्रादेवीले अचेत अवस्थामा पुर्याइन् । भोलिपल्ट बिहान ब्युँझिएँ । श्रीमतीले गुनासो गर्दै भनिन्, ‘आजभोलि मेरो मतलब नै छैन । माया गर्दै गर्दैनौ । अफिस र सुत्न पाए हुन्छ तिमीलाई । बेलुकी म भान्साबाट कोठामा आउँदा मस्त निद्रामा थियौ । आजभोलि मोजमस्ती बाहिर हुन्छ होला ? त्यसैले घरमा केही मतलब छैन ।’
मैले श्रीमतीलाई भनेँ, ‘बिहानै दिमाग नचाट न, थकित मुडमा थिएँ । भुसुक्कै निदाएँ । श्रीमतीले अझै अबुझ हुँदै भनिन्, ‘पेटमा बच्चा आएदेखि परिवर्तन भयौ । पुरुष त साँच्चि नै भँमरा नै हुन् । फूलको रस हुँदासम्म झुम्मिने । रस सकिएपछि अर्को फूलमा चर्ने ।’ मैले भनेँ, ‘सुषमा तिम्रो भ्रम हो । अनेक शङ्का नगर न । तिम्रो बुढो अर्काको हुन सक्छ र ? अनेकौँ शङ्कामा नफस । आफैँलाई दुःख हुन्छ । मलाई पनि शान्तिले बाँच्न देऊ । मेरो गोरुको बाह्रै टक्का जस्तै गरेर भनिन्, ‘हो हो मलाई थाहा छ । पानीमाथिको ओभानो नबन । सर्पले काँचुली फेरेको जस्तो स्वरूप फेर्दा रहेछन् पुरुषले । सुरुमा नयाँ हुँदासम्म के के नै जस्तो चाट्ने । पुरानु हँुदै जाँदा रस चुसेको खोस्टा जस्तै गर्ने ।’
मैले श्रीमतीलाई नरम हँुदै सम्झाउँदै भनेँ, ‘त्यस्तो होइन सुषमा । अफिसको व्यस्तता छ । सत्य कुरा बुझ न । कति तनाब हुन्छ ।’ श्रीमतीले भनिन्, ‘कसैको नभएको तिम्रो अफिस । परिवारलाई टाइम दिनुपर्छ भन्ने थाहा छैन तिमीलाई ?’ मैले उनको प्रश्नको उत्तर दिँदै भनेँ, ‘थाहा छ, के गर्नु यस्तै व्यस्त अफिस पर्यो । कामले फुर्सद हुँदैन ।’ श्रीमतीले भनिन्, ‘व्यस्त छु भनेर जति आँखा छले पनि भयो । व्यस्तताको बहाना बनाएर झुक्याउँन कति सजिलो ?’ उनको कुराले दिक्क मान्दै भनेँ, ‘कति अबुझ हुन्छ्यौ सुषमा । एकाबिहानै झगडा नगर न । तिमी त अग्निपरीक्षा नै लिन्छ्यौ मेरो । म कसरी तिमीलाई विश्वास दिलाऊँ ? शङ्काले लङ्का पुर्याउँछ । आजैदेखि शङ्का गर्ने बानी छोड ।
मेरो हातको मोबाइल खोस्दै उनले भनिन्, ‘म तिम्रा हरेक गतिविधि हेर्छु । तिम्रो असली स्वरूप पत्ता लगाउँछु ।’ मैले भनँे, ‘पत्ता लगाऊ न त ।’ उनले मोबाइल चेक गर्दै भनिन्, ‘सुमित्रा भन्ने को हो फोन गर्ने ?’ मैले उत्तर दिँदै भनेँ, ‘हाम्रो बैङ्कमा प्राक्टिकल गर्न आउने विद्यार्थी हुन् । अफिसको कामले फोन गरेकी थिइन् ।’ फेरि रिसाउँदै भनिन्, ‘के काम थियो ?’ मैले उनलाई उत्तर दिँदै भनेँ, ‘अफिसको सोधपुछ गर्ने काम पर्छ नि । कस्तो कुरा नबुझेको । कस्तो शङ्कालु स्वाभाव हो तिम्रो त ।’ उनले अझै रिसाउँदै भनिन्, ‘बुझेँ मैले तिम्रो सोधपुछ ।’ मैले रिसाउँदै भनेँ, ‘के बुझ्यौ ?’ उनले पनि रिसाउँदै भनिन्, ‘जुन बुझ्नुपर्ने कुरा बुझेँ ।’ मैले रिसाउँदै भनेँ, ‘सुषमा विनाकारण बिहानै झगडा नगर । अनायासै दिमाग खराब गरिरहेकी छ्यौ ।’
कल्पना खरेल