आज सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तर, आज लाग्ने भनिएको सूर्यग्रहण नेपालबाट भने देखिने छैन । समितिले सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार नेपालमा यसको कुनै सुतक नलाग्ने जनाएको छ ।
धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन छ । आज लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिका लगायत देशबाट मात्र देखिने छ ।
गएको भदौ २२ गते राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ । चन्द्रमा, पृथ्वी र सूर्य एउटै सरल रेखामा हुँदा चन्द्र र सूर्य ग्रहण लाग्ने गर्छ । जब पृथ्वीको छायाँमा चन्द्रमा पर्छ, तब हामी चन्द्रग्रहण लागेको देख्छौँ ।
त्यसैगरी चन्द्रमाको छायाँ जब पृथ्वीमा पर्छ, तब सूर्यग्रहण लागेको देखिन्छ । चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीवासीले एकैपटक चन्द्रमालाई देख्न सक्छन् । तर, सूर्यग्रहणमा भने पृथ्वीका केही मानिसले मात्र ग्रहणको अनुभव गर्छन् । धेरै मानिसले ग्रहण लागेको देख्न नै पाउँदैनन् ।
वैज्ञानिकहरूका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर गर्दैन । तर, सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । आगामी फागुन १९ गते फागु पूर्णिमाका दिन पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने यस वर्षको पञ्चाङ्गमा उल्लेख छ ।
सत्यपाटी