एउटै टोलका दुई विद्यार्थी सहिद भएपछि नेपालगन्जको धम्बोझी अझै पनि शोक छाएको छ । भदौ २३ गतेको रातिदेखि स्थानीयबासी न त राम्ररी सुत्न सकेका छन्, न त मन खुलेर खानपिन गर्न सकेका छन् । जेनजी आन्दोलनका क्रममा प्राण गुमाएका दुई सहिदका परिवारले अब देशमा कहिल्यै यस्तो त्रासदी दोहोरिन नदिन सरकारलाई आग्रह गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीका २३ वर्षीय सुलभराज श्रेष्ठ र १९ वर्षीय आयुष थापाको परिवारले संयुक्त स्वरमा राजनीतिक नेतृत्व लिनेहरूसँग आग्रह गर्दै भने, ‘हाम्रो काख त रित्तियो, तर अब कुनै पनि विद्यार्थी वा युवाले अनाहकमा ज्यान गुमाउन नपरोस् । हामीलाई परेको पीडा अब कसैलाई नपरोस् । देशमा सुशासन कायम होस्, भ्रष्टाचार सधैँका लागि अन्त्य होस् ।’
धम्बोझीका बासिन्दा रमेश मल्लले भने, ‘टोलका हरेक घरमा पीडा छाएको छ, यो घटना अकल्पनीय भयो, बिनाकारण टोलका दुई जना होनहार युवाको मृत्युवरणले टोलवासी पीडाले र असह्य बनेका छन् । सहन मुश्किल भइरहेको छ ।’ सुलभका बुवा नरेन्द्र श्रेष्ठले पढाइमा अब्बल रहेको छोरा शुलभराज श्रेष्ठलाई इन्जिनियर बनाएर देशको सेवामा लगाउने सपना बुनेको भए पनि सपना बिचैमा चुडिएको बताए ।
इन्जिनियरिङ स्नातक पूरा गरेर स्नातकोत्तर पढ्न तयारीमा रहेका छोरा सुलभले बेला बेला यही देशमा बसेर केही गर्ने सपना बाँड्ने गरेको पनि उनले स्मरण गरे । सुलभका बुवा नरेन्द्रले भने, ‘हाम्रो चाहना पूरा गर्ने क्रममा छोरोले देशकै चाहना पनि पूरा होस् भन्ने सपना देखेको थियो तर आन्दोलनले हाम्रा सबै सपना चकनाचुर पारिदियो ।’
सुलभका ठुलोबुवा राजन श्रेष्ठले भने, ‘हाम्रो परिवार त सखाप भयो, भयो । यति ठुलो घटना भएपछि अब सरकारमा बस्नेहरू सचेत र संवेदनशील बन्नुपर्ने हो । हाम्रै जीवनमा कति आन्दोलन देखिरहनुपर्ने र कतिका आँसु झरेको हेर्नुपर्ने हो ? अब राजनीतिक दलका नेताहरूले सुध्रिनुपर्ने हो ।’
बाकसमा फर्किए आयुष
अर्का सहिद आयुष थापाकी आमा पुनम थापा अझै आघातबाट बाहिर आउन सकेही छैनन् । एक मात्र छोरालाई पढ्न फ्रान्स पठाउने तयारीमा थिए, तर यो आन्दोलनमा छोराले मृत्युवरण गरेपछि उनी मुच्र्छित हुनुभएको छ । पुनमले भक्कानिँदै भनिन्, ‘भदौ २७ गते फ्रान्स जाने भनेर काठमाडौँ हिँडेको छोरो, चार दिनअघि आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर बाकसमा फर्कियो । अब कसरी, कसको सहारामा बाँच्ने ?’
आयुषको इच्छा पढाइ सकेर नेपाल फर्केर समाजमा केही योगदान दिने थियो तर त्यो सपना पनि सँगै चकनाचुर भयो । सहिद घोषित सुलभ र आयुषका परिवार, आफन्त र स्थानीयवासी सबैको एउटै माग छ, ‘अबका पुस्ताले कहिल्यै अनाहकमा प्राण गुमाउन नपरोस्, देशमा सुशासन कायम होस् र भ्रष्टाचारको जरा नै उप्कियोस् ।’
सत्यपाटी