२०८२ भदौ ३० , सोमबार 15, September 2025, Monday
उपन्यास अंश

‘गृहस्थ जीवन’ कैदीको जेलभन्दा पनि महाजेल

महिलाहिंसा अर्थात् घरेलु हिंसाको कुरा चर्किरहँदा पुरुषमाथिको मानसिक हिंसा कसले बुझ्ने ? अप्रत्यक्ष सूक्ष्म रूपमा हुने हिंसा कसरी देखाउनु ? न्याय खोज्न कुन अदालतमा जानु म पुरुष ?
कल्पना खरेल
कल्पना खरेल । उपन्यासकार
२०८२ भदौ २ गते सोमबार

आमाले छोरीहरू बोलाउनुभएछ । नजिक भएका दिदीबहिनी आएका रहेछन् । घरमा एक किसिमको मिटिङ हुँदै रहेछ, छोरा र बुहारीको विषयलाई लिएर ।

म घर पुग्नासाथ दिदीबहिनीले सोधे, ‘खोई सुषमा ?’

मैले भनेँ, दिदी, उनले अझै केही दिन माइती बस्छु भनिन्, केही दिन माइती बसेर आउँछिन् ।’

दिदीले भनिन्, ‘माइती बस्नेले किन बिहे गर्नु ? घरमा आमा एक्लै हुनुहुन्छ । घरधन्दा गर्ने कोही छैन । बुढी भएकी सासूको कुनै मतलब छैन ।’ दिदीको कुरामा म बेजवाफ भएँ । आफूभन्दा ठुली दिदी केही भन्न पनि अप्ठ्यारो । आमाले भान्सामा गएर दिदीको कानमा खुसुक्क भनिन्, ‘के कुरा गर्ने नानी, स्वास्नीको कुरा काट्नै सक्दैन । छोरा त जोइटिङ्ग्रे भयो ।’

आगोमा घिउ थप्दै दिदीले साउती पारामा भनिन्, ‘आमा यस्ती बुहारी के काम ? भाइलाई फकाएर यसलाई छुटाउनुपर्छ ।’ आमा र दिदी खस्याकखुसुक गर्दै थिए । म उहाँहरूको नजिक पुगेँ । मुखामुख गरेर दुवै जना मौन भए ।

यतिकैमा आमाले खाना खान बोलाउनुभयो, ‘बाबु खाना पस्केँ आऊ ।’ म भान्साको डाइनिङमा बसे । मस्यौराको झोल तरकारी र भात आमाले थालमा पस्किनुभयो । जाडोमा तातो तरकारीको झोल र भात खाँदै थिएँ । आमाले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, ‘बाबु, ससुरालीमा मिठो खायौ होला ? घरको झोल र भात मिठो भएन कि ?

आमाको व्यङ्ग्यात्मक शैलीको उत्तर दिँदै भने, ‘आमा सधैँ त हजुरले पकाएको खाँदै आएकै छु नि अहिलेसम्म । ससुराली त भर्खर बनेको त हो । आमा त आमा नै हो । आमाको ठाउँ कसैले लिन सक्दैन ।’ यति भन्दै हात चुठेँ । हतार हतार गरेर अपिसको ड्रेस लगाउँदै थिए । भान्सामा आमा र दिदीको फेरि गन्थन सुरु भयो । आमा र दिदीको सुस्त गन्थन मेरो कानमा पर्यो ।

दिदीले भनिन्, ‘आमा, भाइ पनि पहिले जस्तो छैन । बिहे गरेपछि अर्कै भयो ।’

आमाले भन्नुभयो, ‘हो नि नानी, त्यो डङ्किनीले के गरी के गरी मेरो छोरालाई । पहिलाको जस्तो छँदै छैन । भए नभएको कुरा लगाउँछे । मेरो छोरालाई आफ्नै प्यावा बनाएकी छे ।’

दिदीले भनिन्, ‘जसरी पनि यो केटीलाई भाइदेखि टाढा राख्नुपर्छ ।’

आमाले भन्नुभयो, ‘नानी, कसरी यो योजना पूरा गर्ने होला ?’ यस्तै यस्तै गन्थन हुँदै थिए । मैले सोचेँ यी आइमाईहरूको गन्थानमा लाग्नु हुँदैन । अफिसतिर लागेँ । आमा र दिदीको मिटिङ जारी नै थियो । दिउँसोपख दिदीले फोन गरिछन् सुषमालाई । दिदीले फोन गरेर भनिछन्, ‘सुषमा माइती नै बस्ने भए तिमीले आफ्नै सुर गर । मेरो भाइले आफ्नै सुर गर्छ ।’ यस्तै नाना थरी कुरा भए । भाइ र बुहारीको सम्बन्ध बिगार्न दिदीको भूमिका राम्रै रह्यो ।

म अफिस पुगेँ, ‘उही व्यस्तता बैङ्कको जागिर । क्यासमा बस्नुपर्ने । सरकारी बैङ्क अति व्यस्त थियो । सिरियल बाईज सेवाग्राही उभिरहेका थिए । पैसाको बिटोमा मेरा हात चल्दै थियो । चेक लिँदै थिएँ, साइन, छाप लगाउँदै, पैसा दिँदै थिएँ । एक एक गर्दै पालै पालो भिडलाई सेवा दिँदै थिएँ । फोनमा किरिङ किरिङ घन्टी बज्यो । यसो फोनको स्क्रिनमा नजर पुग्यो । कलिङ सुषमा । फोन उठाउने फुर्सद छैन । बैङ्कको भिडभाड तँछाड मछाड गर्दै थिएँ ।

बैङ्क सर्भिस ढिला भयो भन्दै गुनासो पोख्दै थिए सेवाग्राहीहरू । लगातार फोनको घण्टी बज्दै थियो । पैसा गन्दा गन्दै रोकेर फोन उठाएँ । ‘हेल्लो’ भने । श्रीमतीले गुनासो राख्दै भनिन्, तिम्री दिदीको फोन आएको थियो । तिम्री दिदी उल्टासुल्टा कुरा गर्छिन् । माइत बस्दा पनि सुख छैन । मैले भनेँ, ‘सुषमा मलाई पिसाब फेर्न समेत फुर्सद छैन । कसरी तिम्रो कुरा सुनौँ ? बैङ्कमा भिड छ । पछि कल गर्छु ।’

श्रीमतीले अबुझ हँुदै रिसाउँदै भनिन्, ‘तिमीलाई तिम्री आमा र दिदीको कुरा सुन्न मात्र फुर्सद हुन्छ । मेरो कुरा सुन्न पटक्कै मन छैन । मैले यतिकैमा फोन राखेँ । हातले पैसाको बिटो गन्दै छु । मन मस्तिष्क सुषमाको कुराप्रति केन्द्रित भयो । सोचेँ, कति गाह्रो यी आइमाईहरूको कुरा । आपूmलाई एकछिन् फुर्सद छैन । पैसाको कारोबार हिसाब राम्रो राख्नुपर्छ । सानो मिस्टेक भयो भने आफैँले बिहोर्नुपर्छ । अफिसमा मेनेजरको पेलान छ । हाकिमले कहिले के भएन, कहिले के मिलेन भन्छन् ।

०००

दिनभरिको व्यस्तता सकेर घर फर्कें । दिदीबहिनी आमाको मिटिङबाट खोई के के पारित भएछ । आमाले भन्नुभयो, ‘बाबु यो बुहारीले घर खाँदिन । यो बुहारीको कामै छैन । जतिखेर पनि माइत बस्न मन गर्छे । नसोधी घरबाट निक्लेर हिँडी, के गर्नु यस्ती बुहारी ? अब तिमी लिन पनि नगए । त्यसले यहाँ फर्केर आउनु पर्दैन । खुट्टा भए जुत्ता कति कति ।

मैले आमालाई बुझाउँदै भनेँ, ‘होइन आमा त्यस्तो कहाँ हो र ? अर्काकी छोरीको जिन्दगीको सवाल छ । हाम्रा दिदीबहिनीलाई भिनाजु, ज्वाइँले त्यस्तो गरे भने के हुन्छ, सोच्नु त ?’

आमाले आफ्नै कुरा माथि गर्दै भन्नुभयो, ‘तिम्रा दिदीबहिनी त्यस्ता कहाँ छन् र ? मैले कति राम्रो संस्कार दिएकी छु ।’

मैले अलि झोक्किँदै भनेँ, ‘आमा आफ्नो चाहिँ भाँडो, अर्काको चाहिँ ठाँडो हुन्छ र ? जसलाई पनि आफ्ना छोराछोरी राम्रो लागिहाल्छ नि ।’

आमाले अलि मलीन हँुदै भन्नुभयो, ‘होइन बाबु, तिम्रा दिदीबहिनी त साह्रै संस्कारी छन् । कहिल्यै त्यसरी नसोधी माइत आएका छैनन् । मज्जाले घर गरी खाएका छन् । सासूलाई कहिल्यै मुख चलाउँदैनन् ।

मैले आमाको कुरालाई काट्दै भने, ‘सबैलाई आफ्नी छोरीलाई ज्वाइँले सहयोग गरेको राम्रो लाग्छ । आफ्नी छोरीलाई ज्वाइँले माया गरोस् भन्ने सोच्छन् । त्यही बुहारी चाहिँ अर्काकी छोरी हुन्छे । छोराले बुहारीलाई राम्रो गर्यो भने जोइटिङ्ग्र्रे हुन्छ । यस्तै छ हाम्रो समाजको संरचना ।’
मेरा कुराले आमा अलि हच्किनु भयो । घर र अफिसले पारो तातिरह्यो । दिक्क लाग्यो । हरे के जिन्दगी ? परिवार भए पनि गाह्रो, नभए पनि गाह्रो छ ।

परिवार भनेको त ‘वार’ परिरहने रहेछ । यस्तै परिवारको चक्रव्यूहमा परेर नै रहेछ मानिसहरूले संन्यास लिने रहेछन् । एक छिनमा अलि शान्त भएँ । श्रीमतीलाई फोन लगाएँ । फोन पटक्कै उठेन । चार पटक कल गरेपछि बल्ल फोन उठ्यो । सुरिलो कोइलीको जस्तो आवाजमा सुषमाले ‘हेल्लो’ भनिन् । म प्रफुल्लित भएँ । मायालु पारामा भनेँ, ‘सुषमा के गर्दै छौ ?’

उनले झनक्क रिसाउँदै भनिन्, ‘मैले कल गर्दा त तिम्रो फुर्सद मिलेन । तिम्री दिदीले फोन गरेर नाना थरी भनिन् । तिम्री दिदी र आमालाई तिमी र मेरो सम्बन्ध छुटाउन मन छ । तिमीलाई अर्की केटीसँग बिहे गरिदिन मन छ । तिमी केही बोल्न सक्दैनौ ? घरमा केही बोल्न नसक्ने । कसरी बन्छ सम्बन्ध भन त ?’

श्रीमतीको कुराले अन्यौल हुँदै फोन राखेँ । दिक्क लाग्यो । दिनभरि अफिसको कामले थकित छु । मानसिक शारीरिक थकाइले लुथु्रक्क छु । घर आयो उही रडाको छ । दुवै पक्षको गुनासो छ । म कसरी इनसाब गरौँ ? यो तराजुको बराबर ब्यालेन्स कसरी मिलाऊँ ? न मर्नु न बाँच्नु दोधारमा परेँ । कसैले बुझ्दैन मलाई । कतै एकान्तबास जाऊँ जस्तो लाग्यो । गृहस्थ जीवन त्यागौँ जस्तो लाग्यो ।

महिलाहरूको चक्रव्यूहबाट उम्कौँ जस्तो लाग्यो । कैदीको जेलभन्दा पनि महाजेल । गृहस्थ जीवनमा रुमलिएको भुँमरीको जेल । भए पनि गाह्रो, नभए पनि गाह्रो वैवाहिक जीवन । दोसाँधको जिन्दगी भयो । खोई के गरौँ ? कसो गरौँ ? सधँै मानसिक तनाब छ । घर परिवारमा शान्ति नै छैन । के भुल भयो भगवान ? किन यस्तो हँुदैछ ? यो परीक्षा केका लागि ? म घोरिएर बसिरहेको थिएँ । आमाले चिया लिएर आउनुभयो ।

चियाको गिलास टेबुलमा राख्दै आमाले भन्नुभयो, ‘बाबु, जाडो छ तातो चिया पिऊ न ।’

मैले हुन्छ आमा भन्दै चियाको गिलास लिएँ । सुरुप्प चिया पिउँदै थिएँ । किरिङ किरिङ फोनको घण्टी बज्यो । यसो फोनको स्क्रिनमा हेरेको कलिङ सुषमा । एक हातमा चियाको गिलास समातेँ । अर्को हातको चोरी औँलाले स्क्रिन टच गरेँ । स्क्रिनमा औँलाले मुभ गर्दै भने, ‘सुषमा के गर्दै छौ ?’

सुषमाले भनिन्, ‘तिमीलाई सम्झेर बसेछु । त्यसैले त फोन गरेँ । मिसिङ यु बुढो ।’

मैले मायालु पारामा भने, ‘कहिले घर आउँछ्यौ प्यारी ? म एक्लो भएँ, छिटो आऊ घर । तिम्रो म, मेरो तिमी त हौँ । दुनियाँको कुरा नसुन ।

सुषमाले भनिन्, ‘आउने त हो । तर तिम्री आमाको कचकच सुनेर कसरी बसौँ ?’

मैले उनको जवाफ फर्काउँदै भने, ‘होइन प्यारी बुढाबुढी यस्तै हुन् । हामीले बुझ्नुपर्छ सुषमा ।’

सुषमाले मेरो जवाफ फर्काउँदै भनिन्, ‘तिमी नै बुझ तिम्री आमाको कचकच । म त बुझ्न सक्दिनँ । अनावश्यक कुरा म सहन सक्तिनँ ।’ बुढाबुढीको गन्थन हँुदै थियो । आमाले भान्साबाट कान थापेर बस्नुभएको रहेछ । बाबु, बाबु भन्दै आमा भान्साबाट आउनुभयो ।
आमाले चर्को स्वरमा भन्नुभयो, ‘टाउकामा नचढाऊ श्रीमतीलाई । स्वास्नीलाई स्वास्नीको ठाउँमा राख्नुपर्छ ।’

श्रीमतीसँग बोल्दै गरेको फोन राख्दै भनेँ, ‘आमा त्यति चियो चर्चो गर्नुहुँदैन ।’

आमाले मेरो जवाफ फर्काउँदै भन्नुभयो, ‘मैले कसको चियो चर्चो गरेकी छु ? आफ्नै घरको कुरा गर्न नपाउने ?’ आमाको जवाफ फर्काउँदै मैले भने, ‘आमा छोराबुहारीको पनि चियो चर्चो गर्नु हँुदैन । अहिलेको मानिसको आआफ्नो लाइफ हुन्छ ।’

के यति भनेको थिए । आमाले रुँदै भन्नुभयो, ‘यति दुःख गरेर छोरा हुर्काएँ, अहिले वचन लगायो । बिहे गरेपछि छोरा अर्कै हुँदा रहेछन् । म कसरी बाँचौँ ? आमाको कुराले म जिल्ल परेँ । आमा अलाप विलाप गर्न थाल्नुभयो । खोई कसो गरौँ ? के गरौँ आपत भयो । मैले त त्यस्तो नराम्रो केही भनेको थिइनँ । दिक्क लाग्यो । पुर्पुरोमा हात लगाउँदै सोचेँ, ‘पुरुष भएर जन्मिन पनि सजिलो कहाँ छ र ? महिलाहरूको चक्रव्यूहबाट उम्किन नसकिने । दिदीबहिनी आउँछन् आगोमा घिउ थप्छन् । आमालाई भए नभएको कान भर्छन् ।

दिदी आमालाई कुरा लगाउँछिन्, भाइ त बिहे गरेर अर्कै भयो । आजभोलि वास्तै गर्दैन । दिदीको कुरा सुनेर आमा भन्नुहुन्छ, ‘हो नि नानी पहिले जस्तो छैन छोरो । मेरो छोरो जोइटिङ्ग्र्रे भयो । बहिनी आमासँग त्यस्तै भन्छिन्, ‘आमा दाइमा बिहेपछि परिवर्तन आयो । त्यही भाउजू भानाउँदीको मात्र कुरा सुन्छ । हाम्रो त कुनै मानभाउ नै छैन । छोरीहरू आएर यति भनेपछि आमालाई बल पुग्छ । आमा धिक्कार्दै भन्नुहुन्छ, ‘मूलको पानी, कुलकी छोरी’ भनिन्छ । कुकुलकी छोरी परिछे के गर्नु ? मेरो छोरालाई आफ्नो बनाइहाली । सासू, नन्द, आमाजू कसैको मतलब छैन बुहारी भानाउँदीलाई । छोरो स्वास्नीको धोतीभित्र पस्यो । आमाको कुरै सुन्दैन । मेरो छोरो अर्कैको भयो । म मरेपछि मेरी छोरीहरूको माइती मेटिन्छ ।’

म पिँढीमा बसेर आमा, दिदीबहिनीको गन्थन घुर्की सुनिरहन्छु । सधैँ यस्तै किचलो हुन्छ । यो अशान्ति कलह कसरी मिलाऊँ ? दिदीबहिनीको चित्त बुझाऊँ कि ? आमाको चित्त बुझाऊँ कि ? श्रीमतीको चित्त बुझाऊँ ? खोई कसको चित्त बुझाऊँ ? यो महिलाहरूको चक्रव्यूहबाट कसरी उम्कियौँ ? महिलाहिंसा अर्थात् घरेलु हिंसाको कुरा चर्किरहँदा पुरुषमाथिको मानसिक हिंसा कसले बुझ्ने ? अप्रत्यक्ष सूक्ष्म रूपमा हुने हिंसा कसरी देखाउनु ? न्याय खोज्न कुन अदालतमा जानु म पुरुष ?

प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार