२०८३ भदौ १ , सोमबार 17, August 2026, Monday

आज देशभर पानी पर्ने, लुम्बिनी प्रदेशमा भारी वर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३० गते सोमबार

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाको समेत प्रभाव रहेकोले आज देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंमा आज दिउँसो दिनभर बदली हुने भएको छ । बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । गएराति पनि मध्यम वर्षा भएको थियो,’ मौसमविद् गोविन्द झाले भने ।

उनका अनुसार आज बिहानैबाट सुरु भएको वर्षा दिउँसो र रातिका लागि पनि छ । दिउँसो र राति वर्षा हुने भए पनि भारी वर्षाको सम्भावना भने नरहेको उनले बताए । ‘दिनभरी नै वर्षा हुने होइन । केही समय रहने र पुनः वर्षा हुने क्रम चलिरहनेछ । तर, बदली भने दिनभरी हुनेछ,’ उनले भने, ‘हल्का वर्षा हुने देखिन्छ । भारी वर्षाको सम्भावना छैन ।’

भोलिबाट वर्षा केही कम हुने मौसमविद् झाले जानकारी दिए । ‘भोलिबाट मौसम पूरै खुल्ने होइन, वर्ष केही कम हुनेछ,’ उनले भने, ‘आजको तुलनामा भोलि देशैभर कम वर्षा हुनेछ ।’ गएराति लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको उनले जानकारी दिए । काठमाडौंमा मध्यम वर्षा भएको थियो ।

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार