नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेर चार सदस्यीय बनाएकी छन् । कार्कीले नियुक्त गरेका तीनजना मन्त्रीलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका छन् । ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्रीमा नियुक्त भएका हुन् ।
अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी खनालले अर्थ मन्त्रालयको कार्यभार पाउँदा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
तीन मन्त्री नियुक्त भए पनि प्रधामन्त्री कार्कीसँग अझै १५ मन्त्रालय छन् । उद्योग, कृषि, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका, युवा तथा खेलकुद, रक्षा, वन, शिक्षा, श्रम, पर्यटन, संघीय मामिला, सञ्चार र स्वास्थ्य मन्त्रालय अहिले पनि प्रधानमन्त्री कार्कीसँगै छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भएपछि पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार साँझ अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
सत्यपाटी