२०८३ वैशाख ५ , शनिबार 18, April 2026, Saturday
उपन्यास अंश

‘हे भगवान ! यस्तो समस्या दुस्मनलाई पनि नपरोस्’

महिला सृष्टिकर्ता हुन् । देवी हुन्, माता हुन्, धर्ती हुन् तर उग्र महाकालीको रूप पनि यिनै महिला हुन् । जालझेलमा फसाउने पनि यिनै महिला हुन् । इतिहासलाई पल्टाएर हेर्दा ठुला–ठुला युद्ध महिलाहरूको कारणले भएका छन् ।
कल्पना खरेलकल्पना खरेल । उपन्यासकार । २०८२ साउन २७ गते मंगलबार

तनावको भारी बोकेर अफिस पुगेँ । बैङ्कको जागिर उत्तिकै व्यस्त । अफिसको जिम्मेवारी, पैसाको कारोबार । तनावपूर्ण भारी मनसँगै अफिसको काम गर्न थालेँ । काममा पटक्कै मन लागेन । घरको किचलोले चिथिरहेको थियो । एक म्याचर्ड साथीले सोधे, ‘के हो सञ्जय मुड अफ छौ नि ? के भयो आज ?

मैले भने, ‘के हुनु बेहाल छ ।’

फेरि साथीले सोधे, ‘कस्तो बेहाल भन न ?’

मैले भने, ‘के हुनु बिहे भएदेखि घरमा शान्ति छैन ।’

पुनः साथीले सोधे, ‘कस्तो शान्ति छैन सानु परिवारमा पनि, के भयो ?’

मैले भनेँ, ‘आमा र श्रीमती पटक्कै मिल्दैनन् । सासूबुहारीको कलह कसरी मिलाउने ? म त विफल भएँ । भन न कसरी सुल्झाउने यो पहाड जस्तो समस्या ?’

साथीले भने, ‘यो जटिल छ सञ्जय । घर घरको काहानी यही हो । आमाको कुरा सुन्नु कि, श्रीमतीको कुरा सुन्नु ? निक्कै गाह्रो छ । विवाह बन्धनभित्र यो जटिल विषय हो । त्यसै हो र म छुट्टिएर बसेको । मेरा त दिदीबहिनीहरूले नै आमालाई उचाल्थे ।’

मैले भनेँ, ‘दिदीबहिनीले झन् मिलाउनुपर्ने ? अझै त्यस्तो गर्छन् र ?

साथीले भने, ‘कुरा नगरौँ बेथा बल्झिन्छ । घरमा सासू, बुहारी, जेठानी, देउरानी, नन्द, भाउजू, आमाजू, बुहारी मिल्दै मिल्दैनन् ।’

मैले भने, ‘हो साथी बल्ल भोग्दै छु । अग्निपरीक्षा दिँदैछु ।’

साथीले भने, ‘सही भन्यौ सञ्जय । यो त महाअग्नि परीक्षा नै हो ।’

मैले भनेँ, ‘सबै पढेर परीक्षामा पास हुन सजिलो होला । घरभित्रको परीक्षामा पास हुन गाह्रो छ ।

साथीले भने, ‘सुनन् सञ्जय । मेरो काहानी भन्छु । भर्खर बिहे भएको थियो । भर्खर मायाप्रिति बस्दै थियो । श्रीमतीको माया लाग्न थाल्यो । घरधन्दामा श्रीमतीलाई सहयोग गरिदिन्थेँ । मैले त्यसो गरेको देखेर मेरी आमा भन्नुहुन्थ्यो, ‘जोईटिङ्ग्रे भइस् । कसैकी नभएकी तेरी श्रीमती । काम गरेर घट्ली जस्तो गर्छ ।’ आमाको कुराले म मौन हुन्थेँ । बेजवाफ हुन्थेँ ।

मैले भने, ‘श्रीमतीलाई माया गर्यो भने आमालाई रिस उठ्ने रहेछ । एक किसिमको जेलेसीभाव उत्पन्न हुने रहेछ । कस्तो दुई नारीबीचको सम्बन्ध । एकातिर आमाले दसमहिना गर्भमा राखिन् । अत्यधिक प्रसवपीडा झेलेर जन्माइन् । दसधारा दुध पिलाइन् । कति भोक तिर्खा निद्रा त्याग गरेर हुर्काइन् । नाकको फुलीसमेत बेचेर शिक्षादीक्षा दिएर मान्छे बनाइन् ।

अर्कोतिर जन्मदिने आमा बाबु संसार छोडेर मसँग जिन्दगी बिताउन आएकी श्रीमती हुन् । पतिपत्नी एक रथका दुई पाङ्ग्रा हुन् । यी दुवै अन्तरहृदयदेखिका नाता हुन् । यी दुवै नाता समायोजन गर्न कठिन छ । कसलाई अँगाल्नु, ? कसलाई त्याग्नु । यो कस्तो परीक्षा हो ?

साथीले भने, ‘अझ अर्को अचम्मको कुरा छ । त्यही आमाले जन्माएको छोरो मन पर्ने । संसारकै सम्पूर्ण ठान्ने, उही आमाको छोरालाई प्यारो श्रीमान् बनाउने तर उही श्रीमान्की आमा चाहिँ पटक्कै मन नपर्ने ? कस्तो यथार्थ विडम्बना हो ।

मैले सिरियस हुँदै भनेँ, ‘सही कुरा गर्यौ साथी । यो सासूबुहारीको लीला अनौठो छ । उसैले जन्माएको छोरो मन पर्ने । उही छोरा जन्माउने आमा त पटक्कै मन नपर्ने । एकअर्काका शत्रु नै हुन् ।

साथीले गफिँदै भने, ‘सञ्जयजी, अझै अर्को रोचक कुरा छ । त्यही बुहारी सासूलाई पटक्कै मन पर्दैन । उही बुहारीले जन्माएको बच्चा प्राणभन्दा प्यारो हुन्छ । बुढाबुढी नातिनातिनी भनेपछि हुरुक्कै हुन्छन् । आखिर जन्माएको त मन नपर्ने बुहारीले हो नि ?’

उसको कुराले उत्साहित हुँदै भने, ‘पारिवारिक लीला अचम्म छ । यी महिलाहरू घर घरको अभिनयकर्ता हुन् । महिलाहरू असली पात्रको भूमिका निभाउन सफल छन् ।’

साथीले भने, ‘एक नारीमा अनेक रूप हुन्छन् । त्यसै हो र रामले चौध वर्ष वनबास जानु परेको । महिलाको जालझेलदेखि भगवान राम पनि अछुतो रहेनन् । हामी त सामान्य मान्छे हौँ । हामीले पनि भोग्नै पर्छ । घर घरको कथा काहानीदेखि कोही अछुतो छैन । सबैकुरा बुझ्न सकिन्छ । महिलाको मनोविज्ञान बुझ्न गाह्रो छ । कस्ता कस्ता महापुरुषले महिलालाई पढ्न सकेनन् । हामी सामान्य मानिसले कसरी बुझ्नु ? महिला सृष्टिकर्ता हुन् । देवी हुन्, माता हुन्, धर्ती हुन् तर उग्र महाकालीको रूप पनि यिनै महिला हुन् । जालझेलमा फसाउने पनि यिनै महिला हुन् । इतिहासलाई पल्टाएर हेर्दा ठुला–ठुला युद्ध महिलाहरूको कारणले भएका छन् । बडाबडा बाद शाहहरू नारीका कारण हारेका छन् । महात्मा ऋषिहरूको तपस्या भङ्ग गर्न सक्ने नारी शक्ति प्रमाणित छ ।

साथीको कुरा सुनेर मैले भने, ‘हो नि साथी जिन्दगीमा धेरै कुरा बुझेँ । महिलाको गर्भमा दस महिना बस्छौँ । महिलाकै शरीरबाट जन्म लिन्छौँ । उनकै काखमा हुर्किन्छौँ । ताते गरेर हिँड्न उनैले सिकाउँछिन् । सुरुमा तोते बोल्न उनैले सिकाउँछिन् । हाम्रो पहिलो गुरु नै महिला हुन् तर ती महिलालाई चिन्न सकिनँ । गर्भभित्रबाट सुरुवात महिलासँगको सहयात्रा जीवनभर हुन्छ । पहिला आमा, दिदीबहिनी, श्रीमती हँुदै छोरीसम्म उनीहरूको सामिप्यमा जिन्दगी गुज्रिन्छ तर पनि महिलालाई बुझ्न सकिँदैन । महिला चक्रब्युहभित्र घुमेको छ पुरुष जीवन । महिला चक्रब्युहभित्र डुबेको छ पुरुष जीवन । महिला चक्रब्युहभित्र रमेको छ पुरुष जीवन । हामी पुरुष त केवल एउटा चित्र मात्र हौँ । विविध विचित्रमा नारीहरूको स्वरूप छ । हामी दुवै गफिँदै थियौँ । दुःखसुख पोखिँदै थियो । किरिङकिरिङ फोन आयो । फोन उठाएँ ।

मेनेजरले भने, ‘यहाँ आऊ त सञ्जय ।

आज्ञाकारिता जनाउँदै भनेँ, ‘हुन्छ सर आइहाले । गफलाई थाती राखेर मेनेजरको अफिस कोठातिर लागेँ ।’

०००

अफिसबाट घर फर्कें । बिहानबाट बेलुका भयो । समय बदलियो, घडा, पला बदलियो । घरको माहोल बदलिएन । सासूबुहारीको कलह मनमुटाब बदलिएन । दुवै महिला मुख फुलाएर बसेका छन् । बोली बाराबार छ । श्रीमती फेसबुकमै च्याट गर्दै छिन् । आमा भुतभुताउँदै बाख्रालाई घाँस हाल्दै हुनुहुन्छ । म आफैँले चिया पकाएर पिएँ ।

आमाले भन्नुभयो, बाबु अब नसकिने भयो, तिम्रीे श्रीमतीसँग ।

मैले सोधेँ, किन र आमा ? के भयो र ?

आमाले भन्नुभयो, ‘बुहारीलाई मोबाइल भए पुग्छ । घरको पटक्कै काम गर्दिन । सिन्को भाँदिच्न बाबु ।’

मैले सुषमा भनेर बोलाएँ । उनले हजुर भनिन् । दिनभरि अफिसबाट आएको भोक लाग्यो । केही खाजा बनाऊ न । जतिखेर पनि मोबाइलमा व्यस्त हुन्छ्यौ ?’ मात्र के भनेको थिएँ सुषमाले उर्लिदै भनिन्, ‘तिम्री आमाको कुरा सुनेर यसो भन्छौ ? म बस्दिनँ यो घरमा । अहिले नै माइत जान्छु ।’

मलाई पनि झोक चल्यो भनेँ, ‘जाऊ, कसैको नभएको तिम्रो माइत । जहिल्यै पनि धाक दिन्छ्यौ माइतीको । त्यति मात्र के भनेको थिएँ, सुषमा त जुरुक्कै उठेर हिँडिन् ।

मैले नम्र हुँदै भनेँ, ‘नजाऊ, सुषमा । सरी मेरो गल्ती भयो । केही नभन्नुपथ्र्यो भनेँ गल्ती गरेँ । अबदेखि तिम्रो मनोमानी गर्न छुट छ । त्यसरी आवेशमा नआऊ ल प्यारी । पटक्कै मानिनन् । स्कुटीमा चढिन् । स्कुटीको पाङ्ग्रा गुडे । रफ्तारमा स्कुटर दगुराइन् । उनी रिसाएर माइत लागिन् । म जिल्ल परेँ ।

बुहारी निस्केपछि आमाले हँसिलो मुहारमा भन्नुभयो, ‘देख्यौ बाबु कस्ती छे ? अझै तिमीले त यसलाई चिनेकै छैनौ । कस्ती केटी भेट्टायौ ? तिम्रो जिन्दगी बर्बाद गरी यसले ।

म दिक्क भएर बसेको थिएँ । पुनः आमाले भन्नुभयो, ‘यस्ता अलच्छिने आइमाई गएर के हुन्छ ? खुट्टा भए, जुत्ता कति कति, किन चिन्ता लिन्छौ बाबु ? म अर्की असल केटी खोजेर बिहे गरिदिन्छु । आमाको कुरामा बेजवाफ भएँ । साँच्चिनै आमाको मनोविज्ञान बुझ्दा उहाँ खुसी हुनुहुन्थ्यो । बुहारी निस्किएर गएपछि बिझेको काँडो निकालेको जस्तो भएको थियो उहाँलाई । बुहारीविना आमा आनन्दित हुनुहुन्थ्यो ।

आमा भान्सामा जानुभयो । खाना पकाउन थाल्नुभयो । मैले सुषमालाई फोन गरेँ । पटक्कै सुषमाको फोन उठेन । म्यासेज पठाएँ, म्यासेजको रिप्लाई आएन । सूर्य अस्त भयो । समय सन्ध्यातिर लम्किँदै थियो । जङ्गल चर्न गएका पशुहरू गोठतिर फर्किदै थिए । पन्छीहरू बासस्थानतिर उड्दै थिए । सुषमा भने बास छोडेर निस्केकी थिइन् । सुषमाविना म भने रित्तिदै थिएँ । खाली खाली लाग्दै थियो त्यो घर । अन्धकार हँुदै थियो । म अधुरो थिएँ । मनभित्र अन्धकार सल्बलाउँदै थियो । किन रिसाइन् होला मेरी प्यारी ? उनीविना कसरी बस्ने ? उनको कमी महसुस भइरह्यो । यो नै होला प्रेम । यो नै होला नारीपुरुषबीचको महत्व । एकअर्का बीचको आत्मीयता ।

आमाले खुसी हँुदै भन्नुभयो, बाबु खाना तयार भयो, खाना खान आऊ । म लुरुक्क भान्सामा पसेँ । आमाले खाना पस्किनुभयो । दाल, भात, काउलीको तरकारी थियो । मुखमा गाँस हालेँ पटक्कै रुचेन । सुषमाविना अधुरो थिएँ । खाना बेस्वादको भयो । अलिकति खाएँ । जुरुक्क उठेर बेसिनमा चुठेँ । आफ्नो कोठामा पसेँ । सिरकभित्र पसेँ । पटक्कै जिउ तातेन । साँच्चिनै जाडोमा रुई, दुई, फुई चाहिन्छ । एक्लै जिउ तात्दै तातेन । सुषमाको न्यानो अँगालोको बानी परिसकेको थियो ।

उनीविना निद्रा लागेन । सुषमाविना एकरात पनि कठिन भयो । मुस्किल भयो रात बिताउन । कसरी बित्छ जिन्दगीभरिको रात ? यता छाम्यो रित्तो, उता छाम्यो भित्तो खाली खाली भएँ । त्यसैले दुई पाङे्ग्राको रथ भनिएको रहेछ, श्रीमान् श्रीमतीको सम्बन्धलाई । उनीविना एक पल बिताउन मुस्किल भयो । अन्धकार रातले टोक्ला जस्तो । एक्लोपनले खाउँला जस्तो । बिस्तरा नै खाली खाली । अँगालो नै खाली खाली । सिरकभित्रबाट ज्यानै तातेन ।

कोठा नै रित्तो भयो । घर नै अन्धकार नरमाइलो लाग्यो । नुन नहालेको तरकारी जस्तो खल्लो महसुस गरेँ । उनी नहँुदा उनको महत्व अझै बढ्यो । शारीरिक प्यास, मानसिक प्यास अपूरो भयो । बिहानै उठेँ । हातमुख धोएँ । बाइकमा चढेर ससुरालीतिर लागेँ । आधा घण्टामा ससुराली पुगेँ । सासूआमा उठेर पूजा गर्ने तयारी गर्दै हुनुहुन्थ्यो । सासूआमालाई नमस्ते गरेँ । सासूआमाले नमस्ते बाबु भन्नुभयो ।

मैले सासूआमालाई सोधेँ, ‘ममी, खोई सुषमा ?’

उहाँले भन्नुभयो, ‘सुषमा त सुतिरहेकी छे । म सरासर सुषमाको कोठामा पसेँ । उनी निदाइरहेकी थिइन् । उनको मुहार हेरेँ । अझै प्यारी लाग्यो । अबोध बालक जस्तो देखेँ । मस्त निद्रामा थिइन् उनी । म उनको बिस्तरामा बसेर उनलाई गौर गरी नियालिरहेको थिएँ । सुषमाले आँखा उघारिन् । उनको नजर मेरो मुहारमा प¥यो । एकअर्काको नजर जुध्यो । मेरा आँखा रसाए । दुवै नजरले एकअर्कामा संवाद गरेँ । नजरबाट प्रेमभाव प्रकट भयो ।

मैले भनेँ, ‘आई लभ यु प्यारी । तिमीविना म कहाँ रहन सक्छु र ? सरी सुषमा तिमी नै मेरी संसार हौ । तिमी नै मेरी घर हौ । तिमी नै मेरी प्यार हौ । तिमीविना रहँुला कहाँ प्रिया ? अँगालो हालेँ । किस गरे । उनी पनि भावविभोर भइन् । उनका नयन पनि सजल भए । प्रेमिल भाव उर्लियो । एकअर्काप्रति समर्पित भयौँ । सम्बन्ध अझै कसियो । नवप्रणयको अनुभूति भयो । अझै माया गाढा भयो । पुनर्मिलनको अनुभूति भयो । एकअर्कामा परिपूरक भयौँ ।

सुषमाले भाउ दिँदै भनिन्, ‘हिजो त कस्तो व्यवहार गरेको थियौ ? अहिले फेरि अर्कै रूप लिएर आयौ ? छेपाराको जस्तो रूप बदल्छौ तिमी ।

मैले फकाउँदै भनेँ, ‘मेरी डार्लिङ, तिम्रै अभाव छ । तिम्रै प्रभाव छ मेरो जीवनमा । मेरी रानी बुझ न घर व्यवहार यस्तै हो । यसैलाई गृहस्थ जीवन भनिन्छ । गृहस्थ जीवन भोग्न नसकेर कति जोगी हुन्छन् । गृहस्थ सजिलो कहाँ छ र ? मलाई बुझ न प्यारी ।

श्रीमतीले भनिन्, ‘पहिला तिम्री आमालाई बुझाऊ, अनि म बुझ्छु ।’

मैले पुर्पुरामा हात राख्दै भने, ‘हरे शिव म के गरौँ ? कति जटिल कथाव्यथा कसरी सुल्झाऊँ ?’

सुषमाले भनिन्, ‘मर्दले पहाड जस्तो समस्या सुल्झाउँछन् । तिमी आफ्नै घरव्यवहार मिलाउन सक्दैनौ ? अरू के गर्न सक्छौ ?’ म बेजवाफ भएँ । अन्योलमा परें । मनमनै सोचेँ ‘हरे भगवान कसरी मिलाऊँ ? समस्याको समाधान कसरी गरौँ ? हे भगवान यस्तो समस्या दुस्मनलाई पनि नपरोस् ।’

प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार