२०८३ वैशाख ५ , शनिबार 18, April 2026, Saturday
उपन्यास अंश

‘जब घर नै कुरुक्षेत्र जस्तो भयो’

एउटी आमा र एउटी श्रीमती, सानु संसार छ । दुवैलाई खुसी राख्न सकिनँ । सानु संसारलाई व्यवस्थित गर्न सकिनँ । म आफैँलाई नालायक सम्झेँ । म आफैँ राम्रै गरी हारेँ । यो परीक्षामा फेल भएँ ।
कल्पना खरेलकल्पना खरेल । उपन्यासकार । २०८२ साउन १९ गते सोमबार

भोलिपल्ट झिसमिस उज्यालो भयो । आमा घरधन्दा गर्दै हुनुहुन्थ्यो । मैले सोधेँ, ‘आमा किन यो जाडोमा उठ्नुभयो ? यति राति नै किन उठ्नुभएको ? निद्रा लागेन आमा ? अनिँदो खिस्रिक्क परेको अनुहार लगाउँदै आमाले भन्नुभयो, ‘बाबु पटक्कै निद्रा लागेन । आँखा झिमिक्कै नगरी बित्यो । मैले फेरि सोधेँ, ‘किन आमा ? के भयो ? किन जागाराम बस्नुभयो ?’ आमाले अलि असजिलो मान्दै भन्नुभयो, ‘म देहत्याग गर्न तत्पर थिएँ । बाबु, तिमीले राति नै फकाएर घर फर्कायौ ।

जति जे गरे पनि जुन दिन बिहे गर्यौ त्यही दिनदेखि पुत्रदान गरेँ । तिमी बुहारीका भयौ । अनेक तानाबाना घुम्यो । पटक्कै निद्रा लागेन । जति मायाभाव दर्साए पनि मेरो छोरो, मेरो होइन । घर आउनासाथ शत्रुको व्यवहार गर्ने बुहारी भानाउँदीको पोल्टामा पर्यौ । उसकै अँगालोमा हरायौ । सोचेँ, छोरो त उसैलाई दिइसकेँ । नितान्त तिमी उसैको हौ । अत्यन्त एक्लो महसुस भयो । एक्लोपनले जिस्क्यायो । मन तापले पिरोलिइरह्यो । आपूmलाई तिमीदेखि टाढिएको सम्झेँ । आपूm टुहुरो भएको महसुस गरेँ ।

फुटेको सिसाजस्तै टुक्रिएँ । एक्लिएँ यो संसारमा । आमाको कुराले झस्किँदै भनेँ, ‘आमा ! त्यस्तो होइन । म त तपाईंकै छोरो हुँ नि । कसरी बुहारीको हुन सक्छु ? आमाको स्थान कसैले लिन सक्दैन । बरु श्रीमतीको स्थान अरूले लिन सक्छन् । यस्ता झिनामसिना कुरा पहाड बनाउँनु हँुदैन । दिमागभित्र अन्तद्र्वन्द्व पाल्नु हुँदैन । चिन्ताले चितामा पुर्याउँछ । सकारात्मक हुनुपर्छ आमा । आमाले मरिचको कालो चिया दिँदै भन्नुभयो, ‘कति अभागी रहेछु म । भाग्यविधाताले कस्तो भाग्य कोरिदिए ? कहिल्यै सुख भएन ।’

चिया सुरुप्प पिउँदै आमालाई सम्झाउँदै भनेँ, ‘त्यस्तो सोच्नु हुँदैन आमा । यति राम्रो जिन्दगी दिए भगवानले । यथार्थलाई स्वीकार गर्नुपर्छ । आमालाई सम्झाउने शब्द नै थिएनन् । खोई के भनेर बुझाऊँ ? कसरी बुझाऊँ ? कसरी यथार्थ बोध गराउनु ? कस्तो सान्त्वना दिएर फकाउनु ? आमाले सुँक्क सुँक्क रुँदै भन्नुभयो, ‘होइन छोरा जुन दिन मैले टिकाटालो गरेँ, लाम्टो चुसाएर तिमीलाई ब्यौली लिन पठाएँ, त्यही दिनदेखि तिमी बुहारीका भयौ । अर्काकी छोरीले अर्कै बनाई तिमीलाई । मेरो छोरा मेरो काखबाट लुटियो ।’

भान्सामा आमाछोरा गुनगुनाउँदै थियौँ । श्रीमती उठिन् र बोलाइन्, ‘सञ्जय यहाँ आऊ न । म चियाको गिलास लिएर कोठामा पसेँ । चिया सुरुप्प पिउँदै मैले भनेँ, ‘किन बोलाएकी सुषमा ?’ पत्नीले भन्न थालिन्, ‘छोराको कान भर्न कति जानेकी होला यो बुढीले । कति पढाएकी छोरालाई । यस्ता सासू कसैका हुँदैनन् ।’ मनको कुरा मनमै थाति राख्दै भनेँ, ‘सुषमा त्यस्तो कहाँ हो र ? आमाले केही भन्नुभएको छैन । त्यत्तिकै दोष नलगाऊ न ।’

श्रीमतीले चड्किँदै भनिन्, ‘भित्ताको पनि कान हुन्छ । झुट नबोल तिमी । आफ्नी आमाको कति सपोर्ट गर्छौ ? मैले तिमी आमाछोराको खासखुस सुनेकी छु । पानी माथिको ओभानो नबन । तिम्री आमालाई सम्हालेर राख । राति नै भागेकी तिम्री आमालाई फर्काएर लिएर आयौ, कसैकी नभएकी तिम्री आमा । एकाबिहानै छोराको कान भर्दैछ यो बुढीले । छोरालाई मेरो भए नभएको कुरा लगाउँछे बुढीले । बस्न खान नदिने भई यो बुढीले त ।’ मैले लगाएको रिस छ बुढीलाई, खाएको पनि रिस छ ।

मेरा बुढाले माया गरेको पनि रिस छ । मलाई देख्न सक्दिनँ यो बुढीले । मप्रति जलन छ यो बुढीलाई । म कसरी बसौँ यो घरमा ? म त माइत जान्छु । बस तिम्री आमासँग तिमी । मैले नम्र हुँदै भनेँ, ‘सुषमा तिमी पढेलेखेकी मान्छे बुझ न । आमा त अनपढ हुनुहुन्छ । धेरै कुराको ज्ञान छैन । संसार परिवर्तन होला तर आमालाई परिवर्तन गराउन सकिँदैन । जेनरेसन ग्याप छ । उहाँको हाम्रो सोच बिचार कहाँ मिल्छ र ? समझदारी गर सुषमा । यस्तो हर्कत नगर ।’ एकबिहानै मुड खराब भयो । म जुरुक्क उठेर बाहिर निस्केँ ।

000

अफिस जाने बेला घर फर्कें । घर आउँदा खाना पाकेको छैन । भान्सामा चुलो बलेको छैन । बेलुकाको जुठोभाँडो अस्तव्यस्त छ । लाथालिङ्ग घरधन्दा हाँसिरहेको छ । सासूबुहारीको जुहारी चलिरहेकै छ । दुवै सासूबुहारीको भनाभन, सवालको जवाफ छ । कोभन्दा को के कम ? अलच्छिन लागेको जस्तो । अशान्तिले उग्र छ । घर नै महाभारतको कुरुक्षेत्र जस्तो भयो । जटिल परिस्थिति सिर्जना भयो । अशान्तिले केही दुर्घटना होला जस्तो । अनिष्ट निम्त्याइरहे जस्तो महसुस भयो । कसैले आत्महत्या गर्ला जस्तो । तनाव चुलिइरह्यो ।

एकातिर आमा भुत्भुताउँदै हुनुहुन्छ, ‘हाम्रो पालामा सासूलाई कति मानभाउ राख्थ्यौँ । चार बजे उठेर दैलोकुचो गथ्र्यौं । बिहान उठेर सासूससुरालाई ढोग्थ्यौँ । ढिकीजाँतो गथ्र्यौं । अहिलेका बुहारीको चाला के हो ? घाम माथि उदाउँदासम्म उठ्दैनन् । लाजसरम डर पटक्कै छैन । यस्ता पनि बुहारी हुन्छन् ? जुठोचुलो भाँडो हाँसिरहेको छ । कस्तो अलच्छिनी केटी लिएर आएछ । कस्तो संस्कार दिएका होलान् बाबुआमाले ?’ श्रीमती झन् के कम ।

उनी पनि अर्कोतिर भुत्भुताउँदै थिइन्, ‘कुन दिन यो घरको ऋण खाएको रहेछु । कस्ता मान्छे हुन् जङ्गली जस्ता । पाखे केही थाहा नभएका । कास्ता पाखेका फेला परेछु । हिजो भागेकी थिई बुढी किन लिएर आएको होला । कसैकी नभएकी राक्षेसनी आमा ।’ मैले नम्र हुँदै श्रीमतीलाई सम्झाएँ, ‘सुषमा बुझ न तिमी । बुढाबुढी यस्तै हुन् । बुढाबुढी कचकच गरिहाल्छन् नि । शान्त भएर बस सुषमा । एउटा कानले सुन, अर्को कानले उढाइदेऊ आमाको कुरा ।’ यति मात्र के भनेको थिए ।

श्रीमतीले चड्किँदै जवाफ फर्काउँदै भनिन्, ‘लभ पर्दा के के नै गर्छु भन्थ्यौ त ? कहिल्यै दुःख दिन्न भन्थ्यौ ? सधैँ खुसी बनाउँछु भन्थ्यौ । तिम्रा ती बाचा कहाँ गए ? यही हो खुसी दिएको ? तिम्री आमाको याताना खप्न लिएर आएका ? मेरा बाबाको घरमा पुल्पुलिएर हुर्केकी म, तिमीलाई थाहै थियो । कहिल्यै केही काम गरेकी थिइनँ । यो घरमा आएदेखि सुख छैन । शान्ति छैन । सुरु सुुरुमा लभ पर्दा आकाशका तारा झारिदिन्छु भन्थ्यौ । मेरा लागि जे गर्न तयार थियौ । आफ्नी आमाको सामुन्ने केही बोल्न सक्दैनौ । भिजेको बिरालो जस्तो बन्छौ । यही हो तिम्रो माया ? यही हो तिम्रो खुसी ? मलाई भुङ्ग्रामा हाल्न ल्याएको ?’

म स्तब्ध भएँ । केही बोल्ने शब्दै छैन । हुन पनि हो, संसारको खुसी दिन्छु भन्ने बाचा गरेको थिएँ । उनलाई पाउन मरिमेटेको थिएँ । सम्पन्न घरकी छोरी हुन् सुषमा । मभन्दा सबल छिन् उनी, तर पनि मलाई पत्याएर माया गरिन् । मेरो जीवन सजाउन आइन् । घरको तालमेल किन मिलेन ? के वैवाहिक जीवन यस्तै हुन्छ ? यस्तै हुँदो हो त कसरी चल्दो हो सबैको । मेरो भूमिकामा म कसरी फेल भएँ ? किन भूमिका निर्वाह गर्न सकिनँ ? अनेक प्रश्न मनमा उब्जिए । आफैँभित्र दुःखी भएँ ।

एउटी आमा र एउटी श्रीमती, सानु संसार छ । दुवैलाई खुसी राख्न सकिनँ । सानु संसारलाई व्यवस्थित गर्न सकिनँ । म आफैँलाई नालायक सम्झेँ । म आफैँ राम्रै गरी हारेँ । यो परीक्षामा फेल भएँ । छोराको भूमिकामा मेरो के कमी भयो ? पतिको भूमिकामा मेरो के कमी भयो ? किन महिला मनोविज्ञान अध्ययन गर्न सकिनँ । के उनीहरूलाई पढ्न नसक्नु नै मेरो पराजय हो ? एक पुरुषले निर्वाह गर्नुपर्ने के थियो ? अनेक प्रश्न सल्बलाए । साह्रै दुःखी भएँ । यतिकैमा अफिस गएँ । खाना पनि खाइनँ । तनाबले ग्रस्त भएँ ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार