२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

बहुगुणी अन्न कोदो, ‘खेती गर्न किसानको अरुची’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १६ गते शुक्रबार

देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व दिएको पाइँदैन ।

कुनै समय गरिबको खाना भनेर होच्च्याइएको कोदो र यसबाट बन्ने परिकारको माग हाल सहर बजारमा बढेको छ । कम खर्चमा यसको खेती गर्न सकिने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा कम मलिलो तथा सुक्खा जग्गामा कोदो खेती गर्न गर्नसकिने उनीहरूको भनाइ छ ।

कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाइन्छ । कोदोका परिकार पोषणयुक्त हुन्छन् । खाद्य सुरक्षाका दृष्टिले कोदोलाई ज्यादै महत्वपूर्ण बालीका रुपमा लिइन्छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष चितवनमा कोदोखेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि विकास कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार चितवनमा वार्षिक एक हजार ५० हेक्टरमा कोदोखेती हुँदै आएको छ ।

इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा कोदोखेती हुँदै आएकामा हाल त्यहाँ कोदो रोप्ने किसान घटेका छन् । उनले भने, ‘कोदो ढिलो पाक्ने र लगाउन, थन्काउन झन्झटिलो भएका कारण यसतर्फ किसानको ध्यानाकर्षण गराउन सकिएको छैन ।’ कोदोखेतीतर्फ भोजपुरका किसानको पनि आकर्षण घटेको छ ।

पर्याप्त आम्दानी नहुने भएकाले उनीहरू वैकल्पिक खेतीमा लागेका रामप्रसादराई–६ का किसान राजेन्द्र राईले बताए । ‘आम्दानी राम्रो नहुने तथा खेती गर्न झन्झटिलो भएकाले गाउँघरमा व्यावसायिक रुपमा कोदोखेती गर्ने चलन हरायो,’ उनले भने । जिल्लाको छ हजार हेक्टर जमिन कोदोबालीका निम्ति उपयुक्त रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

स्थानीय बजारमा कोदो प्रतिपाथी रु १५० देखि १६० सम्ममा विक्री हुने गरेको छ । १० वर्ष अघिसम्म पाल्पाका गामीण भेगमा कोदोखेती हुने गरेकामा हाल ती क्षेत्रका बारी र टारी बाँझै छन् । कोदोखेतीमा अब्बल मानिएका बगनासकाली र रैनादेवी छहरामा पनि खेती गर्ने घटेका छन् । युवापुस्ता विदेशिने र सहर पस्ने क्रमसँगै कोदोखेती हुन छाडेको हो ।

यद्यपि जिल्लाका निस्दी, पूर्वखोला र रिब्दीकोट गाउँपालिकाका विभिन्न ठाउँहरुमा कोदोखेती हुने गरेको छ । पाल्पामा आर्थिक वर्ष २०८०–०८१ मा दुई हजार ३६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएकामा आव २०८१–०८२ मा आएर दुई हजार ३४९ हेक्टरमा झरेको कृषि ज्ञान केन्द्रका प्राविधिक सुरज पाण्डेयले बताए । जिल्लाका किसान कोदोको सट्टा फलफूलतर्फ आकर्षित भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार