२०८३ कात्तिक २३ , सोमबार 10, November 2026, Tuesday

राप्ती नदीमा स्थायी तटबन्ध निर्माण गर्न ठेक्का स्वीकृत

राप्ती नदी किनारमा बेम्बो पाइलिङ्गमार्फत कटानको अस्थायी रोकथामका लागि भइरहेको कामको अनुगमन गर्दै जनताका तटबन्धन कार्यक्रम लमहीको टोली ।

राप्ती नदीको तीब्र कटानका कारण गाउँ नै डुबानमा पर्ने जोखिम भएका बाँकेको राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडिया आसपासको क्षेत्रमा स्थायी तटबन्ध निर्माण हुने भएको छ । जनताको तटबन्ध कार्यक्रम लमहीले खल्ला झगडिया आसपास पहिलो चरणमा ४५० मिटर स्थायी तटबन्ध निर्माण हुने भएको छ ।

त्यसका लागि टेण्डर आव्हान भई साई माँ दुर्गा भेन्सी जेभीले काम सम्पन्न गर्ने गरि करिब ६ करोड रुपैयाँमा ठेक्का स्वीकृत भएको जनताको तटबन्ध कार्यक्रम लमहीले जनाएको छ । वर्षायाम सम्पन्न भएपछि स्थायी तटबन्धको निर्माण कार्य सुरु हुने जनताको तटबन्ध कार्यक्रमका प्रमुख डा.नारायण सुवेदीले जानकारी दिए ।

सुवेदीले भने, ‘अहिलेको वर्षायाममा आउन सक्ने बाढीबाट हुन सक्ने क्षति रोकथामका लागि आपतकालिन नदी नियन्त्रण कार्यक्रम अन्तर्गत बेम्बो पाइलिङ्गको काम गरिरहेका छौं, यसबाट थप क्षति हुन पाउँदैन ।’ जनता तटबन्ध कार्यक्रमले झल्ला झगडिया र जरैयामा करिब एक करोडको लागतमा बासको प्रयोग गरि कटान नियन्त्रणका लागि बेम्बो पाइलिङ्ग गरिरहेको छ ।

जनताको तटबन्ध कार्यक्रमले करिब डेढ दशकअघि राप्ती नदी किनार होलियामा कटान नियन्त्रणका लागि बेम्बो पाईलिङ्ग गरेको थियो । राप्ती नदीको तीव्र कटानले राप्तीसोनारी र होलिया आसपास नदी किनारमा गरिएको अस्थायी माटोको तटबन्ध भत्केर नदी गाउँमा पस्ने जोखिम बढेको राप्तीसोनारी गाउँपालिका–७ का दुर्गाप्रसाद पाण्डेले जानकारी दिए ।

निरन्तरको कटानका कारण राप्तीसोनारी गाउँपालिकाका देउपुरा, पिप्रहवा, झल्ला झगडिया, भवानीयापुर, गेदवाका साथै नरैनापुर गाउँपालिका–६ को सोनबर्षा, कोदरबेटवा, नरैनापुर–५ को भोजपुर, नेवाजी गाउँ र डुडुवा गाउँपालिका–१ को कुदवा गाउँ सबैभन्दा बढि जोखिममा रहेका छन् । राप्तीसोनारी गाउँपालिका–७ का वठाध्यक्ष रामलखन थारुले राप्ती नदीको कटान नियन्त्रणका लागि पक्की तटबन्ध एकमात्र बिकल्प भएको बताए ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार