२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday
राजनीति

राजनीतिमा रोक्दै नरोकिने विद्याको अडानले झस्किए ओली

जनमत नभएका शंकरसहित, विष्णु रिमाल, राजन भट्टराई, महेश बस्नेत, सूर्य थापा, निरु पाल, ज्वालाकुमारी साहहरूले ओलीलाई उक्साउने गरेका छन् ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ६ गते मंगलबार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफू पछाडि नहट्ने अडान लिएकी छन् । उनले नियमित रूपमा पार्टी कार्यालय आउने र नेता कार्यकर्तासँग भेटघाट गर्नेसमेत बताएकी छन् । यसले ओली थप झस्किएका छन् । पार्टी कार्यालयमा समानान्तर अध्यक्षको अभ्यास गर्ने संकेतपछि ओलीले तपाई पूर्वराष्ट्रपति हो, सम्मान लिएर बस्नुपर्ने भनेका थिए । तर, विद्या भण्डारी त्यतिमा मात्रै रोकिनन् ।

विश्वका धेरै मुलुकका राष्ट्रपतिहरू पूर्व पेशामा फर्केको उदाहरण दिएर राजनीति आफ्नो पूर्व पेशा भएको र यसमा जनताको प्रत्यक्ष सेवा गर्ने अवसर रहेको बताउँदै अवरोध नगर्न आग्रह गरेकी थिइन् । आइतबार च्यासलमा ओलीसँगको भेटमा विद्याले भनिन्, ‘पार्टीले मलाई अवरोध गर्दैन भन्ने लाग्छ, म अघि बढिसकेँ । तपाईँको धारणा पनि स्पष्ट आओस्, आफ्नो निर्णय गर्ने अधिकार मलाई पनि छ, तपाईँलाई पनि छ ।’ ओलीले बालुवाटर बोलाउँदा नगई भण्डारी पार्टी कार्यालयमा पुगेकी थिइन् ।

ओलीले भेटघाटका लागि बालुवाटार बोलाए पनि उनले पार्टी कार्यालय रोजेर ओलीलाई अप्ठेरो पारेकी थिइन् । २०५४ सालमा भएको पार्टीको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य भई केन्द्रीय कमिटीको उपाध्यक्षसम्म भइसकेकी भण्डारीको पार्टी सदस्यताकै विषयमा भएका विवादमा पनि विद्याले केन्द्रीय कमिटीको बैठक अघि ओलीलाई भेटेर आफू ‘क्लियर’ हुन चाहेकी थिइन । छैटौँ महाधिवेशनदेखिको एउटै कमिटीको सहकार्य र राष्ट्रपति हुँदाको समयको भूमिकामा समेत प्रधानमन्त्री ओलीसँगको विश्वासिलो सम्बन्ध नयाँ परिवेशमा नयाँ ढंगले स्थापित हुँदै गरेको देखिएपछि पार्टीपंक्ति पनि अन्योलमा परेको थियो ।

ओली–भण्डारी सम्बन्धका ऐतिहासिक कोण र नेकपा एमालेभित्रको खास टिमबाट प्राप्त सूचनाहरूको विश्लेषण गर्दा यसअघि चलेका सकारात्मक तथा नकारात्मक हल्लाहरू एमालेमा भावी नेतृत्वका रूपमा भण्डारीलाई स्थापित गर्ने गरी अघि बढेपछि ओली समस्यामा परेका छन् । राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि विभिन्न समयमा ओलीले दिने गरेका अभिव्यक्ति र भण्डारीका गतिविधिहरूले आउँदो नेतृत्वका रूपमा भण्डारीलाई देख्न सकिने आधार छन् ।

तर महासचिव शंकर पोखरेलको नेतृत्वमा भण्डारीलाई छेक्न जे प्रयोग गरे त्यो ओलीकै लागि पत्युत्पादक बन्दै गएको छ । जनमत नभएका शंकरसहित, विष्णु रिमाल, राजन भट्टराई, महेश बस्नेत, सूर्य थापा, निरु पाल, ज्वालाकुमारी साहहरूले ओलीलाई उक्साउने गरेका छन् । उनीहरूले भण्डारीलाई जसरी पनि रोक्नुपर्ने भन्दै ओलीलाई उक्साइरहेका छन् । माओवादीबाट प्रवेश गरेकी ज्वालाकुमारीले ओलीको भक्तिभाव गाउँदै कविता बचन गर्दा सुन्नेहरू रन्थनिएको स्रोतले बतायो । अन्य नेताहरू भने सहमतिमै अगाडि बढ्नुपर्ने र भण्डारीलाई स्वागत गरेर जानुपर्ने पक्षमा छन् ।

राष्ट्रपतिको कार्यकाल सकिएलगत्तै सदस्यता नवीकरण भएको चर्चादेखि १ वर्षअघि नवीकरण भएको चर्चा चलिरहँदा पछिल्ला केही दिन सदस्यता ‘होल्ड’देखि ‘नयाँ प्रक्रियाबाट लिनुपर्ने’ भन्ने सम्मका विषयमा सचिवालय, पोलिटव्यूरो बैठकमा उठेपछि भण्डारीले ओलीलाई भेटेर यी सबै विषयमा अन्योल सिर्जना गर्नमा तपाईँकै हात रहेको भन्दै असन्तुष्टिसमेत जनाएकी थिइन् । ओलीका कारण पार्टीभित्र उत्पन्न भएको वैचारिक समस्या र असन्तुष्टिलाई सम्बोधन गर्न पनि भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्ने एमालेका नेताहरूको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा भएको प्रत्यक्ष ध्रुवीकरणलाई पार्टीभित्रको आन्तरिक असन्तुष्टिलाई पहिचान पनि गर्ने र बाहिर जान नदिने व्यवस्थित योजना बनाउन थालिएको छ । भण्डारीलाई पार्टी राजनीतिमा ओलीले सिधै प्रस्ताव गरेको खण्डमा विरोध गर्न सक्ने सम्भावित व्यक्तिहरूसमेत अहिले भण्डारीलाई सक्रिय ढंगले साथ दिइरहेका छन् भने ओलीविरोधी मोर्चा त पूर्णरूपमा भण्डारीको छाताभित्र गोलबद्ध भइसकेको छ । नेकपाभित्रको अन्तरसंघर्षमा ओलीको विपक्षमा रहेका तर अन्तिम समयमा एमालेमै रहेका ‘दश भाइ’ मोर्चा पनि भण्डारीको छातामुनि बलियो ढंगले आइसकेका कारण ओलीले आफू कमजोर बनेको महसुस गरिरहेका छन् ।

पार्टीभित्र मौन रूपमा गुम्सिएका गुटहरू स्पष्ट रूपमा दुई समूहमा खुलेपछि ओलीलाई व्यवस्थापन गर्न कठिन भइरहेको छ । खासगरी पार्टीभित्र विगतमा ओलीले जे गरे, अहिले उनलाई अविश्वास गर्नुको एउटा कारण पनि त्यही रहेको छ । विगतमा मदन भण्डारी फाउण्डेशनमार्फत गुट चलाएका ओलीले जसरी नेतृत्वविरुद्ध जेहाद छेडेका थिए, अहिले त्यसरी नै ओलीलाई नेतृत्वबाट बाहिर ल्याउन चाहिरहेका छन् । साथै, भण्डारीले च्यासलस्थित पार्टी कार्यालयबाटै आफ्नो पार्टीगत कामहरू सञ्चालन गर्न ओलीका पूर्व सहयोगीहरूले साथ दिने भएका छन् ।

जसको साथ उसैलाई लात

विगतमा ओलीलाई जसले साथ दिएका थिए, उनीहरूलाई अपमान गरिँदै आइएको छ । बहुपदीय सामूहिक नेतृत्व, पार्टीमा आन्तरिक लोकतन्त्र, एक व्यक्ति, एक पद र नेतृत्व हस्तान्तरणको मुद्दा बोकेर एमालेको नेतृत्वमा उदाएका थिए, केपी ओली । तर, अध्यक्ष भएपछि उनी आफैँले उठाएका एजेन्डाप्रति उदासीन हुन पुगे । पार्टी सत्तामा ११ वर्ष बिताइसकेका ओली ७० वर्षे उमेर हदसमेत हटाएर तेस्रो कार्यकालका लागि तयार देखिन्छन् ।

नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि ओलीले १ साउन २०७१ मा पार्टी कार्यालय बल्खु पुगेर भावुक अभिव्यक्ति दिँदै भनेका थिए, ‘सम्भवतः कमरेडहरूको जत्तिको लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔँला नि त भन्ने सुविधा छैन भन्ने तथ्यप्रति सजग छु । मेरो सम्पूर्ण सामथ्र्य, ऊर्जा र विवेक पार्टी, जनता, देश र मानवताप्रति समर्पित हुनेछ ।’ काठमाडौं र भारतका अस्पतालमा निको नभएपछि ओलीलाई एयर एम्बुलेन्सबाट बैंकक पुर्याइएको थियो । त्यहाँ झन्डै एक महिना उपचार गराएर महाधिवेशनको ठीकअघि स्वदेश फर्किँदा उनको अनुहार सुन्निएको र दायाँ हातमा सेतो ब्यान्डेज थियो ।

पार्टीमा झन्डै १५ वर्ष नेतृत्व गरिसकेका माधवकुमार नेपाल उनका प्रतिस्पर्धी थिए । तैपनि ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जिताइदिए । आफ्नो परम्परागत गुटको बलमा मात्र ओलीले त्यो चुनाव जितेका थिएनन्, उनलाई मालेकालीन नेताहरू वामदेव गौतम, प्रदीप नेपाल र मुकुन्द न्यौपाने तथा विद्या भण्डारीको बलियो साथ थियो । तीनैजना ओली गुटका थिएनन् । तर, उनलाई जिताउन लागेका थिए । भण्डारीले भने लामो समयदेखि ओलीलाई साथ दिँदै आएकी थिइन् । अहिले उनै भण्डारीलाई पार्टीभित्रबाट रोक्ने र छेक्ने काम भइरहेको छ ।

तेस्रो वरीयतामा ओली

आठौँ महाधिवेशनमा झलनाथ खनालबाट पराजित भएपछि केपी ओलीले पार्टीमा तेस्रो वरीयता पाउनै महिनौँ संघर्ष गर्नुपरेको यथार्थलाई अहिले बिर्सेका छन् । पार्टी कमिटीमा खनाल अल्पमतमा थिए । ओलीको असहयोगले पार्टी सञ्चालन नै अवरुद्ध भएपछि पार्टी वरीयता मिलाइएको थियो । दोस्रो संविधानसभा निर्वाचनपछि भने पार्टीमा ओली एकाएक शक्तिशाली बन्न पुगे ।

अध्यक्ष खनाललाई पराजित गर्दै २१ माघ २०७० मा एमाले संसदीय दलको नेतामा चुनिए । त्यतिबेलै ओलीले वामदेव गौतमसँग मिलेर नेतृत्वमा उक्लिने ‘रोडम्याप’ बनाएका थिए । त्यसयता ओलीले नेतृत्व हस्तान्तरण र एक व्यक्ति एक पदको बहस गरेर अन्नतः सफलता हासिल गरे । नवौँ महाधिवेशनमा अध्यक्ष निर्वाचित भएपछि गौतमलाई संसदीय दलको नेता हस्तान्तरण गर्ने उनीहरूबिच सहमति थियो । त्यो सहमति कहिल्यै पुरा भएन । अहिले एमालेमा फर्किन खोजेका वामदेव गौतम माधवकुमार नेपालतिर पुगेका छन् ।

के भन्थे के गर्दैछन ?

२०६७ देखि २०७१ सालसम्म ओलीले पार्टीभित्र जे अभ्यास गरेका थिए, अहिले भण्डारीलाई त्यही गर्न रोकिरहेका छन् । उनले माधवकुमार नेपाल र झलनाथ खनाललाई हटाउन जे जस्ता उपायहरुरू रचेका थिए अहिले पनि उनको हकमा त्यही अनुसरण भइरहेको छ । पार्टी सचिवालय बैठक र पोलिटव्यूरो बैठकमा नेताहरूले ओलीलाई १२ वर्ष अघि दिएका अभिव्यक्ति र गरेका व्यवहारलाई राम्रोसँग स्मरण गराएका थिए ।

‘सारमा पार्टी लोकतन्त्रीकरण पार्टी जीवनमा नयाँ रक्तसञ्चार गर्ने विधि हो । पार्टी नेतृत्वमा पुगेपछि सिंगो पार्टी नभनेर संस्थापन भन्ने र आफ्ना अन्धसमर्थक र पक्षहरूको हितका निम्ति काम गर्ने, अलिकति असहमति वा फरक विचार राख्ने चिन्तनशील र सिर्जनशील साथीहरूलाई शत्रु ठान्ने, भजन सुन्न मन पराउने, आलोचना सुन्नुपरे कान टक्टक्याउने र भजनमण्डलीलाई स्थान दिन खोज्ने संकीर्णताले पार्टी जीवनलाई अस्वस्थ बनाउने भएकाले त्यस्ता तरिकाहरूलाई हटाउनु र स्वस्थ लोकतान्त्रिक विधि र व्यवहार अपनाउनु आवश्यक छ,’ मदन भण्डारी फाउन्डेसनद्वारा २०६७ मंसिर २२ र २३ गते काठमाडौंमा आयोजित राष्ट्रिय अभिमुखीकरण कार्यक्रममा केपी शर्मा ओलीद्वारा प्रस्तुत कार्यपत्र उद्धृत गर्दै नेताहरूले पार्टीभित्र पूर्वराष्ट्रपति भण्डारीको सक्रियतालाई रोक्न नहुने तर्क गरेका छन् ।

बैठकमा एमालेका नेताहरूले उमेर हदको विषयमा जमेर छलफल गरेका थिए । अहिले ओली ७३ वर्ष पुगिसकेकाले पनि यो विषयमा छलफल गर्नुपरेको नेताहरूले बाहिर निस्केर बताउने गरेका छन् । एमालेको विधानमा ७० वर्ष उमेर पुगेपछि नेतृत्वको जिम्मेवारी लिन नपाउने प्रावधान थियो । जुन हाललाई स्थगित गरिएको मात्र छ, हटिसकेको छैन । समाजवादीबाट एमालेमा फर्केका मुकुन्द न्यौपानेलाई व्यवस्थापन गर्न त्यो उमेरहद हटाइएको भनिए पनि अहिले आएर अध्यक्ष ओलीलाई तेस्रो कार्यकालको अध्यक्ष बनाउन हटाइएको भन्ने स्पष्ट देखिएको छ ।

प्रथम महिला प्रधानमन्त्री बन्ने घोषणा

प्रधानमन्त्री ओलीले कुनै बेला महिला प्रधानमन्त्री बनाउने घोषणा गरेका थिए । २०८१ भदौमा आयोजित यूथ कनक्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले धेरै पदमा देशको पहिलो महिला दिएको दाबी गर्दै अब प्रधानमन्त्री पनि बनाउने घोषणा गरेका थिए । ‘म यस्तो सौभाग्यशाली मान्छे हुँ जसले देशको पहिलो राष्ट्रपति महिला बनायो, पहिलो प्रधानन्यायाधीश महिला बनायो, सभामुख महिला बनायो, मेरै पालामा भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘र, पहिलो रक्षा मन्त्री महिला बनायो, अहिले भर्खरै मौका पाउने बितिक्कै पहिलो मुख्यसचिव महिला बनाएँ ।’

छिट्टै महिला प्रधानमन्त्री बनाउन चाहेको पनि ओलीले त्यतिबेला बताएका थिए । उनले भनेका थिए, ‘अब म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ ।’ यो कुरा एक वर्ष अघिको थियो । उनले भनेका महिला राष्ट्रपति र रक्षामन्त्री उनै विद्या भण्डारी हुन् । वास्तविकतामा कुरा गर्दा ‘दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्ने’ उनको भनाई थियो । त्यतिबेला यो भनाई विद्या भण्डारीप्रति लक्षित थियो भनेर आकलन गर्न सकिन्थ्यो ।

विद्यालाई रोक्न बालुवाटारमा रातभर बैठक

एमाले अध्यक्ष ओलीले सरकारी निवास बालुवाटारमा विद्यालाई कसरी रोक्ने भनेर महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, भानुभक्त ढकाल, पद्या अर्याल लगायतको गुट भेला गर्ने गरेका छन् । सचिवालय बैठक अघिबाट यो भेला निरन्तर रहेको छ । खासगरी यही भेलाले उपाध्यक्ष विष्णु पौडेल र उपपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि आफ्नो कोटरीभित्र राख्न सफल भएको थियो । ओलीको गुटिया भेलामा रहेका नेताहरुले पोलिटव्यूरो सदस्यहरुलाई पार्टीको निर्णय र संस्थागत धारणाप्रति खुलेर छलफल गर्न निर्देशन दिइएको थियो ।

साउन १ गते सचिवालय बैठक बस्नु अघिल्लो राती २ बजेसम्म एमाले अध्यक्ष ओलीले रामबहादुर थापासँग लामो छलफल गरेका थिए । सचिवालय बैठकमा थापाले ओलीकै पक्षमा बोलेका थिए । थापाले ओलीको पक्षमा बोलेपनि लेखराज भट्टले भने आफूहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा राखिएको भन्दै ओलीको आलोचना गरेका थिए । तर उनीहरू दुवैले उमेर हद प्राविधिक कुरा भएकाले राष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक नभएको भन्दै ओलीको भनाइलाई समर्थन गरेका थिए ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार