२०८३ कात्तिक २० , शुक्रबार 6, November 2026, Friday

देशैभर बढ्दैछ गर्मी, कहिले पर्ला पानी ?

राजधानी काठमाडौं लगायत देशैभर गर्मी बढ्दै गएको छ । आज काठमाडौंको तापक्रम ३१ डिग्री सम्म मापन भएको छ । यसपटकको मनसुन छिटो सुरु हुने अनुमान गरिएपनि पूर्वी नेपालमा प्रवेश गरेको मनसुन फैलिन नसक्दा गर्मी बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभागकी मौसमविद् प्रतिभा मानन्धरले कोशीसम्म मनसुन भित्रिइसकेको तर, पश्चिमी वायु बलियो भएको कारणले मनसुन सर्न नसकेको बताइन् । ‘वर्षमा चार महिना मात्रै नेपालमा पूर्वबाट पश्चिममा हावा बहन्छ, बाँकी आठ महिना पश्चिमी वायु नै हाबी भइरहेको हुन्छ,’ उनले भनिन् ।

उनका अनुसार मनसुन आउन पश्चिमी वायु अलिकति माथि सर्नुपर्छ, त्यो भनेको तिब्बतको लेबलतिर जानुपर्छ, बंगालको खाडीबाट आएको हावा कोशी हुँदै पश्चिमतर्फ सर्नुपर्छ । पश्चिमी वायु बलियो भएको अवस्थामा मनसुनी वायु पश्चिमतर्फ सर्न समय लाग्ने गरेको उनले बताइन् ।

आजको दिनमा पनि बादल थपिँदै गरेको दुई–तीन दिनमा काठमाडौंसम्म मनसुन आइपुग्न सक्ने उनको भनाइ छ । साथै, असारको पहिलो हप्तामा देशैभरी मनसुन फैलने सम्भावना रहेको उनको भनाइ छ । ‘सामान्यतया मनसुन भित्रने भनेको जुन १३ तारिक हो त्यो आउन अझै तीन दिन बाँकी छ,’ उनले भनिन् ।

उनका अनुसार पोहोर साल पनि पूर्वमा मनसुन पश्चिम पुग्न १५ दिनको समय लागेको थियो । ‘पोहोर साल अहिलेको तुलनामा धेरै गर्मी भएको थियो, गत बर्ष काठमाडौंमा ३५ डिग्री सम्म तापक्रम पुगेको थियो, अहिले ३१ डिग्री बल्ल पुगेको छ, उनले भनिन् । तापक्रम बढ्दै जानुमा मनसुनी वायु पश्चिमतर्फ बढ्न ढिलाइ भएको कारण भएको भन्दै मनसुनी वायु अगाडि सर्दा तापक्रम घट्ने उनको भनाइ छ ।

‘अहिले मनसुन कोशीमा नै बस्नुको कारण पश्चिम वायु अलिकति प्रबल भएकोले मनसुन वायुले पश्चिमी वायुलाई धकेलेर अगाडि बढ्न नसक्दा पानी नपरेको र गर्मी बढी भएको हो,’ उनले भनिन् । उनका अनुसार नेपाल सब–ट्रपिकल जोनमा पर्छ, यो क्षेत्रमा बाह्रै महिना पश्चिमी वायु नै हाबी हुन्छ । साथै आठ महिनासम्म वायु पश्चिमतर्फबाट पूर्वतर्फ बहन्छ । मनसुनी वायु बहने समयमा मात्रै वायु पूर्वबाट पश्चिमतर्फ बहने गर्छ ।

प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार