सूचनाको शक्ति - The Power Of Information

        

बेचन झाको बन्दी प्रत्यक्षीकरण खारेजीपछि आत्तिइन् आरजु

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका बेचन झाले थुनामुक्तीको माग गर्दै दिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन गत सोमबार सर्वोच्चबाट खारेजीको फैसला भएसँगै अरु विचौलियालाई पनि झस्को पसेको छ । झा पक्राउ परेपछि आरजु राणा देउवा पनि पक्राउ पर्ने डरले सत्ता गठबन्धन नै फेरिएको थियो ।

झा र आरजुबीच यस प्रकरणमा भित्री साँठगाँठ छ । झाले आरजुलाई रकम दिएको विषयमा अन्य अभियुक्तहरुले प्रहरीमा बयान दिएका छन् । त्यही काण्डमा सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको संयुक्त इजलासले रिट खारेज हुने फैसला गरेपछि अब झाले जिल्ला अदालतको अन्तिम ठहर कुर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

भुटानी काण्डमा पैसाको चलखेल गर्न विचौलियाको भूमिकामा रहेको आरोप लागेका झाले गत माघ २ गते सर्वोच्चमा वन्दी प्रत्यक्षीकरण रिट दिएका थिए । झासमेतको मिलेमतोमा नेपाली नागरिकलाई नक्कली भुटानी नागरिक बनाएर अमेरिका पठाउनेक्रममा २८ करोड ८१ लाख ७४ हजार पाँच सय रूपैयाँ पीडितबाट ठगी गरेको अभियोगमा ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा जिल्ला मुद्दा दर्ता भएको मुद्दा विचाराधीन छ ।

उनी गत बर्षको असार १३ गते पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन गत भदौ २ गते आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको निवेदनमा पनि मुद्दाको फैसला नहुञ्जेलसम्मका लागि पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको थियो ।

जिल्ला र उच्चले पुर्पक्षका लागि थुनामा पठाउने गरी भएको आदेशविरुद्ध झा पुनः निवेदन लिएर सर्वोच्च पुगेका थिए । त्यो निवेदन पनि खारेज भएपछि अन्तिम विकल्पका रुपमा वन्दीप्रत्यक्षकरण रिट दिएका हुन् । झाभन्दा अगाडी पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ काका छोरा प्रतिक थापा, पूर्व गृहसचिव टेकनारायण पाण्डेसहितका आठ प्रतिवादीहरु हाल पुर्पक्षका लागि थुनामै छन् ।

झा पक्राउपछि भुटानी शरणार्थी प्रकरणमा राजनीतिक संलग्नता खुल्ने अपेक्षा गरिए पनि ओली नेतृत्वको सरकार गठन भएपछि प्रहरी प्रमुखहरुको सरुवाले ‘डिसमिस’ पारिएको थियो । वन्दीप्रत्यक्षीकरण रिट खारेजीको अन्तिम ठहरसहितकोपूर्ण फैसला आउँदा ‘न्यायिक टिप्पणी’ आउनसक्ने आसा भने जिवितै छ । झाको माथिल्लो तहका शक्तिशाली नेताहरुसँगको ‘कनेक्सन’ रहेको तथ्यलाई पक्राउका क्रममा भारतीय प्रहरीको असहयोगले नै आशंका बढाएको थियो ।

रवि लामिछाने गृहमन्त्री बनेका बेला झा समातिएका थिए । जसरी समातिए पनि उनी समातिनु प्रहरी संगठन र देशकै हितका लागि ठूलो सफलता थियो । सरकार फेरिएपछि बेचन पक्राउको विषयमा प्रहरी संगठनमा समेत भाँडभैलो मच्चिएको थियो । झा पक्राउ पर्नेबेला प्रहरीका आईजीपी कुँबर नेपाल थिएनन् । इन्टरपोलको कार्यक्रममा भाग लिन अमेरिकामा थिए । कुँबर नभएको बेला आइजीपीको भूमिकामा उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका एआईजी दिपक थापा थिए ।

त्यही बेला झा समातिएका हुन् । झा पक्राउ परेको दुई दिनमै सत्ता समीकरणमै उलटफेर भएको थियो । तत्कालीन प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेले सरकार ढल्नुको मुख्य कारण बेचन झा पक्राऊ पर्नु नै रहेको दाबी गर्दै आएका छन् । झा पक्राउ पर्दा एमाले–काँग्रेसका माथिल्लो तहका नेताहरुमाथि अनुसन्धान सोझिने डरले सत्ता समीकरण गरिएको चर्चा अझै सेलाएको छैन ।

झा पक्राउपछि सत्ताको उलटफेरले तत्काललाई सत्ताधारी माथिल्लो तहका नेता जोगिए पनि पछिल्लो रिट खारेजीको फैसलाले नक्कली भुटानी प्रकरणको वन्द फाइल खुल्ने संभावना भने जिवितै देखिएको छ । सत्ता स्वार्थका लागि अनुसन्धानलाई प्रभावित पार्ने आइजिपी बसन्त कुँवरसमेत फेरिएको अवस्थामा वन्द फाइल उधिन्दा भुटानी काण्डमा अपराधका नयाँनयाँ ‘क्लू’ भेटिने संभावना छ । यतिमात्र नभै सर्वोच्चले वन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएपछि जिल्ला अदालतलाई स्वतन्त्र र निश्पक्ष ढंगले फैसला गर्नसमेत ढुक्क भएको अवस्था छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार ०७:३१

लोकप्रिय