सूचनाको शक्ति - The Power Of Information

        

८६ हजार निजामती कर्मचारीमा किन भेटिएनन् ‘सर्वोत्कृष्ट’

यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी विनै निजामती दिवस मनाएको छ । शनिबार २१ औँ निजामती दिवस मनाएको सरकारले विगतका सात वर्षमा जस्तै यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन सकेन । निजामती सेवाका ८६ हजार कर्मचारी रहँदा पनि सरकारले एकजना पनि सर्वोत्कृष्ट भेट्न नसकेको हो ।

योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यो वर्ष पनि कसैलाई नदिइएको स्रोतले जनाएको छ । निजामती पुरस्कार सिफारिस छनोट समितिको शुक्रबार बसेको बैठकपछि संघीय मामिला तथ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले यो वर्ष पनि सर्वोत्कृष्ट निजामती पुरस्कार कसैलाई नदिने बताएका थिए ।

उनका अनुसार यो वर्ष २० कर्मचारीले निजामती सेवा पुरस्कार र २० ले उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् । मुख्य सचिवको अध्यक्षतामा सर्वोत्कृष्ट तथा निजामती पुरस्कार सिफारिस समिति गठन हुन्छ । समितिमा संघीय मामिला तथा अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुन्छन् । सर्वोत्कृष्ट पुरस्कार दुई लाख रुपैयाँको छ ।

२०७३ सालमा भने शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो । सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार हालसम्म चार जनाले मात्रै पाएका छन् । २०६८ सालमा तत्कालीन परीक्षा नियन्त्रक सूर्य गौतम, २०६९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवतीकुमार काफ्ले र २०७० मा उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारीले पुरस्कार हात पारेका थिए ।

निजामती सेवा दिवसका अवसरमा २०६१ सालदेखि सरकारले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कार दिन थालेको थियो । सर्वोत्कृष्ट कर्मचारी छान्ने क्रम २०७४ सालदेखि हुन नसकेको हो । निजामती सेवा नियमावलीले सर्वोत्कृष्ट तथा उत्कृष्ट पुरस्कार पाउने कर्मचारीको न्यूनतम आधार र मापदण्ड तोकेको छ । पुरस्कार पाउन त्यस वर्ष व्यक्तिगत या संस्थागत रूपमा विशेष योगदान पुर्याएको, निजामती सेवामा प्रवेश गरेको कम्तीमा आठ वर्ष पुगेको, कुनै पनि विभागीय सजाय नपाएको लगायत मापदण्ड तोकिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतवार ०९:१२

लोकप्रिय