सूचनाको शक्ति - The Power Of Information

        

टेलिकमकी निमित्त प्रबन्ध निर्देशक संगीताको फेरि नयाँ दौड, श्रीमान् सक्रिय

माओवादी गठबन्धन सरकार बदलिएलगत्तै नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी पनि बदलिएकी छिन् । विगतमा विभिन्न माध्यमबाट टेलिकमको प्रबन्ध निर्देशक बन्न माओवादी नेताहरु कहाँ सम्पर्क बनाएकी पहाडी अहिले बालकोट निकट बिचौलियाहरुको सम्पर्कमा पुग्न थालेकी छिन् ।

उनले यसका लागि श्रीमान् विश्वबन्धु पहाडीलाई फेरि सक्रिय बनाएकी छिन् । विश्वबन्धुको विगतमा माओवादी नेता वर्षमान पुन लगायतसँगको हिमचिमको तस्वीर नै सार्वजनिक भएको थियो । अहिले उनी प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र राजेश ब्रजाचार्यसँग जोडिन थालेका छन् ।

बज्राचार्य ओलीका पारिवारिक भित्रिया हुन् र उनी विभिन्न कमिशनको खेलमा विवादमा परेका थिए । उनको भुटानी शरणार्थी प्रकरणमा पनि नाम जोडिएपछि तरंग नै आएको थियो । विभिन्न नियुक्तिहरुमा बज्राचार्यको पनि चल्ने बुझेरै संगीता पहाडीले सम्पर्क सूत्रहरुमार्फत् बज्राचार्यसम्म सम्पर्क बढाएकी हुन् ।

विश्वस्त स्रोतका अनुसार टेलिकमको बिलिङमा कमिशनको प्रलोभन देखाएर पहाडीले बज्राचार्यको विश्वास जित्न खोजेकी छिन् । टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया के हुने अन्यौलमै छ । नियुक्ति प्रक्रिया रोकिंदा पहाडीलाई बेफाइदा पुगेको बुझिएको छ । अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले पहाडीलाई नै नियुक्त गराउन खोजेका थिए ।

पहिले नाम चलेकाहरु पाखा लगाइएका थिए । तर, सरकार परिवर्तन हुने निश्चित भएपछि पहाडीको प्रबन्ध निर्देशक बन्ने प्रयास सफल हुन सकेन । उता संगीता पहाडी संलग्न भएको विभिन्न ठेक्का र बिलिङमा अख्तियारले छानविन तिव्र पारेको छ । अख्तियारको आँखामा परेको दर्जनौं ठेक्का प्रक्रियामा संगीता निर्णय प्रक्रियामा संलग्न छिन् । पछिल्लो समय उनी निमित्त प्रबन्ध निर्देशक भएपछि पनि विवादास्पद ठेक्का प्रक्रिया बढाइयो ।

विशेषगरी प्रचण्ड सरकारको पालामा बालुवाटारभित्रको त्यतिबेलाको कोर टिमसँग मिलेर उनले त्यस्ता विवादास्पद ठेक्का प्रक्रिया अगाडि बढाइन् । तर, अचानक सरकार परिवर्तनको माहोल तयार भयो । जब सरकार फेरिने भयो तब उनी नयाँ सरकारको शक्तिकेन्द्रसँग जोडिने दौडधूपमा छिन् । अहिलेकै प्रक्रियाबाट टेलिकमको प्रबन्ध निर्देशक बन्ने उनको प्रयास चलेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार ०८:४३

लोकप्रिय