मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ । नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहुँचमा पुग्ने गरेका छन् ।
नेपालमा बाथरोग आफैँ निको हुन्छ भन्ने सोचका कारण पनि यसका बिरामी उपचारमा नआउने गरेका छन् । सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालका धेरैजसो बिरामी सही उपचारको पहुँचमा नआउने गरेका र उपचार सेवासम्म आइपुगेका करिब ४० प्रतिशत बिरामीले मात्र बाथरोगलाई आफ्नो नियन्त्रणमा राख्न सकेका देखिएको पनि उनले बताए ।
उनका अनुसार अझै पनि नेपालमा बाथरोगका बारेमा जनचेतना जगाउनुपर्ने खाँचो देखिएको छ । ‘औषधि सेवन गरेपछि बीचमा छाड्ने, आफैँ जडीबुटी गर्ने तथा आयुर्वेद लगायतका एलोपेथिक बाहेकका औषधि खाने जस्ता कारणले उपचारमा आएका सबै बिरामीको रोग नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने ।
उनका अनुसार बाथरोग आफै निको हुन्छ भनेर बीचमा नै औषधि नखाने प्रवृत्ति पनि धेरैमा देखिएको छ । बाथरोग नसर्ने दीर्घरोग भएकाले नियमित औषधि सेवन गरिरहनुपर्छ । त्यसैले जनचेतनाको स्तर अझ बढाउनुपर्ने देखिन्छ । सेन्टरले बाथरोग पहिचानका लागि विभिन्न ठाउँमा शिविर राखेर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरिरहेको उनले बताए ।
उक्त बाथरोग विशेषज्ञ डा श्वेता नकर्मीले बाथरोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिने बताउछिन् । ‘बाथरोग नियमित औषधिबाट निको पार्न सकिन्न,’ उनले भनिन्, ‘रोगलाई नियन्त्रण गरेर विरामीलाई पहिल्येकै अवस्थामा लैजान भने सकिन्छ । तर पनि यो रोगको असर भने सधैँ देखिरहन्छ ।’ अन्य विभिन्न रोगको असरका कारण, वंशाणुगत र वातावरणीय प्रभावका कारण नेपालमा बाथरोग लाग्ने गरेको देखिएको छ ।
बाथरोग विशेषज्ञ डा नकर्मी ‘अटोइम्युन डिजिज’का कारणले बाथरोग लाग्ने गरेको बताउछिन् । रोग प्रतिरोधात्मक क्षमतामा केही गडबडी आयो भने बाहिरी जीवाणुसँग लड्ने कोषिकाले आफ्नै शरीरको जोर्नी र अङ्गलाई नष्ट गर्न थाल्दछन् र त्यसबाट उत्पत्ति हुने रोगलाई नै बाथरोग भन्ने गरिएको उनी बताउँछिन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेशनल ¥युम्याटोलोजी लिग (आइलार)को संयुक्त अध्ययनले जनसङ्ख्याको ३० प्रतिशतमा र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज् (हाडजोर्नी र मांशपेशी दुख्ने रोग)को समस्या हुने गरेको देखाएको छ । त्यसमध्ये १५ देखि २० प्रतिशतमा कम्मर तथा ढाड दुख्ने र घुँडा दुख्ने समस्या देखिएको अध्ययनमा उल्लेख गरिएको छ ।
नेपालमा बाथरोगको उपचार त्यति महँगो नभए पनि आम नेपालीका लागि भने यसको उपचार महँगो नै हुने गरेको बताइन्छ । बाथरोग पहिचानका लागि गरिने इम्युनोलोजिकल परीक्षण गर्नुपर्दछ र यो केही महँगो छ । बाथरोग र यसका अनेक प्रकारको पहिचानका लागि गरिने स्वास्थ्य जाँच केही महँगो हुने गरेको प्रबन्ध निर्देशक कक्षपतिले बताए । बाथरोगमा जीवनभर औषधि सेवन गर्नुपर्छ । यसका लागि मासिक करिब एक हजार २०० रुपियाँ जति खर्च हुने उनी बताउँछन् ।
‘यसरी एकजनाको परीक्षण र औषधि समेत गरी वार्षिक रु २० हजार भन्दा केही बढी खर्च हुनसक्छ,’ उनले भने । धुँलो धुँवा, चुरोट पिउने, मदिरा सेवन गर्ने, युरिक एसिड हुने खानेकुरा जस्तै बढी मात्रामा माछा, मासु र धेरै चिल्लो पदार्थ खाने, बढी तौल भएका व्यक्ति, दातँको र फोक्सोको समस्या भएका व्यक्तिहरुलाई बाथरोगको जोखिम बढी हुने गरेको चिकित्सकको भनाइ छ । बाथरोग गर्भमा रहेका बच्चादेखि सबै उमेर समूहमा लाग्ने गर्दछ । पाँचदेखि १५ वर्ष उमेरसमूहका बच्चालाई मुटुको वाथ ज्वरो बढी हुने गर्दछ ।
हाडजोर्नी खिइने रोग जुन बुढेसकालमा बढी हुने र आम बाथरोग गरी दुई किसिमका बाथरोग नेपालमा बढी देखिने गरेको डा नकर्मी बताउछिन् । तीमध्ये आमबाथ कडा खालको बाथ रोग हो । बाथ रोग लागेकामध्ये आम बाथरोग दुई तिहाई महिला र एक तिहाई पुरुषमा देखिने गरेको छ । ४० वर्षभन्दा माथिका महिलालाई आम बाथरोग सुरु सुरुमा हाडजोर्नी दुख्ने, सुनिने, बिहान उठ्दा शरीर कक्रक्क पर्ने, मुठ्ठी पार्न र खोल्न गाह्रो हुने समस्या हुने गरेको छ ।
त्यसपछि बाथरोग कडा हुन थालेपछि ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, तौल घट्ने जस्ता लक्षण देखिन्छन् । त्यसपछि बाथरोगले फोक्सो, आँखा, मुटुमा असर गर्ने गर्दछ । विशेषज्ञ डा नकर्मीका अनुसार समयमै औषधि खाएन भने कालान्तरमा हातखुट्टाका जोर्नी बाङ्गो हुने, काम गर्न नसक्ने जस्ता समस्या हुने गर्दछ ।
बाथरोग सेन्टरले विगत १० वर्षदेखि काठमाडौँको रातोपुलगायत देशका विभिन्न आठ ठाउँ ‘ललितपुको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङचोक, झापाको शनिश्चरे रोड, बुटवलको सुख्खा नगर, दाङको तुलसीपुर र चितवनको भरतपुर’ मा बाथरोग सेन्टर सञ्चालन गरेर बाथरोगको प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको र समय समयमा ती स्थान र अन्यत्र निःशुल्क शिविरको आयोजना गरेर बाथरोग पहिचान तथा जनचेतना जागृत गर्ने काम गर्दै आएको छ ।
बाथरोग लागेपछि हातका औँला दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात, खुट्टा र जीउ गह्रुँगो भई अप्ठेरो हुने, खुट्टाका बुढीऔँला वरिपरि रातो भएर टेक्न नहुने, गोलि गाँठो दुख्ने र सुन्निने, राति र बिहान ढाड दुख्ने र अप्ठेरो हुने, घुँडा दुख्ने र सुनिने जस्ता लक्षण देखिन्छ । बाथरोगको प्रारम्भिक लक्षण बिहान उठ्दा हातका औँला खुम्च्याउन गाह्रो हुने र दुख्ने, त्यसपछि विस्तारै सुनिने गर्दछ ।
यो अवस्थामा स्वास्थ्य जाँच नगराई दुखाइ कम गर्ने औषधि सेवन गरेर बस्दा रोग छिप्पिदै जाने हुनसक्छ । यस्तै कुर्कुचा दुख्ने ‘प्रायः बिहान उठ्ने बेला’, पाइताला पोल्ने ‘प्रायः रातिको समयमा’ वा झम्झमाउने, खुट्टा दुख्ने वा करकर खाने, जीउ गल्ने र छिटोछिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर अथवा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने, चिसोमा काम गर्दा हातखुट्टा निलो हुने आदि लक्षण बाथरोगका देखिन्छन् ।
बाथरोग सामान्य दुखाइदेखि डरलाग्दा किसिमका पनि हुने भएकाले बाथ लागेको शङ्का लागेपछि जतिसक्दो चाँडो परीक्षण गराउन यस रोगका विशेषज्ञ चिकित्सकहरुको सुझाव छ । सुरुमै रोगको पहिचान हुनसक्यो र औषधि सेवन गरियो भने यसको दीर्घकालीन असरबाट बच्न सकिने उनीहरु बताउँछन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं