सूचनाको शक्ति - The Power Of Information

        

बुटवल-गोरुसिंगे सडक चिनियाँ कम्पनीलाई ठेक्का

पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिंगे चन्द्रौटा सडक विस्तारका लागि ठेक्का सम्झौता भएको छ । सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले आयोजनाको पहिलो खण्ड बनाउन १३ अर्ब ५५ करोड ६५ लाख रुपैयाँमा ठेक्का लगाएको हो ।

चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले ठेक्का पाएको छ । सडक विस्तारका लागि एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यसअघि नै डिजाइन तयार भइसकेको छ । पहिलो खण्डलाई पनि टुक्र्याएर ठेक्का लगाइएको छ । दुई चरणमा २५–२५ किलोमिटर सडक विस्तार गर्न लगिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाख रुपैयाँमा ठेक्का लगाइएको हो । पहिलो खण्डमा सडक विस्तारका साथै सानाठूला ३० वटा पुल निर्माण गरिनेछ । ठेक्का सम्झौता अनुसार विभिन्न स्थानमा १५५ वटा कल्भर्ट, ६ वटा अन्डरपास र ओभरपास निर्माण गरिनेछ ।

सडक विस्तारका लागि तीन वर्षको समय तोकिएको छ । सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि २९ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याइएको छ । चालु वर्षका लागि ३० अर्बभन्दा बढी बजेट छुट्याइएको थियो । बुटवलदेखि चनौटासम्मको खण्ड विस्तारका लागि भने डिजाइन तयार गर्नै बाँकी छ । यो खण्डमा तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण गर्ने योजना छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार १८:२१

लोकप्रिय