सूचनाको शक्ति - The Power Of Information

        

संसदमा गगनले थर्काएपछि सामाजिक सञ्जालमा रवीको रोइलो

संसदमा गगन थापाले थर्काएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सामाजिक सञ्जालमा रोइलो पोखेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार संसदमा बोल्दै रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको प्रमाण नै देखाएका थिए ।

गगनले संसदीय छानविनबाट डराएको भनेपछि रविले साँझ सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिएका छन् । केही पहिलेसम्म नजिक रहेका गगन रवी पछिल्लो समय दूरी बढ्दै गएको छ । एकले अर्कालाई निशानामा पार्न थालेका छन् ।

शुक्रबारको संसद् बैठकमा कांग्रेसको अवरोधका कारण बोल्न नपाएका लामिछानेले कांग्रेस नेता थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती समेत दिए ।

यस्तो छ गगन लक्षित रवीको जवाफ

कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारीबाट ऋण मागेको र लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु । प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो ? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइँदैन ।

म संसदीय छानबिनसँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ? डर र रबि लामिछाने एकै ठाउँमा बस्दैनन् थापा जी । एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ ।

तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ । हेक्क राख्नुस्, म पनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ । म माथि लागेका संघिन आरोपहरुबारे एकपटक बोल्नसमेत नदिने अनि तपाईंको आदेश मैले मान्नुपर्ने ?

दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एकपटक बोल्न पाउँ न भन्दा संसदमा बाटो छेक्ने ? घेराउ गर्ने ? अझ डारायो भन्ने ? यहि हो कांग्रेसको लोकतन्त्र ? प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला । तपाईंको सभापतिले आजसम्म कसैलाई ठगेको छैन ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार ०६:२९

लोकप्रिय