सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य सम्वाद

‘१५ दिनमा एकपटक रातो मासु खाँदा केही फरक पर्दैन’

दशैँ, तिहार लगायतका महत्वपूर्ण चाडपर्वहरू भित्रिसकेका छन् । चाडपर्व भित्रिएसँगै सर्वसाधारणहरू घर जाने क्रम बढेको छ । चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै बढी लापरबाही हुनाले विभिन्न रोगहरूको जोखिम हुन्छ । खानामा सन्तुलन मिलाउन सकिएन भने रोगको जोखिम बढ्ने गर्छ ।

गर्मी मौसम सकिएको र जाडो मौसम पनि लगभग सुरू भइसकेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर अल्का अस्पतालमा कार्यरत फिजिसियन डा.रक्षा गौतमसँग चाडपर्वमा कस्तो खानेकुरा खाने, कतिसम्म खाने र कस्तो ध्यान दिनुपर्छ भनेर गरिएको कुराकानीको सम्पादित अंश ।

चाडपर्व भित्रिसकेको छ, यो बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । मुख्यतः खानपानमा ध्यान दिनुपर्छ । हेभी खाना खाने र चिल्लो खानाका कारण पेट खराब भएर बिरामीहरू दशैँ तिहारको बीचमा आउने गर्नुहुन्छ । यस्तै, हेभी खाना खाई अपच भएर, डायरिया भएर आउने बिरामीहरूको संख्या धेरै हुने गर्छ ।

हामीले नियमित हेरिरहेका डायबेटिजका, कोलेष्ट्रोलका बिरामीहरू पनि दशैँ तिहार पछाडि आएर हामीलाई रिपोर्ट देखाउँदा सुगर बढेको, कोलेष्ट्रोलको मात्रा बढेको हामीले भेट्छौं । युरिक एसिडहरू बढेको भेट्छौं । त्यसैले दशैँमा धेरै माछामासु खाएर आउने बिरामीहरू नै भेटेका छौँ । जसलाई स्वास्थ्य जोखिम भएको छ ।

खानामा धेरै एक्साईटेड भएर माछा मासु खाए पनि ठिक्क मात्रामा खानुपर्छ । आवश्यकता भन्दा धेरै खाइयो भने रोगको जोखिम बढ्छ । खाँदाखेरी पनि घरमा पकाएको स्वस्थकर खानेकुराहरू खानुपर्छ । खानासँगसँगै पानीको मात्रा पनि बढाउनुपर्छ । कतिपय घाँटीहरू दुखेका, टन्सिलका बिरामीहरू पनि देख्छौँ । धेरैजसो दही, बाहिरका मिठाईहरू, चिल्लो खाएर, सिसीमा राखेको पुरानो अचारहरू खाएर आएका बिरामीहरू पनि देखेका छौ ।

खाना त खानुपर्छ । तर, चाडपर्वको बेला ठिक्क मात्रामा खानुपर्छ । स्वास्थ्यलाई नै हानी गर्ने गरी धेरै खानु भएन । खाना खाँदा सन्तुलन मिलाएर खानुपर्छ । चाडपर्व आउँदा धेरै नै खाएको पायौँ । अहिले चाहिँ विकृति बढेर जाँडरक्सी सेवन बढी भयो । त्यस्तो पनि हामीले देख्छौँ । चाडपर्वको बेला रक्सी खाएर गाह्रो भएर इमर्जेन्सीमा आउनुभएको बिरामीहरू पनि हामीले भेट्छौँ । त्यो अलिकति कम गर्नुभयो भने स्वास्थ्यका लागि राम्रो हुन्छ ।

नियमित औषधि सेवन गरिरहेको बिरामीहरूले पनि ख्याल गर्नुपर्छ होइन र ?

नियमित औषधि खाने बिरामीहरू मुख्यतः रक्तचाप र सुगर रोग, कोलेष्ट्रोलका बिरामीहरूले औषधि चाहीँ नियमित खानुपर्यो । यस्तै कतिपय बिरामीहरू त चिकित्सकको फलोअप(निगरानी)मा नगएको पनि हामीले देखेका छौँ ।

औषधि पनि नखाने, खानापनि सन्तुलित रुपमा नखाने गर्दाखेरी स्वास्थ्य जोखिम आएको हामीले देखेका छौँ । दशैँ तिहारको बेला काठमाडौं बाहिर जादैँ हुनुहुन्छ । फलोअपमा आउनलाई त्यति सजिलो छैन भने पुग्नेगरी औषधि लिएर जानु उपयुक्त हुन्छ ।

उच्च रक्तचाप, मधुमेह लगायत भएकाले माछा मासु खाँदा विशेष ख्याल गर्नुपर्ला नि ?

माछा मासु खानै नहुने होइन । हामीले कोलेष्ट्रोल भएकाले रातो मासु अलिक कम गर्नु भन्छौँ । तर, मासु खाँदै नखाने भन्ने होइन । रातो मासुमा पनि पौष्टिक आहारहरू हुन्छन् । भिटामिन १२ हरू त्यसमै हुन्छ । खाँदै नखाँदाखेरी कोलेष्ट्रोल व्यालेन्स गर्ने नाममा भिटामिन १२ डिफिसियन्सीहरू भएर कमजोरी भएर आउनुहुन्छ ।

१५ दिनमा एकपटक रातो मासु खाँदा केही फरक पर्दैन । रातो मासु खान नहुनेलाई चिकेन, माछा पनि अप्सन छ । यस्तै, अण्डा, गेडागुडीहरू खान भन्छौँ । माछा मासु खानै नहुने भन्ने होइन । तर, सन्तुलित रुपमा ठिक्क गरेर खान मिल्छ । अहिले केही समययता डेँगुका बिरामीहरू बढेको देखेका छौँ ।

जाडो महिना आयो डेंगु लाग्दैन भनेर हेलचेक्र्याइँ भएको हो की भन्ने मलाई लाग्यो । तर, पनि हामीले रुघाखोकीका बिरामीहरू, सिजनल फ्लुका बिरामीहरू अझै पनि भेटिरहेका छौँ । चाडपर्वको मुखमा वृद्धवृद्धाहरू डेंगु भएर आइरहनुभएको छ । डेंगु हुन नदिन मंसिर नलागेसम्म शतर्क हुनुहोस् । कार्तिक महिनाभरी डेंगुको डर छ ।

त्यो सँगसँगै रुघाखोकी भएर आउने बिरामीहरू धेरै देखँे यो समयमा । वार्षिक फ्लू सिजन आउनुभन्दा अगाडी फ्लू भ्याक्सिन लगाएर फ्लूको जोखिमबाट अलिकति जोगाउनुपर्छ । फ्लू भ्याक्सिन सजिलैसँग पाइन्छ । जहाँ गएर लगाउँदा पनि हुन्छ । सामान्य कस्टमा हरेक परिवारले लगाउन मिल्छ ।

ज्येष्ठ नागरिक, बालबालिकामा पनि यो भ्याक्सिन सुरक्षित छ, फ्लू भ्याक्सिन, निमोनिया भ्याक्सिन । सकभर बाहिरको खाना नखानुहोस् । बाहिरको स्वस्थकर छैन । होटलहरूको धेरैपटक तेलमा पकाएको खानाहरू नखानुहोस् । यसले स्वास्थ्य जोखिम बढाउँछ ।

मौसम परिवर्तनसँगै सिजनल फ्लू बढिरहेको छ ? अस्पतालमा सरुवा रोगका बिरामीहरूको चाप बढेको हो ?

सरुवा रोगमा फ्लू भएर आउने बिरामीको चाप बढेको छ । हामीले के भेटिरहेका छौँ भने इन्फ्लुएन्जा जुन सामान्य किसिमको लक्षणहरू आएर देखिन्थ्यो नि पहिले चार–पाँच वर्ष अगाडि । अहिले इन्फ्लूएन्जामा कडा लक्षणहरू देखिने गरेको छ ।

उच्च ज्वरो आउने, डेंगुका र इन्फ्लूएन्जाका लक्षणहरू लगभग मेल खाने, बिरामीहरू एकदम सिकिस्त हुने (कतिपयलाई त निमोनिया पनि भएको छ) पनि देखिएको छ । इन्फ्लुएन्जाबाट छातीमा संक्रमण हुनु भनेको एकदमै जोखिम हो ।

कति अक्सिजन लगाएर बिरामीहरू आईसीयुमा पनि हुनुहुन्छ । भएको चाहीँ भाइरल निमोनिया नै हो । सुरू भएको त रुघाखोकीबाट नै हो । त्यही नै बिग्रेर निमोनियाका केसेसहरू हामिले देखेका छौँ । सिजनल फ्लू भनेर भन्छौँ नि हामीले नेपालमा वर्षमा दुई पटक आउँछ ।

सिजन चेन्ज हुने बेलाको इन्फ्लुएन्जाको संक्रमण, भाइरसबाट हुने यसबाट जोगिनको लागि अब सरकारले पनि अलिकति जोड इन्फ्लुएन्जा भ्याक्सिनमा दिनुपर्ने हो की जस्तो लाग्छ । अझै पनि म कहाँ आउने बिरामीहरूलाई इन्फ्लुएन्जा भ्याक्सिनका बारेमा थाहा नै छैन । म बुझाउन प्रयास गरिरहेको हुन्छु ।

यो लगाउनुपर्छ र भनेर बिरामीहरू कन्फ्युजनमा भएको पाउँछु । हेल्थ प्रोफेसनमात्रै होइन, साधारण जनताले पनि लगाउनुपर्ने बेला आइसकेको छ । संक्रमणको दर बढेको छ । इन्फ्लुएन्जा लागेर निमोनिया भएर मृत्यु हुनु भनेको त एकदमै भयावह अवस्था हुन्छ । यसपाली भाइरल निमोनियाको केस अलिक धेरै देखेको भएर हजुरहरूलाई अलिकति सुझाव हो ।

चाडपर्व सुरू भइसक्यो, अहिले डेंगु संक्रमितको संख्या बढेको छ, यसबाट बच्न के गर्नुपर्ला ?

डेंगु संक्रमित हुनेहरूको संख्या बढेको छ । यसमा मुख्यतः लामखुट्टेलाई नै नियन्त्रण गर्नुपर्छ । लामखुट्टेलाई प्रजनन गर्ने वातावरण बन्न दिनुहुँदैन । डेंगु लागिसकेपछि के गर्ने ? भन्नेकुरा आउँछ । डेंगु लाग्न नदिन आफ्नो तर्फबाट सूर्योदय भएको दुई घण्टा र सूर्यास्त हुनुभन्दा दुई घण्टा अगाडि डेंगुका लामखुट्टे एकदमै एक्टिभ हुन्छ भन्छन् । त्यतिबेला आफूलाई जोगाउनुपर्छ ।

रातीभन्दा पनि यसले दिउँसो टोक्ने भएकोले दिउँसो बाउला भएको कपडा लगाउने, मलमहरू लगाउने, बालबालीकाहरूलाई फुल बाउला भएका कपडाहरू लगाइदिएर विद्यालय पठाउने, सकिन्छ भने २४ घण्टा लामखुट्टे धपाउने झुलहरू प्रयोग गर्ने, लामखुट्टेलाई प्रजनन हुन नदिन पानी जमेको ठाउँमा माटोले पुरिदिने गर्नुपर्छ । यस्तै, बाल्टीन,ट्याङ्कीमा पानी छ भने बिर्को लगाइदिने गर्नुपर्छ । रुखबिरुवा, झाडीहरू छन् भने काटेर सफा राख्ने ।

पुरानो टायरहरूमा पनि लामखुट्टेको रिप्रोडक्सन बढी हुन्छ । ती पुराना टायरहरूलाई नष्ट गरिदिनुपर्छ । डेंगु सामान्य भाइरल ज्वरो हो । तर, यसमा सचेत हुनुपर्छ । आतंकित हुनुभएन । डेंगु लागिसकेपछि सामान्य औषधि, सिटामोल खाएर घरमा तरल झोल कुराको मात्रा बढाएर घरमा बसेर आराम गरेर पनि निको पार्न सकिन्छ । सामान्य लक्षण हुनेहरू त अस्पताल आउनु पनि हुँदैन । अहिले त जनचेतना अलिक बढेको छ । टाउको दुख्ने, उच्च ज्वरो आउने, जिउ दुख्ने, मांसपेशीहरू एकदमै दुख्ने, हात गोडाहरूमा बिबिराहरू आउने, नाक, मुखबाट रगतहरू आउने, पेट दुख्ने, दिसामा रगत आउने, वान्ता आउने, खाना खान नसक्ने अवस्था भयो भने तुरुन्तै अस्पतालको सम्पर्कमा आउनुहोला ।

स्रोत : न्युज एजेन्सी नेपाल
प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलवार ०९:५३