२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday
मन्त्रिपरिषद् बैठक

मंगलबार राष्ट्रिय शोक घोषणा, राष्ट्रिय झण्डा आधा झुकाइने

शव यथाशीघ्र स्वदेश ल्याउने
सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज २२ गते सोमबार

इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘यस अकल्पनीय घटनामा दिवंगत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय क्याबिनेटले गरेको छ,’ बैठकपछि पत्रकारहरूसँग मन्त्री शर्माले भनिन्।

इजरायल सरकारसँग समन्वय गरी आक्रमणमा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय पनि सरकारले गरेको छ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार