सूचनाको शक्ति - The Power Of Information

        

उपराष्ट्रपतिले शिलान्यास गरेको पुल नै गायब !

पुलको शिलान्यास गर्दै उपराष्ट्रपति रामसहाय प्रसाद यादव । फाइल तस्वीर

अहिले वर्षाको समय देशका धेरै स्थानहरू अहिले नागरिकहरूले खोला नदीहरूमा पुल नहुँदा निकै सास्ती भोगिरहेका छन् । कतिपय स्थानहरूमा पुल बगाएका छन्, कतिपय स्थानमा वर्षौँदेखि निर्माण अधुरै छन् भने कतिपय स्थानमा पुल निर्माण नै हुन सकेको छैन ।

यस्तै समस्या बारा जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगर, रघुनाथपुरमा पनि छ । वर्षौँदेखि यसै गाउँ जोड्ने पसाह नदीमा पुल निर्माण नहुदाँ यहाँका नागरिकहरूले सास्ती भोग्दै आएका छन् । वडा नम्बर १७ मा जैतापुर र रामनगर जोड्ने पसाहा नदीमा पुल नबन्दा नागरिकहरूले सास्ती भोगिरहेका छन् ।

नदीमा पुल नबन्दा यहाँका नागरिकहरू आफ्नै पालिकाको केन्द्र मात्र होइन वडा कार्यालयको सेवाबाट बञ्चित हुन बाध्य भएका छन् । पुल नहुदाँ बर्सातको समय नदीमा बाढी आएपछि रामनगर र रघुनाथपुरका झण्डै ६ सय घरधुरी उपमहानगरपालिकाको केन्द्र जीतपुरसँग र स्वयं वडा कार्यालयसँग समेत सम्बन्ध विच्छेद हुने स्थानीयहरू बताउँछन् ।

नदीमा बाढी आएपछि बर्षातको समयमा हलुका सवारी साधनहरू समेत आवतजावतमा निकै समस्या हुने स्थानीयहरू बताउँछन् । खोलामा बाढी आएपछि वडाको सामान्य सिफारीस लिन पनि पूर्वपश्चिम राजमार्ग हुँदै झण्डै २५ किलोमिटर भन्दा बढिको यात्रा गरे जानुपर्ने बाध्यता रहेको स्थानीय समाजसेवी महेन्द्र प्रकाश विमलीले बताए ।

आफ्नो झण्डै ७५ वर्ष उमेर भयो खोलामा पुल तरेर यात्रा गर्ने अझै पुरा हुन सकेको छैन । विमलीले भने‘ धेरै नेता र सांसदलाई जिताएर पठायौ आश्वासन मात्र पाइयो तर पुल बनेन ।’ उनको गुनासो छ । पुल नहुदाँ यहाँ रहेको उच्च माविमा समेत प्रभाव पर्ने गरेको छ । ठुलो वर्षा र खोलामा बाढी आएपछि विद्यार्थीहरू पनि उपस्थिति कमी हुने र पठाउने कतिपय शिक्षकहरूमा उपस्थित हुन कठिनाइ हुनै नेरामाविका प्रधानाध्यापक सुरेन्द्र चौरसियाले बताए ।

विद्यालयमा अध्ययन गर्न अन्य गाउँहरूबाट पनि आउने गरेको र धेरै शिक्षक शिक्षिकाहरू पनि बाहिरबाट आउने भएकाले वर्षाको महिना समस्या हुने प्रअ चौरसियाको भनाई छ । आफू वडाध्यक्ष हुँदासमेत पटकपटक क्षेत्र सांसद, पूर्वमन्त्री र स्वयं नगरपालिकाको नेतृत्वसँग समस्या बारे जानकारी गराउँदा समेत व्यवस्था गरेको वडा नं.१७ का निवर्तमान वडाध्यक्ष नवराज बहादुर खड्काले बताए ।

वर्तमान वडाध्यक्ष भीमबहादुर गन्तानको पनि गुनासो उस्तै छ । यसै टोलमा घर भएका वडाध्यक्ष गन्तान पनि नदीकै कारण कयौं पटक वडामा कामकाज गर्न जानै नपाएको गुनासो सुनाए । सरोकारवाला निकायका सबै यो समस्याका बारे जानकार छन् तर काम हुन नसकेको गुनासो वडाअध्यक्ष गन्तानले गरे ।

उता जीतपुर–सिमराका मेयर राजन पौडेल पनि समस्याबारे जानकार छन् । उनले पनि सडक डिभिजन र मन्त्रालयमा एकदुई पटक पहल गरेको छिटै टेन्डर हुने आश्वासन पाइयो । तर काम हुन नसक्दा आफू पनि लज्जित भएको बताए । पुल निर्माणका लागि फेरी थप पहल गर्ने प्रतिबद्धता उनको छ । पुल निर्माणका लागि टेन्डर नभएपनि पुलको शिलान्यास भने गत वर्ष नै भइसकेको छ ।

पुल शिलान्यास भएको एक वर्ष भयो तर न त पुलको ठेक्का नै लागेको छ, न त पुल बन्ने सुरसार नै छ । गतवर्ष असोज ९ गते तत्कालीन बारा २ सांसद एवम् हालका उपराष्ट्रपति रामसहाय यादवले सोही पुलको शिलान्यास गरेका थिए । गत मङ्सिरमा सम्पन्न आमनिर्वाचनलाई लक्षित गरेर भोट बटुल्नका लागि सोही क्षेत्रका तत्कालीन सांसद एवम् जसपा प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले नै उक्त पुलको शिलान्यास गराएका थिए ।

सडक विभागको पुल शाखाले गत असोज ४ गते जैतापुर र रामनगर जोड्न पसाहा नदिमा पुल १६५ मिटर लम्बाइ दुईलेन गरि करिव ४० करोडको लागतमा निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो । तर ठेक्का साकार नहुँदै हतार हतारमा पुल शिलान्यास गर्नु चुनावका लागि जनतालाई झुक्याउने काम मात्र भएको रामनगरका स्थानीय अगुवा परशुराम दाहालले बताए । विभागले निकालेको उक्त टेन्डर उपर कुनैपनि बिड नभएपछि फेरी ठेक्का नै भएको छैन ।

वर्षामा बाढीले डुबान हुने र हिलो अनि सुक्खायाममा बालुवा र धुलोका कारण हैरानी खेप्नुपर्ने बाध्यता रहेको वडा नं. १७ रामनगरका समाजसेवी अगुवा चुडाहरि अधिकारीको गुनासो छ । सडक विभाग अन्तरगत डिभिजन सडक कार्यालयका बारा जिल्ला हेर्ने इन्जिनियर रमेश पाण्डेयका अनुसार आफूलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार बजेट सुनिश्चिता नभएकाले अर्थ मन्त्रालयले गत वर्ष टेन्डर प्रक्रिया रोकिदिएको हो ।

यो वर्ष टेन्डर प्रक्रियामा जाने सम्भावना रहेको पाण्डेको भनाई छ । चुनावका बेला पुल बनाइदिने भन्दै आश्वासन दिदैँ यी गाउँवासीसँग मत लिएर जाने तर जितेपछि नाकमुख नै देखाउन नआउने भन्दै रामनगर रघुनाथपुरवासी सांसदहरू प्रति पनि आक्रोशित छन् । गत सम्पन्न संघ तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेकी पूर्वमन्त्री ज्वाला कुमारी साह यसै क्षेत्रबाट निर्वाचित हुनुभएको छ भने प्रदेशसभा तर्फ पनि एमालेकै रवीन्द्रदास श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ०९:३७

लोकप्रिय