सूचनाको शक्ति - The Power Of Information

        

बेतिथि

कोहलपुरको फोहोरमै राजनीति, दुर्गन्धित बन्यो नगरपालिका

बाँके । बाँकेको कोहलपुर नगरपालिका झनपछि झन दुर्गन्धित बन्दै गएको देखिएको छ । कोहलपुर नगरपालिका र जटायु रिसाइकलर्स प्रालिबीच विवाद हुँदा फोहोर व्यवस्थापनमा समस्या देखिएको र शहर दुर्गन्धित बनेको हो ।

सम्झौताअनुसार रकम भुक्तानीको विषयमा कुरा नमिल्दा जटायु रिसाइकलर्सले कोहलपुरमा फोहोर उठाउन छोड्दा फोहोर शहरभरी यत्रतत्र छरिएको छ । लुम्बिनी प्रदेशकै सुन्दर सफा शहरका रूपमा पहिचान बनाएको कोहलपुर यतिबेला फोहोरको डंगुरले भरिएको छ ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीदेखि फोहोर व्यवस्थापक समेत फोहोरमै राजनीति गर्न थालेका छन् । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै कुर्ची धरापमा देखिएपछि जनप्रतिनिधि कर्मचारीसँगको सेटिङ्गमा कमाउधन्दामा लागिरहेका छन् ।

विकास निर्माणका योजनादेखि गाडी खरिदमा लुटतन्त्र मच्चाउने जनप्रतिनिधि यतिबेला फोहोर व्यवस्थापनका नाममा कमाउधन्दामा सक्रिय छन् । नगरको फोहोर व्यवस्थापनका लागि भएको दुईपक्षिय सम्झौता नगरपालिकाले कार्यान्वयन नगरेको खुलेको छ ।

नगरपालिकासँग भएको सम्झौता कार्यान्वयन नभएको आरोप लगाउँदै फोहोर व्यवस्थापनको जिम्मा लिएको जटायु रिसाइकलर्स प्रालिले गत बिहीबार देखि कोहलपुरको फोहोर उठाउन छोडेको जटायु रिसाइकलर्सका सञ्चालक नरेश बिसी बताउँछन् ।

रकम भुक्तानी लगायतका विषयमा सहमति हुन नसकेपछि फोहोर उठाउन नसकिएको उनले बताए । नगरको फोहोर व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाले १५ वर्षका लागि जटायु रिसाइकलर्ससँग २०७७ असार २६ गते सम्झौता गरेको थियो ।

सम्झौताअनुसार मेसिन खरिदका लागि अहिले ४० लाख रुपैयाँ माग गरेकोमा भुक्तानी गर्न आलटाल गरिरहेको बिसीले बताए । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने संस्थालाई रकम उपलब्ध गराउने सम्झौतामा पत्रमा उल्लेख छ ।

जटायुले फोहोर संकलन गरेवापत मासिकरुपमा व्यवसायी तथा घरधनीबाट निश्चित रकम उठाउने गरेको छ । फोहोर प्रशोधन गर्ने मेसिन खरिद गर्ने रकमको बारेमा सहमति हुन नसक्दा समस्या भएको नगरपालिका बताउँछ ।

कोहलपुर नगरपालिकाले भने सम्झौताबमोजिमको रकम दिन कुनै समस्या नरहेको जनाउँदै बैङ्क ग्यारेन्टी वा मेसिनको बिल माग गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोहलपुरको फोहोर व्यवस्थापनका लागि विभिन्न संरचना निर्माण गर्न तथा आवश्यक मेसिन खरिद गर्न जटायुलाई दुई करोड रुपैयाँ दिने सम्झौता गरेको बताए ।

उनले सोही सम्झौताबमोजिम हालसम्म एक करोड भुक्तानी दिइसकिएको र अहिले माग गरिएको रकम दिन बैङ्क ग्यारेन्टी वा बिलमध्ये एक ल्याउनुपर्ने बताए । नगरपालिकाले सम्झौताअनुसार नै काम गरिरहेको प्रस्ट पार्दै नगर प्रमुख रावतले फोहोर व्यवस्थापन नहँुदा नगरवासीलाई समस्या पर्न थालेकाले तत्काल व्यवस्थापन गर्न निर्देशन दिइएको बताए ।

उनले फोहोर नउठाए कानुनी कारबाहीमा जाने बारेमा छलफल भइरहेको बताए । पटक पटक जटायु रिसाइकलर्स र कोहलपुर नगरपालिकाबीच छलफल भएर पनि सहमति हुन नसक्दा बजारमा फोहोर थुप्रिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल यसअघि नै गरिएको सम्झौता स्पष्ट नहुँदा समस्या भएको बताउँछन् ।

कोहलपुरका न्यूरोड, चौराहा, बसपार्क, पीपल चौतारा लगायतका मुख्य बजार क्षेत्रमा फोहोर थुप्रिएको छ । दुर्गन्ध भने दिनदिनै बढिरहेको छ । बजार क्षेत्रबाट उठाएको फोहोर जटायुले कोहलपुर–९, मा किनेको खाली जग्गामा व्यवस्थापन गर्दै आएको थियो । कोहलपुरमा दुर्गन्ध फैलिएसँगै स्थानीयले झण्डै एक सातादेखि फोहोर नउठ्दा बजारमा जता हेरे पनि फोहोरमात्रै देखिन थालेको गुनासो गरेका छन् ।

 

सम्बन्धीत समाचारहरु :

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार ०८:४३