Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार
कोहलपुरमा बेतिथि

प्रसुति गृहको रकममै लुटतन्त्र

प्रसुति गृहको रकममै लुटतन्त्र

बाँके । बाँकेका आठवटा स्थानीय तहका कतिपय वडास्तरमै प्रसुति गृह निर्माण भैरहेका बेला पनि कोहलपुर नगरपालिकाले यसप्रति ध्यान दिएको छैन । नगरपालिकासँग मात्रै नभई यहाँ प्रायः स्वास्थ्य संस्था रहेका वडामा समेत प्रसुति कक्षको अभाव देखिएको छ ।

नगरपालिकाका मेयर लुटबहादुर रावत प्रसुति गृह लगायतका अत्यावश्यक भौतिक पुर्वाधार र योजना बनाउनेतर्फ भन्दा पनि विलासिताका लागि लाखौं मुल्यका गाडी खरिद गर्ने र हुईकिने दाउमा व्यस्त देखिएका छन । प्रसुति गृहको बािर्षक दुई करोड नगरपालिकाले कोहलपुर मेडिकल कलेजलाई दिँदै आएको छ ।

नगरपालिकाले अहिलेसम्म मेडिकल कलेजलाई दिएको रकमले कोहलपुरमा प्रसुति गृह निर्माण भइसक्ने स्थानीय बताउँछन् । नगरपालिकाका मेयर लुटबहादुर रावत र केही जनप्रतिनिधिको मनोमानी र कलेजका केही पदाधिकारीको मिलेमतोमा उक्त रकम बर्षेनि मेडिकल कलेजमा जाने गरेको नगरपालिकाकै जनप्रतिनिधि बताउँछन् ।

दुई खेमामा बाँडिएको कोहलपुर नगरपालिकामा लुटबहादुरको साँच्चिकै लुटतन्त्र मच्चिँदै आएको एकथरीको आरोप छ । तर, यसरी आरोप लगाउने पक्षका जनप्रतिनिधि पनि लुटबहादुरको लुटतन्त्रमा मौन देखिएका छन् । यतिसम्मकी उपमेयर सञ्जुकुमारी थारूको पनि मौन समर्थन रहेको कोहलपुरबासी बताउँछन् ।

नगरपालिकाले प्रसुति गृह बनाउन नसकेर प्रतिवर्ष करिव दुई करोड बढी रकम मेडिकल कलेजमा दिने गरेको अवस्थामा नयाँ गाडी खरिद गरि सरकारी सम्पति दोहन गर्नु ठिक नभएको कोहलपुरका स्थानीय भुम भण्डारी बताउँछन् । कोहलपुर नगरपालिकाको जनसंख्या करिब एक लाखको हाराहारीमा छ ।

यस जनसंख्याका लागि यतिबेला पनि कोहलपुरमा प्रसुति गृहको अभाव छ । कोहलपुर मेडिकल कलेजमा भएको प्रसुति गृह जनसंख्याको आधारमा उपयुक्त र क्षमतावान देखिँदैन । नगरपालिकाको विकास निर्माण भने शुन्यजस्तै अवस्थामा देखिएको नेकपा कोहलपुरका नगर अध्यक्ष वसन्ती अधिकारी बताउँछिन् ।

नगरपालिकाले प्रस्तुति गृह बनाउन नसकेर प्रतिवर्ष करिव दुई करोड बढी रकम मेडिकल कलेजमा दिने गरेको अवस्थामा नयाँ गाडी खरिद गरि सरकारी सम्पति दोहन गर्नु ठिक नभएको उनी बताउँछिन् ।

जनतालाई स्वास्थ्य शिक्षा, खानेपानी, सरसफाई र विकास निर्माणका पूर्वाधार समस्या भएका बेला नगरपालिकाले गाडी खरिद गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाकी उपप्रमुख थारू बताउँछिन् । तर, मेयर लुटबहादुर र केही जनप्रतिनिधिको मिलेमतोमा जनहित विपरितका निर्णयमा उपमेयर थारूले ‘नोटअफ डिसेन्ट’ भने लेख्न आँट गरिको देखिँदैन ।

बाहिर मेयरको विरोध गरे पनि गाडी खरिदमा उपमेयर थारूको पनि आन्तरिक सहमति रहेको देखिएको छ । नगरपालिकाले गाडी खरिद गरेको होस वा प्रसुतिको रकम कलेजलाई दिएको कुनै पनि बिषयमा आफुहरूलाई थाहा नभएको र जानकारी पनि नदिने गरेको वडाध्यक्ष निरज चलाउने बताउँछन् ।