Loading... आजः १ असार २०७८, मंगलवार
कोरोना कहर

कोरोनाको भुँग्रोमा कोहलपुरबासी, लाज पचाउँदै उद्घाटनतिर ‘मेयर लुटबहादुर’

कोरोनाको भुँग्रोमा कोहलपुरबासी, लाज पचाउँदै उद्घाटनतिर ‘मेयर लुटबहादुर’

बाँके । बाँके जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा छ । नेपालगन्ज एक महिनादेखि कोरोनाको चपेटामा परेको छ । नेपालगन्जसँगै जोडिएको कोहलपुर पनि उत्तिकै जोखिममा छ । हरेक दिन कोहलपुर मेडिकल कलेजमा नागरिकले उपचार बिना ज्यान गुमाइरहेका छन् । कोहलपुरका नागरिकहरु आइसोलेशन बस्न नपाएर कोरोनाको भुँग्रोमा तड्पिरहेका छन् । कोहलपुर नगर क्षेत्रका अधिकांश घरपरिवार संक्रमित छन् ।

नगरपालिकाले सामान्य परामर्शमा समेत चासो देखाएको छैन । नागरिकलाई औषधि र अक्सिजन छैन । विलासीताको मोह बढेपछि मेयर लुटबहादुर रावतको निर्देशनमा नगरपालिका कार्यालयका १७ कोठामा ३० वटा एसी जडान गरेपछि सामाजिक सञ्जालमा यतिबेला चर्को आलोचना र टिप्पणी भइरहेको छ । आम नागरिकले कोरोना संक्रमणको बेला नगरपालिकाको यस्तो कार्यलाई गलत भनिरहेका छन् ।

कोहलपुरमा ‘भुसको आगोझैं’ कोरोना फैलिरहेको छ । कोरोना संक्रमणले आमनागरिक ग्रसित छन् । विरामीलाई घरबाट अस्पताल लैजान सक्ने अवस्था छैन । मेयर लुटबहादुर मस्त निन्द्रामा छन् । कोहलपुर नगरपालिकाभित्रका स्वास्थ्य संस्थासँग एम्बुलेन्स छैन । नगरपालिकाले तीन तीन महिनामा लाखौं मुल्यका गाडी खरिद गर्दै आएको छ । सञ्चारमाध्यममा र सामाजिक सञ्जालमा कोभिडका विरामीहरुले एम्बुलेन्स नपाएको गुनासो बढिरहेको छ ।

नागरिकले एम्बुलेन्सको माग गर्दा नगरपालिका र मेयर लुटबहादुर रावतलाई कुनै वास्ता हुँदैन । तर, लाज पचाउँदै कोहलपुर उद्योग वाणिज्य संघले संक्रमित विरामीका लागि निःशुल्क उपलब्ध गराएको एम्वुलेन्स उद्घाटनमा पुग्छन्, मेयर लुटबहादुर रावत । एउटा एम्बुलेन्ससम्म खरिद गर्न चासो नदेखाउने मेयरले गैरसरकारी संस्थाको एम्बुलेन्स सञ्चालन कार्यक्रमको उद्घाटनमा गएर लाज पचाएर कोहलपुरबासीकै बद्नाम गरिरहेको नागरिकहरु बताउँछन् ।

कोहलपुर उद्योग वाणिज्य संघले कोहलपुरमा कोभिड संक्रमितलाई विरामी सहयोग हुने गरेर निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । कार्यकाल सकिन थोरै महिना रहँदा अब कसरी कमाउने भन्ने सोचमा मात्रै मेयर रावत र उनका आसेपासे तथा केही कार्यपालिका सदस्यदेखि कर्मचारी रहेको देखिन्छ । कमिसन धेरै आउने काममा कमाउधन्दाकै लागि केही जनप्रतिनिधि र कर्मचारीको ध्यान जाने गरेको कोहलपुरबासीहरु बताउँछन् ।

थप समाचारहरु पनि पढ्नुहोस् :

कोहलपुर नगरपालिकामा काण्डैकाण्ड, ‘१७ कोठामा, ३० वटा एसी’

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिका, ‘अनियमितता लुकाउन भ्रामक विज्ञप्ती’

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिकाभित्रका तीन पात्र, ‘छवि, दिल र अग्नी’

भ्रष्टाचारको दलदलमा कोहलपुर, जनप्रतिनिधिको ‘कालो झोलामा’ नगरपालिका

बदनाम कोहलपुर नगरपालिका : ‘जनप्रतिनिधि र कर्मचारीको कमाउधन्दा चलाउने अड्डा’

कोहलपुरमा वडाध्यक्षदेखि मेयरसम्मको ब्रम्हलुट, अर्थहीन योजनामा बजेट खर्च

कोहलपुरमा चरम आर्थिक घोटाला, किन लुकाइयो छानविन समितिका प्रतिवेदन ?

कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग

कोहलपुरमा बेतिथि : प्रसुति गृहको रकममै लुटतन्त्र

कोहलपुरमा मेयर लुटबहादुरको ब्रह्मलुट, ‘जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग’

कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’

स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन, मेयर लुटबहादुरलाई विलासी कार

कोहलपुर उद्योग वाणिज्य संघले र कोहलपुर नगरपालिकाको समन्वयमा एम्बुलेन्स सञ्चालन हुने भनिए पनि कोहलपुर नगरपालिकाले क्रेटा गाडी खरिद नगरी एम्बुलेन्स खरिद गर्नुपर्ने नागरिक बताउँछन् । मेयर रावतको लुटतन्त्रमा क्रेटा गाडीको व्यापक आलोचना भैरहेको छ । तर, एम्बुलेन्स खरिदतर्फ मेयर र उनका आसेपासेको अझै ध्यान जान नसकेको नेपाली काँग्रेस कोहलपुर नगर समितिका सचिव भूमबहादुर भण्डारी बताउँछन् ।

केही जनप्रतिनिधि र कर्मचारीकै कारण अनेक काण्ड र झमेलामा विवादित बन्दै आएको कोहलपुर नगरपालिका यसरी पटक पटक विवादित बन्दै आएको छ । कोरोनाको चरम संकट व्यहोरिरहेका बेला नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरु नागरिकको भन्दा आफ्नो सुविधा र कमाउधन्दाका लागि अनेक हर्कत गर्दै आएको पनि सचिव भण्डारी बताउँछन् । उनी भन्छन्, ‘जनता मरे पनि जनप्रतिनिधि र कर्मचारीलाई कुनै वास्ता छैन, कमाउन पाए पुग्छ ।’

उपचार नपाएर नगरवासीले अकालमै ज्यान गुमाइरहेको अवस्थामा नगरपालिका जनप्रतिनिधि र कर्मचारीको विलासीतामा लिप्त भएको भन्दै नागरिकस्तरबाट आलोचना सुरु भएको छ । समुदायस्तरमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि ठोस रणनीति तय गर्न नसकेको नगरपालिकाले केहीदिन पहिले निशुल्क स्वाव संकलन गर्ने बताए पनि सञ्चालन गरेको दुई दिनमै स्थगित भएको स्वाव संकलन कार्य हालसम्म पनि सुचारु हुन सकेको छैन ।

नगरपालिकाले सञ्चालन गर्दै आएको एकमात्र कोभिड अस्पतालमा पनि अक्सिजनको अभाव भएपछि विभिन्न नीजि क्षेत्रले अनुदानमा त्यसको पूर्ति गर्दै आएका छन् । कोहलपुर नगर क्षेत्रका अधिकांश घरमा कोरोना संक्रमण फैलिएको छ । नगरवासीको सुविधाको लागि एम्बुलेन्स खरिद गर्न नसकेको नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले विभिन्न समयमा गर्ने अब्यवहारीक गतिविधिले कोहलपुरवासी आजित भइसकेको बताउँछन् ।

नगरवासीका लागि अत्यावश्यक सुविधा उपलब्ध गराउन असक्षम रहेको नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको सुविधाका लागि हरेक वर्ष लाखौं रकम खर्च गर्दै आइरहेको छ । जसले गर्दा जनप्रतिनिधि र कर्मचारीप्रति नगरवासीको वितृष्णा बढ्दै गएको छ भने मेयरको निर्देशनमा केही कार्यपालिकाका केही सदस्य र प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका प्रमूख लगायतका केही कर्मचारीहरु कोरोना नियन्त्रणभन्दा कमाउधन्दामा मस्त छन् ।

विकास निर्माणसँगै, कोहलपुर चौराहदेखि भ्युटावर हुँदै गाडी खरिद प्रकरण, एसीकाण्ड, हाइमास्टका लागि विद्युत चोरी, लगायतका दर्जनौं काण्डमा ब्रह्मालुटमा मच्चाइरहेको कोहलपुर नगरपालिका यतिबेला सबैतिर बदनाम भइरहेको छ । यस्ता विषयमा प्रतिक्रिया दिन मेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतका जनप्रतिनिधि र कर्मचारी सम्पर्कमा आउनसमेत चाहँदैनन् । स्मरणहोस्, कोहलपुर नगरपालिकामा सूचना अधिकारी अहिले पनि छैनन् ।