सूचनाको शक्ति - The Power Of Information

        

नगरभरी फैलियो दुर्गन्ध

नगरभरी जताततै फोहोरै फोहोर, कोहलपुर नगरपालिका बेखबर

कमजोर फोहोर व्यवस्थापनका कारण कोहलपुर दिन प्रतिदिन कूरुप र दुर्गन्धित हुँदै आएको छ । कोहलपुर नगरपालिका र फोहोर संकलनका लागि जिम्मा पाएको जटायु रिसाइकलर्सका आआफ्नै अडानका कारण एक सातादेखि फोहोर उठ्न नसक्दा कोहलपुर कूरुप र दुर्गन्धित हुँदै आएको हो ।

जटायुले बेलाबेला विभिन्न माग राख्दै आएको छ । फोहोर संकलनमा भएको सम्झौता त्रुटिपूर्ण र अपूर्ण भएकाले ति सबै माग सम्बोधन गर्न नसकिएको नगरको अडान छ । जसको प्रभावले सडकभरि यत्रतत्र फोहोर थुप्रिएको छ । एक सुन्दर सहरका रुपमा परिचित कोहलपुरको परिचय नै फेरिने गरी फोहोर थुप्रिरहेको छ ।

केही साता अघिमात्र नगरपालिकाले सहमतिअनुसार भुक्तानी नदिएको भन्दै जटायुले फोहोर संकलन गर्न रोकेको थियो । रकम दिने मौखिक सहमति भएपछि पुनः जटायुले फोहोर उठाएको थियो । अहिले पुनः फोहोर बिसर्जनका लागि नगरले जग्गा नदिएको भन्दै जटायुले फोहोर संकलन गर्न छोडेको छ ।

सम्झौतापत्रमा फोहोर व्यवस्थापनका लागि नगरले जटायुलाई जग्गा उपलब्ध गराउने भन्ने उल्लेख छैन । तर, सम्झौतामै नभएको कुरा झिकेर जटायुले फोहोर उठाउन छाडेको नगरको भनाइ छ । पटकपटक नगर र जटायुबीचको द्वन्द्वको मार नागरिकले खेप्नुपरेको छ ।

यसको विकल्प नगर र स्वयम् जटायुले नै निकाल्न सकेका छैनन् । विभिन्न बहानामा फोहोर संकलन रोक्नु पनि जटायुको गैरजिम्मेवारीपन भएको सर्वसाधारणहरु बताउँछन् । यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थानमा स्थानीयले अवरोध गरेपछि बजारबाट फोहोर उठाउन नसकिएको जटायुले जनाएको छ ।

अहिले कोहलपुरको मुख्य बजार क्षेत्रमै फोहोरको डंगुर थुप्रिएपछि नगर नै दुर्गन्धित बन्दै जान थालेको छ । २०७७ असार २६ गते नगरको फोहोर व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाले जटायु रिसाइकलर्ससँग सम्झौता गरेको थियो । जटायुले फोहोर फाल्दै आएको कोहलपुर–९ स्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा फागुन १५ गते स्थानीयले तालाबन्दी गरेका थिए ।

उनीहरुले फोहोरको दुर्गन्ध गाउँसम्म आएको र गाउँमा धेरै हरिया माखा लागेकाले फोहोरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी गरेको बताइएको छ । अहिलेसम्म पनि नगरपालिकाले फोहोर फाल्न अर्को स्थानको व्यवस्था नगरेकोले बजार क्षेत्रबाट फोहोर उठाउने काम बन्द गरिएको जटायु रिसाइकलर्सले जनाएको छ । फोहोर व्यवस्थापनमा नगरपालिका बेखबर बनेको नगरबासीहरु बताउँछन् ।

बसपार्क, पीपलचौतारा, साझा चोक लगायतका स्थानमा फोहोरको थुप्रो दैनिकरुपमा बढिरहेको छ । उत्पादित फोहोरलाई सडक किनारामा ल्याएर फाल्ने गरेका छन् । सडकमै फोहोरको डंगुर थुप्रिँदा नगर कूरुप मात्रै नभएर पैदलयात्री र व्यवसायी मारमा परेका छन् । साझा चोकमा भेटिएका हरि खड्काले सडकमै थुप्रो लागेको फोहोरबाट फैलिएको दुर्गन्धले हिँड्न र केहीबेर सार्वजनिक सवारी कुर्नसमेत समस्या भएको बताए ।

‘सडकमा थुपारिएको फोहोरलाई छाडा पशु चौपायाले सडकभरि छरेका छन्,’ उनले भने, ‘जताततै फोहोरको त कुरै छोडौं । एकछिन गाडी कुर्नसमेत नसकिने गरी गन्ध आउँछ ।’ तत्काल कोहलपुर बजारमा जताततै थुपारिएको फोहोर कोहलपुर नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन् । तीन प्रदेशको प्रवेशद्वारको रुपमा समेत रहेको कोहलपुरमा फोहोरले कूरुप र सौन्दर्यलाई बिगारेपछि स्थानीयसमेत आक्रोशित छन् ।

उनीहरुले सामाजिक सञ्जालमार्फत कोहलपुर नगरपालिकाको अर्को आलोचना गरेका छन् । फेसबुकमा पर्शुराम लामिछानेले फोहोरको फोटो राख्दै लेखेका छन्, ‘भित्रको फोहोर बाटोमा थुपारेर राख्ने व्यापारी र घरबेटी एक हप्तासम्म फोहोर उठाउन नआउने नगरपालिकाले गर्दा हिजो गर्वका साथ भनिने हाम्रो कोहलपुर, सुन्दर कोहलपुर यो दृश्यले कोहलपुरलाई गिज्याइरहेको छ ।’

कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले आफूलाई बजारमा फोहोर जम्मा गर्ने रहर नभएको बताए । ‘बजारमा फोहोर राख्ने इच्छा कसलाई पो हुन्छ र । काम गर्दै जाँदा समस्या आयो,’ उनले भने, ‘पहिले फाल्दै आएको स्थानमा अहिले अवरोध आएका कारणले फोहोर नउठेको हो । समस्या समाधानको लागि कुरा भइरहेको छ ।’ सामुदायिक वन क्षेत्रबाहेक अन्य स्थानमा फोहोर व्यवस्थापनको लागि ठाउँ नभएको नगर प्रमुख रावतले बताए ।

‘नगरले जग्गा दिन मानेन’

फोहोर व्यवस्थापनका लागि जग्गा नहुँदा समस्या भएको जटायु रिसाइकलर्स प्रालिका पूर्व सञ्चालक समिति अध्यक्ष सतिस केसीले बताए । बजार क्षेत्रबाट संकलन भएको फोहोर बिसर्जनका लागि नगरपालिकाले स्थान उपलब्ध गराए फोहोर उठाउन आफूहरु तयार रहेको उनी बताउँछन् ।

‘कोहलपुर नगरपालिकाले फोहोर फाल्ने स्थान नदिँदा समस्या आएको हो,’ उनले भने, ‘बजारबाट उठाएको फोहोर हामीले कहाँ फाल्ने ? जग्गा कहिले दिन्छ भनेर नगरपालिकालाई सोध्नुहोस् ?’ यसभन्दा अगाडि फोहोर बिसर्जन गर्दै आएको ठाउँमा स्थानीयले तालाबन्दी गरिदिएको भन्दै नगरपालिकाले फोहोर बिसर्जनका लागि स्थान नदिएसम्म बजारको फोहोर उठाउन सम्भव नहुने केसीले बताए ।

‘गाउँ क्षेत्रबाट फोहोर उठाउन चाहिँ रोकेका छैनौं, हाम्रै जग्गामा ल्याएर गाडेका हौं,’ उनले भने, ‘बजार क्षेत्रको फोहोर धेरै उठ्ने भएकोले जग्गामा गाड्न सम्भव छैन । त्यस कारण बजारको फोहोर नउठेको हो ।’ नगरपालिकाभित्रकै धेरै स्थानमा फोहोर व्यवस्थापन गर्न मिल्ने जग्गा भएकोले त्यसतर्फ समेत कोहलपुर नगरपालिकाले पहल गर्नुपर्ने उनले बताए ।

‘जनतालाई फोहोरमा बसाल्न मिल्दैन’

विभिन्न बहानामा कर लिएर जनतालाई फोहोरको डंगुरमा राख्न नपाइने कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल बताउँछन् । ‘विभिन्न बहानामा कोहलपुर नगरपालिकाले व्यवसायीबाट कर लिन्छ,’ उनले भने, ‘कर लिएर कोहलपुरवासीलाई फोहोरको डंगुरमा राख्न मिल्दैन । तत्काल नगरपालिकाको यसतर्फ ध्यान जानुपर्छ ।’

फोहोर व्यवस्थापनमा नगरपालिका र ठेक्का पाएको जटायुको अनुभव र व्यवस्थापकीय कमजोरी देखिएको उनी बताउँछन् । ‘उहाँहरुको आफ्नो लडाइँमा हामीले दुःख पाएका छौं,’ अध्यक्ष पौडेलले भने, ‘जनता, व्यवसायीले दुःख पाए । घर अगाडि फोहोर थुप्रियो । कोहलपुरलाई कूरुप र बदनामी बनाउने काम भयो ।’ कोहलपुरलाई कूरुप बनाउने छुट नगरपालिकाको कुर्सीमा बस्नेलाई र ठेक्का लिने ठेकेदारलाई नभएको उनले बताए ।

सम्बन्धीत समाचारहरु :

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १७:४४