सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा बेथिति श्रृङ्खला

कमजोर संरचना बनाउँदै नगरपालिका, प्रयोगमा नआउँदै भत्कियो भवन

एक वर्षमै भवन जीर्ण बन्दै गएपछि योजनाको गुणस्तरमाथि प्रश्न उठेको छ ।

बाँके । बेथिति नै बेथितिले भरिएको कोहलपुर नगरपालिकाले बनाएका संरचनासमेत कमजोर देखिएका छन् । भवन प्रयोगमा नआउँदै भत्किन थालेपछि कोहलपुरभित्र बनेका अन्य संरचनामा समेत प्रश्न उठ्न थालेका छन् । कोहलपुर नगरपालिकाले चौराहको उत्तरतिर रहेको प्रतिक्षालयलाई पुनःनिर्माण गरी भवन बनाइएको थियो ।

इलाका प्रहरी कार्यालयको प्रहरी बिट राख्नका आर्थिक वर्ष २०७६/०७७ मा निर्माण गरेको भवन प्रयोगमा नआउँदै भत्किन थालेपछि नगरपालिकाले बनाएका अन्य भौतिक संरचनाको प्राविधिक पक्षमाथि गम्भीर प्रश्न उब्जिएका छन् भने कमसल र गुणस्तरहिन सामग्रीको पूर्वाधारहरु निर्माण गरिएको आशंका गरिएको छ ।

नगरपालिकाले प्रहरी बिट राख्नका लागि बनाएको उक्त भवनमा शौचालय नभएपछि प्रहरीले प्रयोग गर्न नगरेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए । उनले प्रश्न गर्दै भने, ‘प्रहरी राख्न खोजेका हौं । त्यहाँ शौचालय नहुँदा हामीले कसरी प्रयोग गर्नु ?’

‘निर्माण व्यवसायी कम्पनीलाई बनाउने जिम्मा दिएका थियौं, तर कस्तो बनायो हामीलाई थाहा भएन । ‘प्राविधिक टोलीले हेर्ने कुरा हो । हामीले प्रहरीलाई हस्तान्तरण गरिसकेका हौं,’ कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावतले अनभिज्ञता प्रकट गर्दै भने । भवनको निर्माण कार्य सकिएर निर्माण कम्पनीलाई भुक्तानीसमेत दिई सकिएको छ ।

एक वर्षमै भवन जीर्ण बन्दै गएपछि योजनाको गुणस्तरमाथि प्रश्न उठेको छ । भवन निर्माण मापदण्ड अनुसार नबनेको र त्रिपक्षीय (ठेकेदार, जनप्रतिनिधि र कर्मचारी) कमिसनका कारण भवनमा प्रयोग गरिएका निर्माण सामग्री गुणस्तरहिन रहेको कोहलपुरका स्थानीय नागरिकहरुले आशंका व्यक्त गरेका छन् ।

कोहलपुरका एक स्थानीय भन्छन्, ‘गुणस्तरहिन संरचना किन बनाइयो ? यसको जिम्मेवार जनप्रतिनिधि र कर्मचारी बन्नुपर्छ कि पर्दैन ? निर्माण गर्दा गुणस्तर जाँच गर्नुपर्छ कि पर्दैन ? कामको दिगोपनाका बारेमा जनप्रतिनिधि र हाकिम र प्राविधिक कर्मचारी सचेत हुनुपर्छ कि पर्दैन ? कमिसनको लोभले संरचना गुणस्तरहिन बनाउनेलाई कारबाही गर्नुपर्छ ।’

गुणस्तरहिन काम भएकोले भवनको प्लास्टर चर्किँदै गएको छ भने कतिपय ठाउँमा प्लास्टर उप्किँदै गएको देख्न सकिन्छ । पाँच लाख रुपैयाँ खर्चिएर निर्माण गरेको भवन एक बर्षमै भत्किएपछि जनप्रतिनिधि र कर्मचारीहरु कमिसनको प्रलोभनमा परेकाले निर्माण कम्पनीले गुणस्तरहिन सामग्री प्रयोग गरेर भवन बनाएको स्थानीयको आरोप छ ।

सम्बन्धीत समाचारहरु :

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १४:०५