२०८३ मंसिर ८ , मंगलबार 24, November 2026, Tuesday

बाँकेका किसानका लागि वरदान सिक्टा सिँचाइ

सिक्टा सिँचाइ आयोजनाको पानीले गर्दा किसानले सबै मौसममा खेती गर्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका–२, अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले मर्मत सम्भारको समयावधिबाहेक किसानको माग अनुसार बाहै्र महिना नहरमा नियमित पानी छाड्न सुरु गरेको छ ।

जसले गर्दा किसानलाई मौसमी र बेमौसमी खेतीबाली लगाउन सहज भएको छ । किसानको माग अनुसार सिंचाइको अभाव हुन नदिन नहरमा बाहै्र महिना नियमित पानी छोड्दै आएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहले जानकारी दिए । उनले नहर पुगेका क्षेत्रमा किसानलाई हरेक मौसममा खेती गर्न सहज बन्दै गएको बताए ।

सूचना अधिकारी साहका अनुसार राप्तीसोनारी गाउँपालिका–२, अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सो आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएकोमा हालसम्म २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष रूपमा नियमित सिँचाइ सुविधा पुर्‍याएको छ ।

आयोजनाका अनुसार विगतमा आकासे पानीको भरमा धान खेती गर्दै आएका राप्तीसोनारी र बैजनाथ, कोहलपुर नगरपालिकाका अधिकांश किसानको खेतबारीमा सिँचाइको नियमित सुविधा पुगेपछि अहिले समयमै सबै प्रकारका खेती गर्न पाएका छन् । समयमा वर्षा नभए पनि सिक्टा सिँचाइको नहर पुगेका क्षेत्रमा किसानले समयमै खेती गर्न पाएको राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले बताए ।

उनले राप्तीसोनारी–६ र ७ फत्तेपुर क्षेत्रका किसानले समयमै सबै प्रकारका खेती गर्न सकेको उल्लेख गर्दै सिक्टा सिँचाइ आयोजना किसानका लागि बरदान साबित भएको बताए । सिँचाइको नियमित सुविधा पुगेको २४ हजार हेक्टर जमिनमा किसानले समयमै धान, गहुँलगायतका खेती गर्न पाएका छन् । बाँकेमा सिक्टाको सिँचाइ सुविधा नपुगेका क्षेत्रमा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : २०८३ मंसिर ८ गते मंगलबार