२०८३ मंसिर ८ , मंगलबार 24, November 2026, Tuesday

भिडियो बनाउने क्रममा नेपालगन्जका दुई युवा भेरी नदीमा बेपत्ता

मोबाइलमा भिडियो बनाउने क्रममा भेरी नदीमा पसेका नेपालगन्जका दुई युवा नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपालगन्ज उपमहानगरपालिका–७ का १८ वर्षीय हर्सित तमोली जयसवाल र आमिर अलि शाह रहेका छन् ।

उनीहरू घुम्नका लागि सुर्खेत पुगेका बेला भेरी नदीको पुल नजिक भिडियो बनाउने क्रममा नदीमा पसेपछि बगेको आफन्तले बताएका छन् । हर्सितका पिता बुधेश जयसवालका अनुसार सुर्खेत घुमेर नेपालगन्ज फर्किने क्रममा मङ्गलबार बिहान उनीहरू भेरी नदीको पुल नजिक पुगेका थिए ।

मोबाइल स्ट्यान्डमा राखेर भिडियो खिच्ने क्रममा दुवै जना नदीमा पसेको र नदीको तीव्र बहावले बगाएको उनले बताए । मोबाइल स्ट्यान्डमा रहेको भिडियोमा दुवै जना नदीमा बगेको दृश्य देखिएको तथा उनीहरूले प्रयोग गरेको मोटरसाइकल र लुगा नदी किनारमा भेटिएको जयसवालले जानकारी दिए ।

बेपत्ता युवाका आफन्तले खोजी कार्य प्रभावकारी नभएको भन्दै तत्काल गोताखोर टोली परिचालन गर्न माग गरेका छन् । जयसवालले स्थानीय प्रहरी र प्रशासनसँग खोजीका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे ।

त्यस्तै, आमिरका आफन्त सराफत शाहले प्रहरीले घटनास्थलको मुचुल्का तयार पारे पनि त्यसपछि प्रभावकारी खोजी कार्य नभएको बताउँदै तत्काल खोजी गर्न आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले गोताखोर परिचालनका लागि निर्णय हुनुपर्ने र निर्णयपछि मात्रै टोली परिचालन गर्न सकिने जवाफ दिएको बेपत्ता युवाका आफन्तको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले घटना भएको पुष्टि गर्दै खोजीका लागि पीडित परिवारबाट निवेदन प्राप्त भएको बताए । गोताखोर टोली परिचालन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ मंसिर ८ गते मंगलबार