राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा.मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन् ।
आगामी मंसिर १० गतेका लागि उनीहरूको विवाहको मिति तय भएको छ । हाल विराटनगर–३, दूधफारमस्थित ढकालको घरमा कार्ड छपाइ लगायत विवाहको अन्य तयारी तीव्र पारिएको छ । आजै ढकालले ग्रह पूजा गरेका छन् ।
विवाहको मिति तय भएको र तयारी सुरु भइसकेको विषयमा परिवार निकट स्रोत तथा आफन्तले पुष्टि गरेका छन् । यद्यपि, विवाहका विषयमा आफन्त र सम्बन्धित पक्षले मिडियामा भने औपचारिक रूपमा बोल्न चाहेनन् ।
विवाह समारोह झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरबाट हुने तय भएको बताइएको छ । मुकुल र निशाबीचको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चाको विषय बन्दै आएको थियो ।
डाँगी रास्वपाकी सह–महामन्त्री हुन् भने उनी २०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । गएको फागुन २१ को निर्वाचनमा डाँगीले झापा–१ बाट प्रत्यक्ष सांसदमा निर्वाचित भएकी हुन् । डाँडी र ढकालबीच रास्वपा स्थापना हुनु अगाडिदेखि नै प्रेम सम्बन्ध रहेको चर्चा थियो ।
