२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

बाँके-दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु

बाँके र दाङको सीमावर्ती क्षेत्र जोड्ने ५८ किलोमिटर हुलाकी सडकको निर्माण प्रक्रिया सुरु भएसँगै वर्षौंदेखि सडक सञ्जालको सहज पहुँचबाट वञ्चित सो क्षेत्रका बासिन्दामा आशा पलाएको हो । लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको सो सडक तथा सडकमा पर्ने पुल निर्माणका लागि पाँच अर्ब ६० करोड रुपैयाँ बराबरको ठेक्का प्रक्रिया अगाडि बढेको छ ।

हुलाकी सडक आयोजना कार्यालय नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार बाँके–दाङ खण्डलाई दुई भागमा विभाजन गरी सडक निर्माणको जिम्मा छुट्टाछुट्टै निर्माण कम्पनीलाई दिइएको छ । जसअनुसार बाँकेको राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरदेखि दाङको सीमावर्ती क्षेत्र हाटबाससम्मको ३६ किलोमिटर सडक निर्माणको जिम्मा कन्काइ खड्का जेभीले पाएको छ ।

उक्त कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) र पिएससहित दुई अर्ब दुई करोड रुपियाँमा ठेक्का पाएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । त्यस्तै, हाटबासदेखि दाङको राजपुर गाउँपालिकास्थित गंगदीसम्मको २२ किलोमिटर सडक निर्माणका लागि हिम सगरमाथा पशुपति जेभी एक अर्ब ५१ करोड रुपैयाँमा छनोट भएको छ ।

सडकसँगै यस खण्डमा निर्माण हुने १६ वटा पुलको ठेक्का सम्झौतासमेत भइसकेको आयोजना प्रमुख भण्डारीले बताए । उनका अनुसार बाँके–दाङ खण्डका १२ वटा पुल निर्माणका लागि नारायणम निर्माण सेवाले एक अर्ब तीन करोड रुपियाँमा ठेक्का पाएको छ । बाँकी चारवटा पुल निर्माणको जिम्मा भैरव कन्स्ट्रक्सन कम्पनीले ४६ करोड ३५ लाख रुपैयाँमा पाएको छ ।

कार्यालयका अनुसार पुल निर्माणको जिम्मा पाएका कम्पनीहरूले सम्झौता गरी प्रारम्भिक कामसमेत सुरु गरिसकेका छन् । अहिले निर्माणस्थलमा सर्भे तथा माटो परीक्षणको काम भइरहेको आयोजना प्रमुख भण्डारीले बताए । हुलाकी सडक निर्देशनालयको गुरुयोजना अनुसार सडकलाई अस्फाल्ट प्रविधिमा दुई लेनको गुणस्तरीय सडकका रूपमा निर्माण गरिनेछ । सडकसँगै आवश्यक स्थानमा नाला, कल्भर्ट र पर्खाल लगायत संरचनासमेत निर्माण हुनेछन् ।

हुलाकी सडक आयोजना कार्यालयका प्रमुख भण्डारीका अनुसार आगामी तीन वर्षभित्र बर्दियाको सतिघाट पुलदेखि दाङको कालाकाँटेसम्म हुलाकी सडकको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसक्दा बाँकेको कुसुम र दाङको राप्तीपारिका बासिन्दाले दशकौंदेखि यातायातको समस्या भोग्दै आएका छन् । भरपर्दो सडक र पक्की पुलको अभावमा स्थानीयवासी राप्ती नदी वारपार गर्न डुङ्गा तथा झोलुङ्गे पुलमा निर्भर हुनुपर्ने बाध्यतामा छन् । महेन्द्र राजमार्गसम्म पुग्न घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था अझै कायम छ ।

प्रकाशित मिति : २०८३ मंसिर २ गते बुधबार