निवर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको मागअनुसार तत्काल अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो ।
यद्यपि, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिइएको छ । आदेशको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन । सबै विपक्षीको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइका लागि पेसी तोक्नेछ ।
कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बैठकले अतिरिक्त महानिरीक्षक (एआइजी) डा.मनोज केसीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको थियो ।
