बजारमा रैथाने आलु (थारू आलु)को माग बढ्न थालेपछि दाङका किसान पनि यसको खेती विस्तारमा जुटेका छन् । उपभोक्ताले विकासे आलुभन्दा रैथाने थारू आलु बढी रुचाउन थालेपछि यसको खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । थारू समुदायले पुस्तौँदेखि परम्परागत रूपमा खेती गर्दै आएको थारू आलु आफ्नै स्वाद र मौलिक विशेषताका कारण बजारमा परिचित हुन थालेको छ ।
उपभोक्ताको माग बढ्दै गए पनि माग अनुसार उत्पादन हुन नसकेको कृषि क्षेत्रका अधिकारी बताउँछन् । यही सम्भावनालाई ध्यानमा राखेर प्रदेश सरकारले पनि थारू आलुको संरक्षण, प्रवर्द्धन र उत्पादन विस्तारलाई प्राथमिकता दिएको छ । लुम्बिनी प्रदेश सरकारले गत वर्षदेखि रैथाने आलु (थारू आलु) को खेती प्रवर्द्धनका लागि किसानलाई सहयोग गर्दै आएको छ ।
प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दाङ, बाँके र बर्दियामा स्थानीय सरकारमार्फत खेती विस्तार, प्रवर्द्धन र प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिरहेको छ । मन्त्रालयका प्रवक्ता एवं योजना तथा अनुगमन महाशाखाका कृषि अर्थ निर्देशक हरिप्रसाद पण्डितले थारू आलुको प्रवर्द्धनका लागि वार्षिक कार्यक्रम अन्तर्गत तीन जिल्लामा प्रतिजिल्ला पाँच लाख रुपियाँका दरले सहयोग गर्दै आएको बताए ।
स्थानीय सरकारमार्फत रैथाने आलुको खेती विस्तार र प्रचारप्रसारका लागि सहयोग गर्दै आएको उनले जानकारी दिए । गत वर्ष धेरै किसानले रैथाने आलुको खेती गरेपछि यस वर्ष उपभोक्ताबाट पनि यसको माग बढेको जानकारी प्राप्त भएको उनले बताए । उनले भने, ‘विकासे आलुभन्दा रैथाने आलुको माग बढेको रिपोर्ट जिल्लाबाट आएको छ । थप किसानले पनि यसको खेती गर्न चाहना देखाएका छन् ।’
खेती विस्तार गर्न चाहने किसानलाई आवश्यक सहयोगसँगै प्राविधिक सहयोगसमेत गर्ने तयारी रहेको उनले बताए । कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले पनि जिल्लामा थारू आलुको माग बढ्दै गएको बताए । उपभोक्ताले रैथाने आलु बढी माग गरे पनि माग अनुसार किसानले खेती विस्तार गर्न नसकेको उनको भनाइ छ । उनले भने, ‘उपभोक्ताले रैथाने आलु बढी माग गरिरहेका छन् तर किसानले माग अनुसार खेती विस्तार गर्न सकेका छैनन् ।’
उनका अनुसार रैथाने आलुको खेती गर्न चाहने किसानलाई केन्द्रले प्राविधिक सहयोगदेखि बिउ उपलब्ध गराउनसमेत सहजीकरण गर्दै आएको छ । अन्य जिल्लाको तुलनामा दाङमा रैथाने आलुको खेती गर्ने किसान बढी भए पनि खेती गरिएको क्षेत्रफल र उत्पादनको यकिन तथ्याङ्क भने नरहेको केन्द्रका प्रमुख उनले बताए । अहिले आलु रोप्ने उपयुक्त समय भएकाले रैथाने आलुको खेती गर्न इच्छुक किसानलाई केन्द्रले आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ ।
अन्य आलुको तुलनामा थारू आलु स्वादिलो हुने भएकाले उपभोक्ताले बढी रुचाउने गरेको भण्डारीले बताए । विशेषगरी थारू समुदायले परम्परागत रूपमा खेती गर्दै आएको यो आलु पछिल्लो समय घरायसी उपभोगमा मात्र सीमित नरही बजारमा समेत माग हुन थालेको उनको भनाइ छ । घोराही उपमहानगरपालिका–१७, गुलरियाका किसान स्यानी चौधरीले पनि यस वर्ष थारू आलुको खेती विस्तार गरेका छन् । गत वर्ष एउटा सानो गरामा मात्रै आलु रोपेका उहाँले यस वर्ष त्यसको क्षेत्रफल दोब्बर बनाएका छन् ।

