भाइटीका तिहारको अन्तिम दिन, बहिनी र भाइबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व हो । यो दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुख, समृद्धि र रक्षाको कामना गर्दै टीका लगाउँछन् । पर्वको तयारी बिहानैदेखि सुरु हुन्छ । घर सफा गरी मखमली र सयपत्री फूलको माला, भाइ मसला, सात रङको टीका र विशेष परिकार तयार पारिन्छ । किंवदन्ती अनुसार जब यमुनाको भाइ नराम्रोसँग बिरामी परे, मृत्युका देवता यम उनको आत्मा लिन आए ।
यमुनाले मृत्यु देवतालाई आफ्नो भाइको अन्तिम पूजा समाप्त नभएसम्म पर्खन बिन्ती गरिन् । त्यसपछि उनले एक लामो, विस्तृत समारोह सुरु गरिन्, जसमा यमदेव पनि सामेल हुँँदै हेरे । त्यसपछि यमुनाले यमदेवलाई आफ्नो भाइको निधारमा लगाइएको टीका नहटेसम्म, उसलाई टाउकोमा लगाईदिएको तेल नसुकेसम्म र घाँटीमा लगाएको मखमली फूलको माला नओइलिएसम्म आफ्नो भाइलाई यमलोक नलान भनिन् । यमुनाले आफ्नो भाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइन् र त्यस दिनदेखि दिदीबहिनीले आफ्ना दाजुभाइको जीवन सुरक्षित र समृद्ध बनोस् भन्ने उद्देश्यले टीका लगाउने प्रचलन सुरु भएको मानिन्छ ।
दाजुभाइलाई घरमा स्वागत गरेर उनीहरूलाई आरामदायी स्थानमा बसाइन्छ । त्यसपछि दिदीबहिनीले दाजु भाइको शिरमा टीका लगाउने क्रममा विशेष मन्त्रोच्चारण गर्छन् र उनीहरूको स्वास्थ्य, लामो आयु र जीवनमा समृद्धिको कामना गर्छन् । टीका लगाइसकेपछि बहिनीहरूले मिठाई, फलफूल, माला र उपहार दिई भाइलाई सम्मान गर्छन् ।
यसरी दाजुभाइ–दिदीबहिनीको माया, सद्भाव र आपसी सम्बन्धको महत्त्व झल्किन्छ । दाजुभाइले पनि दिदीबहिनीलाई आशीर्वाद र उपहार दिएर त्यो प्रेमको आदानप्रदान पूरा गर्छन् । यो पर्व केवल टीका लगाउने मात्र नभई परिवारभित्रको स्नेह, सामाजिक संस्कार र भाइ–बहिनीबीचको गहिरो सम्बन्धलाई जीवन्त बनाउने अवसर हो । यो दिन नजिकका परिवार, आफन्त र छिमेकीबीचको सम्बन्ध पनि मजबुत बनाउँछ, किनभने टीका लगाउने बेला सबैले परिवारको एकता र प्रेमको अनुभव गर्छन् ।

