२०८३ कात्तिक २५ , बुधबार 11, November 2026, Wednesday

भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुला

काठमाडौँको ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर । हरेक वर्ष तिहारको भाइटीकाका दिन यो मन्दिर खुलाइने चलन छ । तस्वीर : विमलबहादुर विष्ट । रासस

दिदीबहिनी र दाजुभाइ नहुनेहरूका लागि भाइटीकाको दिन काठमाडौंको रानीपोखरीमा अवस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । वर्षमा एक पटक भाइटीकाको दिन मात्र खुल्ने यस मन्दिरमा दाजुभाइ वा दिदीबहिनी नहुने व्यक्तिहरूले पूजा तथा दर्शन गर्ने गर्दछन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार मन्दिर खुला गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ ।

त्यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले पूजा र दर्शन गरी टीका लगाउने परम्परा रहेको छ । संस्कृतिविद् तथा गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा मानिसहरू हामफालेर मन्दिर प्रवेश गर्ने समस्याका कारण मन्दिर बन्द गरिन्थ्यो । त्यसबेला भक्तजनहरू खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुने गर्दथे ।

विसं २०३५ पछि बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो । विसं २०७२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि विसं २०७७ सम्म भक्तजनहरू खञ्जनेश्वर महादेव मन्दिरमा जाने गरेका थिए । पुनर्निर्माणपश्चात् विसं २०७७ देखि बालगोपालेश्वर मन्दिर पुन: खुला गरिएको छ । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउने गर्दछन् । भक्तपुरका नेवार समुदायले तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णय अनुसार हिजो नै किजापूजा सम्पन्न गरिसकेका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक २५ गते बुधबार