आज तिहारको अन्तिम दिन भाइटीका । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बदली रहनेछ ।
मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा अन्य हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमान अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका साथै मधेश र कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना देखिएको छ ।
आज राति भने देशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्नेछ ।
तराईका भू–भाग, काठमाडौँ उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

